नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीको संगम बिहार इलाकामा रहेको एसबीआई बैंकको एटीएममा पैसा निकाल्न गएका एक स्थानीय युवा त्यसबेला चकित भए, जतिबेला एटीएमबाट नक्कली नोट आयो । 

उनी ८ हजार रुपैयाँ रकम निकाल्न एसबीआईको एटीएममा गएका थिए । एटीएमबाट चारवटा नोट निस्किए, तर यी रिजर्ब बैंक अफ इण्डियाबाट जारी भएका २ हजार दरका नोट थिएनन् । यी नोटहरुमा चिल्डेन बैंक अफ इण्डिया लेखिएको थियो । त्यसपछि ती युवाले नजिकको प्रहरी चौकीमा यो बिषयमा उजुरी गरेपछि मात्र एसबीआई बैंकको एटीएमबाट नक्कली नोट निस्किएको काण्ड बाहिर आएको हो । 

गत ६ फेब्रुुअरीमा दक्षिणी दिल्लीको एक प्राइभेट कम्पनीमा कार्यकारी निर्देशकको रुपमा काम गर्ने रोहित कुमारले पैसा निकाल्दा नक्कली नोट भेटिएको इकोनोमिक टाइम्सले समाचार लेखेको छ । उनी यो दिन आफ्नै दैनिक खर्चका लागि पैसा निकाल्न एसबीआईको एटीएममा पुुगेका थिए।

यो बिषयमा जाँच गरिरहेका एक प्रहरी अधिकारीका अनुसार एसबीआईको सो एटीएममा गएर जब चेकजाँच गरियो, तब त्यहाँ अन्य २ हजार दरका नक्कली नोट भेटिए । त्यसपछि उजुरी दर्ता गरी छानबिन थालिएको ती प्रहरी अधिकारीले बताएका छन् । प्रारम्भिक छानबिनको क्रममा एसबीआई बैंककै कतिपय कर्मचारी नक्कली नोटको धन्दामा लागेका हुनसक्ने संभावना देखिएको छ ।