काठमाण्डौ । राष्ट्रबैंकले तोके अनुसारको चुक्तापूँजी ८ अर्ब पुर्याउने लामो समयसम्म अलमलिएको नेपाल एसबीआई बैंकले एफपीओ, बोनस सेयर र हकप्रदबाटै लक्ष्य हासिल गर्ने रणनीति सार्वजनिक गरेको छ । 

यो बैंकले केही समयअघि एफपीओ निश्कासन गरेको थियो भने केही साताअघि सेयरधनीलाई २८ प्रतिशत बोनस वितरणको घोषणा गरेको थियो । त्यसलगत्तै चुक्तापूँजी बढाउने उद्देश्यले उसले ४० प्रतिशत हकप्रद अफर समेत दिने तयारी थालेको छ । हाल यो बैंकको प्रति सेयर मूल्य १४२१ रुपैयाँ रहेको छ । 

बैंकले आफ्नो हकप्रद निश्कासन तथा व्यवस्थापनका लागि एनएमबी क्यापिटल लिमीटेडलाई बिक्री प्रबन्धक तोकेको छ । एनएमबी क्यापिटलले जारी गरेको एक प्रेस विज्ञप्ति अनुसार बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुुकल भाटनगर र एनएमबी क्यापिटलका सीइओ श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् । 

नेपाल राष्ट्रबैंकले तोके अनुसार ८ अर्ब चुक्तापूँजी पुर्याउने उद्देश्यले नेपाल एसबीआई बैंकले १ अर्ब ९९ करोड १९ लाख रुपैयाँ बराबरको हकप्रद सेयरधनीका लागि निश्कासन गर्दैछ । यो बैंकले कुल चुक्तापूँजी ४० प्रतिशत हकप्रद दिन लागेको हो । बैंकले  हालै एफपीओ पनि जारी गरेको थियो । आर्थिक वर्ष २०७२ ७३ बाट सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर समेत वितरण गर्ने घोषणा गरिसकेको बैंकले एफपीओ र बोनस सेयरपछि कायम हुन आउने चुक्तापूँजीको ४० प्रतिशतको दरले हकप्रद निश्कासन गरी चुक्तापूँजी ७ अर्ब पुर्याउन लागेको हो । हाल यो बैंकको चुक्तापूँजी ३ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । 

यो बैंकको २३ औं वार्षिक साधारणसभा आगामी माघ २७ गते हुँदैछ । सोही सभामा घोषित बोनस सेयर र ४० प्रतिशत हकप्रदको प्रस्ताव समेत पारित हुँदैछ ।