काठमाण्डौ । राष्ट्रपति ओबामाले लाओसमा हुन गइरहेको आसियान शिखर सम्मेलनमा फिलिपिन्सका राष्ट्रपति रोडिगो डूटर्टेसँग भेट गर्न अस्वीकार गरेका छन् । 

शिखर सम्मेलन हुनुपूर्व सोधिएको एक प्रश्नको उत्तर दिने क्रममा डूटर्टेले ओबामालाई निकै भद्धा शब्दको प्रयोग गरी आमाचकारी गाली गरेका थिए ।

ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले लेखेअनुसार अब राष्ट्रपति ओबामाले दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्वेनसँग मात्र भेटघाट गर्नेछन् । 

डुटर्टेले ओबामालाई आमाचकारी गाली गर्दै भनेका थिए कि ओबामाले जब आफूसँग लाओसमा भेट गर्नेछन्, त्यसबेला ओबामाले मानवाधिकारको मुद्धामा लेक्चर नदिउन् । यी दुई नेताबीचको बैठक मंगलबारका लागि तय गरिएको थियो । 

लाओस प्रस्थान गर्नुअघि  पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा डूटर्टेले भनेका छन्–‘तपाईले सम्मान गर्नुपर्ने हुन्छ । केवल प्रश्न सोध्ने र जवाफ दिने शैलीले मात्र काम चल्नेछैन । यदि वैश्यसूत्रले यस्तो गरे भने म उनलाई मुखभरिको जवाफ दिनेछु ।’ 

उनले भनेका छन् कि फिलिपिन्स एक सम्प्रभू राष्ट्र हो र उनको मालिक फिलिपिन्सका जनता हुन्, अरु कोही होइन । 
फिलिपिन्समा पछिल्लो समय सरकार र लागूऔषध तस्करबीचको संघर्ष चरम बनिरहेको छ । 

डूटर्टे लागूऔषधको तस्करीविरुद्धको आफ्नो अभियानका कारण विवादमा छन् । ३० जुनमा आफ्नो कार्यभार सम्हालेपछि त्यहाँ २४ लागूऔषध सेवनकर्ता मारिइसकेका छन् ।

राष्ट्रपति डूटर्टेले सत्तामा आउनुअघि प्रतिज्ञा गरेका थिए कि उनले आफ्नो कार्यकालको पहिलो ६ महिनामा एकलाख ड्रग तस्कर तथा अपराधीलाई सखाप बनाइदिनेछन् । 

जी–२० सम्मेलनको दौरान समेत उनले डग अपराधीविरुद्धको कारबाहीलाई जारी राख्ने प्रतिज्ञा दोहोर्याएका थिए । 

अमेरिकी अधिकारीहरुले फिलिपिन्समा जारी ड्रग तस्करीविरुद्धको क्रूर कारबाहीको अभियानप्रति पटक–पटक चिन्ता व्यक्त गरेपछि डूटर्टे अमेरिकाप्रति आक्रोशित छन् । 

स्मरणरहोस्, दोश्रो विश्वयुद्धअघि फिलिपिन्स अमेरिकाको एक उपनिवेश थियो ।