काठमाण्डौ । विश्वको बैकिङ इतिहासमै ठूलो मर्जर मानिएको भारतीय स्टेट बैंक(एसबीआई) र त्यसका ५ एसोसिएसट् बैंकबीच आगामी अप्रिल १ भित्र मर्ज हुने भएको छ । 

भारत सरकारले एसबीआईसँग अन्य ५ एसोसिएसट्स बैंकको मर्जर मिति तोकिदिएको इकोनोमिक टाइम्सले जनाएको छ । 

मिति नै तोकिएपछि मर्जरको प्रक्रियाले समेत गति लिएको बताइएको छ । यो मर्जरपछि एसबीआई विश्वकै ५० ठूला बैंकको सूचिमा सामेल हुने रिपोर्टमा बताइएको छ । केही दिनअघि बसेको भारतीय क्याबिनेट बैठकले एसबीआईलाई अन्य ५ बैंकलाई मर्जर गर्न दिने निर्णय गरेको थियो । एसबीआईकै एक एसोसिएट्स बैंक महिला बैंकको बिषयमा भने सरकारले कुनै निर्णय लिएको छैन । 

स्टेट बैंक अफ बिकानेर एण्ड जयपुर, स्टेट बैंक अफ त्रावणकोर, स्टेट बैंक अफ मैसुुर, स्टेट बैंक अफ पटियाला र स्टेट बैंक अफ हैदरावाद एसबीआईमा बिलय हुन लागेका हुन् । 

भारतीय बित्त मन्त्री अरुण जेट्लीले मर्जरपछि एसबीआई बैंकको भूमिका विश्वव्यापी हुुने र विश्वकै बैकिंग क्षेत्रमा यसको प्रभाव बिस्तार हुने बताएका छन् । उनका अनुसार मर्जरपछि यो बैंक संचालन खर्च कम हुने छ भने कोषको खर्चमा पनि बचत हुने छ । 

पाँच बैंक मर्जरपछि एसबीआई विश्वस्तरीय बैंक बन्नेछ । यसको साइज ५ सय ५५ अर्ब डलरको हुनेछ । साथै, यसको २२ हजार ५ सय शाखा सञ्जाल, ५८ हजार एटीएम काउण्टर र ५० करोड भन्दा बढी ग्राहक संख्या हुनेछ ।