काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले निश्कासन गरेको एफपीओको पहिलो दिन उत्साहजनक रहेन । यो बैंकले निश्कासन गरेको एफपीओमा निकै राम्रो आवेदन पर्ने अनुमान गरिए पनि पहिलो दिन ९२ करोडको हाराहारीमा मात्र प्रस्ताव परेको हो । 

देशभरका विभिन्न संकलन केन्द्र तथा आस्वा प्रणालीबाट समेत गरी ९ हजार १ सय आवेदकले ९२ करोडको हाराहारीमा मात्र आवेदन दिएका हुुन् । 

अन्तर्राष्ट्रिय ब्राण्डको यो बैंकले एकसय रुपैयाँ अंकित मूल्यमा ११ सय ९० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता १२ सय ९० रुपैयाँमा एफपीओ निश्कासन गरेको हो । कुल २५ लाख ५८ हजार १ सय ४० कित्ताका लागि ३ अर्ब ३० करोडको आवेदन मागिएकोमा पहिलो दिन एक अर्बसम्मको आवेदन पनि नपरेको हो । यसले धेरै लगानीकर्ता यो बैंकको एफपीओ भर्न खासै इच्छुक छैनन् भन्ने देखाउँछ । यो बैंकको एफपीओमा लगानी गर्नु जोखिमपूर्ण रहेको कुरा बुुझेका लगानीकर्ताहरु मौन बस्दा एफपीओले यति खराब प्रदर्शन गरेको हो । 

बिक्री प्रबन्धक एनएमबी क्यापिटलका एक अधिकारीका अनुसार आस्वामा सहभागी १९ वटा संस्था र परम्परागत शैलीबाट परेका आवेदनहरुका आधारमा ९२ करोड रुपैयाँ बराबरको प्रस्ताव परेको देखिएको हो । 

केही समयअघि बाँडफाँड सम्पन्न भएको नेपाल लाइफ इन्स्योरेन्समा परेको प्रस्ताव भन्दा स्ट्याण्डर्डको प्रदर्शन कमजोर देखिएको छ । नेपाल लाइफको एफपीओमा पहिलो दिन नै परम्परागत शैलीबाट मात्रै २१ हजारले ३ अर्ब ४० करोड बढीको आवेदन दिएका थिए । उसले प्रतिकित्ता १४ सय २५ प्रिमियम मूल्य तोकेर ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओ निश्कासन गरेको थियो । कुल ४ अर्ब ४१ करोडको आवेदन मागिएको थियो । 

यो समाचार पढ्न नछुटाउनुहोला :