काठमाण्डौ । आइतबार डरलाग्दो गरी घटेको बजार सोमबार कारोबारको अन्तिम समयमा आएर नाटकीय बाउन्स ब्याक भएको छ । विगत केही दिनदेखि इण्डेक्समा अत्यासलाग्दो गिरावट भइरहे पनि बजारलाई कारोबार(टर्नओभर)को दरिलो साथ थियो । यही कारणले समेत बजार सोमबार बाउन्स ब्याक भएर लगानीकर्तामा उत्साहको सञ्चार भर्दै बन्द भएको हो । 

सोमबार बजार परिसूचक(नेप्से परिसूचक) २६.४८ अंकले बढेर १२७८.९८ को उचाईमा फर्किएको छ । 

सोमबार चारवटा कम्पनीले पैसा छापे । तीमध्ये तीन कम्पनी बिमासँग सम्बन्धित छन् । 

यो दिन बजारलाई उदेकलाग्दो गरी घटाउन मुख्य भूमिका खेलेका बिमा र वाणिज्य बैंक समूहको परिसूचक आशलाग्दो गरी बढेको छ । यी दुुई बाहेक अन्य ३ समूहको सूचकको उत्साह समेत फर्किएको छ । हिजो मूल्यमा भीषण पहिरोको सामना गरेका बिमा कम्पनीहरु नै सोमबार कमाउने कम्पनीको सूचिमा अगाडि छन् । हिजोको अत्यासलाग्दो गिरावटका कारण प्रताडित लगानीकर्तालाई सोमबार भने बिमा कम्पनीले आशाको मल्हम लगाइदिएका देखिएको छ ।  

बिमा समूहको सूचक १९२.८९ अंकले बढेको छ भने वाणिज्य बैंकमा ३०.२३ अंकको बढोत्तरी देखिएको छ । जलविद्युतमा ३३.५९, विकास बैंकमा ३.७९ र अन्य समूहमा १५.२३ अंकले वृद्धि भएको छ । 

होटल समूह १४.४३ अंकले घटेको छ भने बित्त र उत्पादनमूलक क्रमशः  ४.४५ र २.७९ अंकले घटेको छ । 

''क'' वर्गका कम्पनीको कारोबारमा चमात्कारिक सुधार भएका कारण सेन्सेटिभ इण्डेक्स ५.९७ अंकको बढोत्तरी भएको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स १.९२ अंकले बढेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
सोमबार बजारमा १३८ कम्पनीको १३ लाख १ हजार २९ कित्ता सेयर ५० करोड १५ लाखमा किनबेच भयो । कारोबार रकमको बजारलाई भरपर्दो साथ रहेका कारण समेत भविष्यमा बजार स्थिर हुने वा सामान्य बढ्नसक्ने विश्लेषक बताउँछन् ।

सोमबार सबैभन्दा बढी कारोबार एनबी बैंकले गर्यो । यो बैंकको ३ करोड ४६ लाख बढीको सेयर किनबेच भयो । यस्तै, बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडले २ करोड ६२ लाख, सानिमा बैंकले २ करोड १८ लाखको कारोबार गरे भने अरुण फाइनान्सको २ करोड बढीको संस्थापक सेयर किनबेच भयो । प्रभूू बैंकले २ करोडको कारोबार गर्यो भने नेपाल लाइफले १ करोड ८६ लाख बढीको कारोबार गर्यो । सोमबार नबील बैंकको १ करोड ४१ लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो । 

यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ७ स्थानमा वाणिज्य बैंक, २ स्थानमा बिमा कम्पनी र बाँकी एक स्थानमा फाइनान्स कम्पनीको बर्चश्व रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
सोमबार चारवटा कम्पनीले पैसा छापे । तीमध्ये तीन कम्पनी बिमासँग सम्बन्धित छन् । आइतबार उच्च अंकमा घटेर लगानीकर्तालाई बर्बाद बनाएका कम्पनीले नै सोमबार भने नाटकीय रुपमा धेरै कमाएका छन् । 

सोमबार स्वालम्बन विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढ्यो । यस्तै, सिद्धार्थ इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स र प्रूडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । लुम्बिनी जनरल इन्स्योरेन्सले समेत ९ प्रतिशतको हाराहारीमा सम्पत्ति कमायो । यो दिन १९ बिमा कम्पनीको सेयर मूल्य बढ्यो । 

धेरै गुमाउनेमा सगरमाथा इन्स्योरेन्स टप स्थानमा रह्यो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो । यस्तै, नेरुडे लघुवित्त विकास बैंक, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा घट्यो ।