काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठनमा एमबीबीएसको प्रवेश परीक्षाको नतिजामा त्रुटि भएको भन्दै विवाद भएपछि छानबिन समिति गठन गरेको छ ।

प्रतिष्ठानले मंसिर १५ मा शैक्षिक सत्र २०७३/७४ को एमबीबीएस प्रवेश परीक्षाको प्रकाशित गरेको नतिजामा त्रुटि भएर विवाद सिर्जना भएपछि स्वास्थ्य मन्त्री गगन थापाले छानबिन समिति गठन गर्न लगाएका आजको कान्तिपुर दैनिकमा खबर छ ।

मन्त्रालयअन्तर्गतको चिकित्सा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठको संयोजकत्वमा शुक्रबार तीन सदस्यीय समिति गठन गरिएको छ । समितिलाई पाँच दिनभित्र छानबिन गरी मन्त्रालयमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।