काठमाण्डौ । एमालेले ‘एक घर : एक रोजगार’ नारासहित स्थानीय तह निर्वाचनको  घोषणापत्रको प्रारम्भिक मस्यौदा तयार पारेको छ । तीन वर्षभित्र एक घर : एक रोजगार तथा पाँच वर्षभित्र १८ वर्ष पुगेका सबै युवालाई रोजगारी सुनिश्चित गर्ने आधारसहितको समाजवादकेन्द्रित घोषणापत्र बनाइएको कार्यबाहक अध्यक्ष वामदेव गौतमले बताए ।

एमालेले नेपालको प्रतिव्यक्ति आयलाई पाँच वर्षभित्रै पाँच हजार डलर पुर्याएर दक्षिण एसियालाई उछिन्ने महत्वाकांक्षी योजना घोषणापत्रमा समेटेको छ । केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि एक साताभित्र घोषणापत्र सार्वजनिक भइसक्ने महासचिव ईश्वर पोखरेलले बताए । सोमबार आयोजित सुझाब संकलन कार्यक्रममा कार्यबाहक अध्यक्ष गौतमले १५ वर्षभित्र चीन र भारतलाई विकासमा उछिन्ने आधारसहितको घोषणापत्र ल्याउने तयारी गरिरहेको दाबी गर्दै त्यसका लागि एमालेको बहुमतको सरकार अनिवार्य भएको बताए । १० वर्षमा एसियाली मापदण्डको विकास, कक्षा १२ सम्मको शिक्षा निःशुल्कलगायतका विषय एमालेले घोषणापत्रमा समेटेको छ ।

गौतम नेतृत्वको १५ सदस्यीय समितिले स्थानीय तहका अधिकार कार्यान्वयनका आधार, सामाजिक सुरक्षाको सुनिश्चिताका खेलकुद, मनोरञ्जनलगायतका कुरा र जनताको समृद्धिका लागि अर्थतन्त्रको विकासलगायतका विषय समेटिएको मस्यौदाको गृहकार्य गरिरहेको छ ।

धमाधम उम्मेदवार सिफारिस
एमालेले स्थानीय तहका लागि नगर, उपमहानगर र महानगरका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षलगायतका उम्मेदवारको छनोट प्रक्रिया अघि बढाएको छ । गत ३० चैतबाट सुरु भएको छनोट प्रक्रियाअन्तर्गत अहिलेसम्म धेरैजसो गाउँपालिकाका वडा अध्यक्षहरूका उम्मेदवार जिल्ला कमिटीमार्फत टुंगो लाग्ने क्रममा रहेको उसले जनाएको छ । ‘१२ गतेभित्र सबै तहका उम्मेदवार छनोट भइसक्नेछन्,’ महासचिव पोखरेलले भने, ‘सर्वसम्मत चयन भएका उम्मेदवारहरूको नाम पनि माथिल्ला कमिटीबाट अनुमोदन हुने क्रममा छ ।’ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको प्रदेशबाट तथा नगर, उपमहानगर र महानगरका उम्मेदवारहरू स्थायी समितिबाट टुंगो लगाउने एमालेको तयारी छ ।

प्रचारको छुट्टै तयारी
एमाले केन्द्रीय प्रचार विभागले चुनावकेन्द्रित वेबसाइट सञ्चालन गरिसकेको छ । यस्तै, पार्टीको छुट्टै फेसबुक पेजमार्फत निर्वाचन मूल गतिविधिको प्रत्यक्ष प्रसारण र प्रचार गरिरहेको छ । निर्वाचन अनुगमन समितिले प्रदेश, जिल्ला र स्थानीय तहमा ७ गतेभित्र छुट्टै प्रचार समिति बनाएर पार्टीका एजेन्डा र उम्मेदवारका पक्षमा प्रचार अभियान तीव्र बनाउन निर्देशन दिएको छ । मोर्चा संगठन प्रमुख गोकर्ण विष्टले २० गतेभित्र अपिल र प्रचार सामग्री लिएर सम्बन्धित मतदान केन्द्रमा खटिन सबै जनवर्गीय संगठनलाई सोमबार निर्देशन दिएका छन् ।

बुथ सुरक्षाका लागि ‘वन बुथ : हन्ड्रेड युथ’
एमाले भ्रातृसंगठन युवा संघ नेपालले मतदान केन्द्रको सुरक्षाका लागि ‘वन बुथ : हन्ड्रेड युथ’को नारासहित युवा परिचालन गर्नेगरी तयारी अघि बढाएको छ । महासचिव पोखरेलले पार्टी नीतिअनुसार जिल्ला कमिटीहरूले बुथ सुरक्षाका लागि युवा परिचालन अघि बढाइरहेको जानकारी दिए ।

निर्वाचन आयोग र सुरक्षा समन्वयका लागि छुट्टै समिति
निर्वाचन आयोग र सुरक्षा निकायसँग समन्वय गर्न तथा प्रदेशहरूमा निर्वाचन तयारीको अनुगमन गर्न एमाले महासचिव नेतृत्वको १५ सदस्यीय केन्द्रीय अनुगमन तथा संयोजन समितिले काम गरिरहेको छ । समितिले निर्वाचन तयारीका सन्दर्भमा गर्नुपर्ने कामका बारेमा हाते पुस्तिका प्रकाशित गरी जिल्ला–जिल्लामा पठाएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।