अमेरिकी राष्ट्रपति बाराक ओबामा संसारका शक्तिशाली नेता हुन् । उनी चर्चित पनि छन् । त्यसैले होला उनको नाम सापटी लिएर विभिन्न प्रजातिको नामकरण गरिएको छ । हालै वैज्ञानिकहरूले चेप्टेकिरा (फ्ल्याटवर्म) को नाम राखेका छन्– बराकट्रेमा ओबामाई । 

फ्ल्याटवर्मको यो प्रजाति धागोजस्तो लामो हुन्छ जुन अमुमन मलेसियाको सफा पानीमा रहने कछुवामा पाइन्छ । यो किरा कछुवाको फोक्सोमा पाइन्छ र निकै खतरनाक पनि हुन सक्छ । जुन वैज्ञानिकले यो परजीवी किराको खोजी गरे, उनका अनुसार यसको विशेषता ध्यानमा राखेर ओबामाको नाममाथि राखिएको हो । 

कछुवाका परजीवीमाथि अध्ययन गरिरहेका डा. थोमस प्लेटले भने, ‘राष्ट्रपतिको सम्मानमा मेरो तर्फबाट यो सानो प्रयास हो ।’ त्यसो त ओबामाको नाममा कुनै चिजको नाम राखिएको यो पहिलो अवसर होइन । 

यसअघि कैयौँ चिजको नाम ओबामाको सम्मानमा राखिसकिएको छ । केन्यामा पाइएको एउटा जुम्राको नाम पारागोडियस ओबामाई राखिसकिएको छ । यो किरा जहाँ पाइएको थियो, त्यस ठाउँनजिकै ओबामाका बाबु रहने गर्थे । 

ओबामाले आफ्नो शासनकालमा समुद्री जीवको संरक्षणमा पहल गरेका कारण त्यससम्बन्धी वैज्ञानिकले ओबामाको सम्मानमा केही माछाका प्रजातिको नाम पनि राखेका छन् । अमेरिकाको हवाई टापुमा भेटिएको एकप्रकारको ‘गोल्डफिस’को नाम पनि ओबामाको नाममा छ । २०१२ मा भेट्टाइएको निलो र सुन्तला रंगको यो सानो माछाको नाम इतेस्टोमा ओबामा राखिएको थियो । 

यति मात्र कहाँ हो र ? ओबामाको मुस्कानलाई लिएर एक फुट लामो माउसुलीको एउटा प्रजातिको नाम राखिएको छ– ओबामाडन । ओबामा अमेरिकाका यस्ता राष्ट्रपति हुन् जसको नाममा एउटा पहाडको नाम पनि राखिएको छ । 

यो पहाड एंटिगामा छ । यो क्यारेबियन टापुले सन् २००९ मा आफ्नो सबैभन्दा अग्लो पर्वतको नाम बांगी पिकबाट बदलेर ओबामाको नाममा राखेको थियो। त्यसअघि २००७ मा केही अनुसन्धानकर्ताले एउटा ढुसीको नाम पनि ओबामाको नाममा राखेका थिए । 

पहिलोचोटि राष्ट्रपतीय अभियानका क्रममा ओबामाले वैज्ञानिक अध्ययनप्रति देखाएको रुझानबाट प्रभावित भएर वैज्ञानिकहरूले एउटा ढुसीको नाम कालोपलाका ओबामे राखिदिए । 

त्यसैगरी आयरल्यान्डको डब्लिन र लिमेरिकको बीचमा रहेको आयरिस कन्ट्री साइड सर्भिस स्टेसनको नाम बाराक ओबामा प्लाजा राखिएको छ । त्यति मात्र होइन, पश्चिमी अमेजोनियामा पाइने एउटा चरोको नाम नेस्टालस ओबामाई राखिसकिएको छ । 

केन्यामा दुईवटा स्कुलको नाम पनि ओबामाको नाममा छ– सिनेटर ओबामा कोगेलो प्राइमरी स्कुल र सिनेटर ओबामा कोगेल सेकेन्डरी स्कुल । 

स्पाइडरम्यानका प्रशंसक ओबामाको नाममा एउटा माकुराको नाम अपटोस्टिचुस बराक ओबामाई राखिएको थियो । यो माकुरो क्यालिफोर्नियामा पाइन्छ । 

-Agency