काठमाडौं । यतिबेला कर्पोरेट जगतमा एनसेल सेयर खरिद बिक्री प्रकरणले निकै चर्चा पाएको छ । विशेषगरी सेयर बिक्री गरेबापत तिर्नुपर्ने पूँजीगत लाभकरको विषयमा विगत केही महिनादेखि चर्को बहस भइरहेको छ । अन्ततः नेपाल सरकारले पूँजीगत लाभकर लिने प्रक्रिया अघि बढाएको छ । तर पूँजीगत लाभकर तिर्नुपर्ने दायित्व भएको एनसेलको माउ कम्पनी टेलियासोनेरा स्वीडेनले भने सेयर बिक्री बापत तिर्नुपर्ने रकम नबुझाई नेपालबाट भाग्ने तयारी सुरु गरेको छ । 

अन्तर्राष्ट्रिय सिद्धान्त र प्रचलन अनुसार पूँजीगत लाभकर तिर्नुपर्ने दायित्व सेयर बिक्री गर्ने कम्पनीको हुने गर्छ । सेयर बिक्री गरेवापत पूँजीगत लाभ हुने भएकाले सो कम्पनीले लाभ बापतको कर राज्यलाई बुझाउनुपर्ने यसको सिद्धान्त हो । एनसेल सेयर बिक्री सम्बन्धमा यसको सेयर बिक्री गर्ने कम्पनी स्वीडेनको टेलियासोनेरा हो । स्वीडेनमा दर्ता रहेको टेलियासोनेराले एनसेलको ८० प्रतिशत सेयर मलेशियामा रहेको एक्जियाट ग्रुपले खरिद गर्ने प्रक्रिया अघि बढिसकेको छ । 

सेयर खरिद–बिक्रीको कारोवारमा स्वभाविक रुपमा लाभ वा हानी हुने सम्भावना रहन्छ । एनसेलको प्रस्तावित सेयर खरिद–बिक्रीमा बिक्री मूल्य र बिक्री गरिने सेयरको लागत हिसाब गर्दा बिक्रेतालाई उल्लेखनीय लाभ हुने देखिन्छ । त्यसैले टेलियासोनेरा पूँजीगत लाभकर तिनुपर्ने दायीत्वबाट उम्कन पाउँदैन । तर बिक्री प्रक्रिया अघि बढेको यतिका दिनसम्म पूँजीगत लाभकर तिर्ने सम्बन्धमा भइरहेको ढिलाईले टेलियासोनेरा करै नतिरी फरार हुने आशंका जन्माइदिएको छ । 

गत डिसेम्बरमा टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत सेयर मलेसियन कम्पनी एक्जियाटलाई १ सय ४० अर्ब रुपैयामा बिक्री गर्ने सम्झौता गरेको थियो । सो बिक्रीबापत टेलियासोनेराले नेपाल सरकारलाई करिब ३२ अर्ब रुपैयाँ राजश्व बुझाउनुपर्ने हुन्छ । तर सो दायित्व पूरा गर्न आनाकानी गरेकाले टेलियासोनेरा कर नतिरी फरार हुने संभावना बढेको सम्बद्ध अधिकारीहरुले दाबी गरेका छन् । उनीहरुले भनेका छन्–‘नेपाल सरकारले टेलियासोनेरालाई तत्काल कर तिर्नलाई तागेता नगरे यो कम्पनी दायीत्वबाट पन्छिएर भाग्नक्छ, सरकारी अधिकारीहरु गम्भीर हुनुपर्ने देखिन्छ ।’