काठमाण्डौ । एमालेको तराईकेन्द्रित १५ दिने राष्ट्रिय जागरण अभियान शनिबारदेखि सुरु हुँदै छ। 

‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान
राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान’ भन्ने मूल नाराका साथ झापाको काकडभिट्टाबाट सुरु हुने अभियानको उद्घाटन अध्यक्ष केपी ओलीले गर्दै छन्। 

दैनिक हाजिरी, मदिरा निषेध
एमालेले अभियानमा सहभागी हुने नेता–कार्यकर्ताका लागि १८ बुँदे तथा स्वयंसेवकका लागि नौबुँदे आचारसंहिता जारी गरेको छ। 

उनीहरूले दैनिक हाजिरीपुस्तिकामा हाजिर गर्नुपर्ने, सामूहिक मेस र आवासमा रहनुपर्ने, मदिरा र धूम्रपान सेवन गर्न नपाइनेलगायतका आचारसंहिता पालना गर्नुपर्नेछ। तराईवासीलाई अपाच्य हुने, बिझाउने या अनुचित लाग्ने कुनै कामकुरा गर्न निषेध गरिएको आचारसंहितामा छ। प्रवचन, सांस्कृतिक प्रस्तुतिलगायत कुनै वेला पनि कसैको भावनामा ठेस पुग्ने बोलीवचन, आचरण निषेध छ। यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।