काठमाण्डौ । नेपाल एसबीआई बैंकले जारी गर्ने भनिएको अतिरिक्त निश्कासन(एफपीओ)को मूल्य परिमार्जन गरेको छ । 

नेपाल एसबीआई बैंकले सेयर स्वामित्व संरचना राष्टबैंकको नीति अनुसार मिलान गर्न ६७ हजार ७ सय ६७ कित्ता अतिरिक्त निश्कासनका लागि यसअघि प्रस्ताव गरेको प्रतिकित्ता मूल्य प्रिमियम समेत जोडेर ९८४ रहेकोमा परिमार्जन गरी ९७१ रुपैयाँ बनाएको हो । 

नेपाल स्टक एक्सचेञ्जमा शुक्रबार प्रकाशित एक सूचनाका अनुसार नेपाल एसबीआई बैंकको ४०१ औं बोर्ड बैठकले एफपीओ मूल्य परिमार्जनको निर्णय गरेको हो । नेपाल धितोपत्र बोर्डले दिएको निर्देशन अनुसार बोर्ड बैठकले एफपीओ मूल्य घटाएको हो । 

एसबीआई बैंकका एक अधिकारी अनुसार प्रस्तावित एफपीओको बिषयमा धितोपत्र बोर्डले अध्ययन गरिरहेको र उसले कति समयमा स्वीकृति दिन्छ, त्यही अनुसार निश्कासन हुनेछ । बैंकले आगामी वार्षिक साधारणसभाअघि नै एफपीओ निश्कासन गर्ने बिषयमा समेत लविंग गरिरहेको बुझिएको छ । बोर्डबाट स्वीकृति आएको २ हप्ताभित्रमा एफपीओ जारी गर्ने बैंकको तयारी छ । 

नेपाल राष्ट्रबैंकले सर्वसाधारणको सेयर स्वामित्व न्यूनतम ३० प्रतिशत हुनुपर्ने स्पष्ट व्यवस्था गरेकोले सोही अनुसारको सेयर संरचना कायम गर्न बैंकले एफपीओ जारी गर्न लागेको हो । हाल यो बैंकको सेयर स्वामित्व संरचना ७०.१२ : २९.८८ प्रतिशत रहेको छ । एफपीओ जारीपछि सेयर संरचना संस्थापक ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत कायम हुनेछ । 

यो बैंकले यसअघि नै आफ्ना सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरिसकेको छ । यो बैंकको हाल चुक्तापूँजी ३ अर्ब ८८ करोड रुपैयाँ छ । बोनस सेयर वितरणपछि चुक्तापुँजी ४ अर्ब ९६ करोड पुुग्नेछ । बैंकले १० बराबर ४ को हिसाबले(४० प्रतिशत) हकप्रद समेत निश्कासन गर्ने निर्णय गरेको छ । यो बैंकले बोनस सेयर वितरण र एफपीओ निश्कासनपछि कायम हुन आउने चुक्तापूँजीको ४० प्रतिशत हकप्रद निश्कासन गर्ने बताइएको छ ।