काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको चट्टानी अडानका कारण पछिल्लो समय नेपाललाई क्रीडास्थल बनाउने भारतीय चाहनामाथि गम्भीर धक्का लाग्दै गएको छ । भारतले पटक–पटक आफ्ना गुप्तचर र दूतहरुलाई नेपाल पठाएर सत्तासीन दलहरुभित्र फूट ल्याउने प्रयास गरे पनि ती सबै प्रयास असफल बन्दै गएका छन् । सत्तासीन मुख्य दलहरुबीच भारतीय अन्याय र विस्तारवादी रणनीतिको डटेर सामना गर्ने गोप्य सहमति बनेपछि(प्रचण्डलाई बाध्यता भयो सहमति गर्न) ओली झनै बलियो देखिएका छन् ।

कसै गरे पनि ओली नेतृत्वको सत्ता गठबन्धनमा दरार ल्याउन नसकिने देखिएपछि र भारतीय दादागिरीकै कारण ओली गठबन्धन दिनहुँ चीनप्रति निकट हुने क्रम बढेर गएपछि यसले भारतीय पक्षलाई हायलकायल बनाइदिएको छ । 

उच्चस्रोतका अनुसार २ महिनाभित्रमा ओली सरकारलाई गिराइछाड्ने म्याण्डेडसहित नेपाल आएका दुई भारतीय गुप्तचर यो बीचमा आफ्नो केही नलाग्ने देखेपछि दिल्ली नै फर्किएर त्यहाँ केही दिन छलफलमा बसी पुनः नेपाल आएका छन् । हाल नेपाल भित्रिएको भारतीय जासूसहरुको टिममा केही पूर्व जासूसहरु समेत छन् । यो टिमको नेपाल पूर्ण रुपमा चीनको कब्जामा परिसकेको बुझाई छ । विगतमा निर्णायक भूमिका खेल्ने पैसाले समेत यो पटक केही गर्न नसकेको र ओली टसको मस नभएका उनीहरुको बुझाई छ । 

स्रोतका अनुसार कुनै बेला नेपालका निम्ति भारतीय गुप्तचर एजेन्सी रअको तर्फबाट स्टेशन म्यानेजर तथा पोलिटिकल चिफ रहिसकेका आलोक जोशी, अर्का गुप्तचर आश्विसनी सक्सेना, हाल रअका उच्च पदस्थ अधिकारी लगायतको टिम काठमाण्डौ–दिल्ली बाक्लै ओहोरदोहोर गरिरहेको छ । यो टिमले पटक–पटक कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फकाउन आग्रह गर्दै आएको छ । देउवाले समेत प्रचण्डलाई प्रधानमन्त्रीको तुरुप फाल्न छाडेका छैनन् । तर न प्रचण्डको दाल गल्न सकेको छ न त ओली नै टसको मस भएका छन् । यहीकारण भारतीय गुप्तचर टोलीले मोदी सरकारलाई नेपालमा हस्तक्षेप गर्ने भन्दा पनि सम्बन्ध सुधारको दिशातर्फ अग्रसर हुनुपर्ने र यो काम गर्नका लागि मधेशवादीहरुलाई काँध हाल्ने काम बन्द हुनुपर्ने निश्कर्ष निकालेको उच्च स्रोतले जानकारी दिएको छ । 

भारतीय गुप्तचरको टोली जुनसुकै मूल्य चुकाएर भए पनि ओलीसँग सम्बन्ध सुधार गर्ने र नेपालमा कमजोर बनेको भारतीय भूमिकालाई पहिलाकै अवस्थामा ल्याउने खेलमा लागेको स्रोत बताउँछ । यो बीचमा गुप्तचर टोलीले सत्तासीन दलका अन्य नेता तथा सांसदहरुलाई समेत भेटेर पैसाको प्रलोभन समेत बाँडिसकेको छ । एमालेकै ओलीविरुद्ध उत्रन सक्ने नेताहरुलाई समेत सामूहिक र व्यक्तिगत रुपमा भेटी करोडौ रुपैयाँ खर्च गर्न समेत तयार रहेको स्पष्ट संकेत दिए पनि अवस्था बिल्कुल पहिलाको जस्तो नभएकोले उनीहरुको प्रयास सफल हुन सकेको छैन । ‘भारतले १ करोड खर्च गर्यो भने चीनले त्यसको बदलामा १ अर्ब खर्च गरिदिनसक्ने अवस्था सिर्जना भएको छ ।’ एक उच्च स्रोतले भन्यो–‘भारतले प्रयोग गरेका सबै रणनीति फेल हुनुको मुख्य कारण चीनको कुशल विदेश रणनीति हो ।’

पार्टीभित्रै देउवा कमजोर
महाविधेशनपछि पार्टी सभापति र संसदीय दलको नेतामा राम्रो मत ल्याएर विजयी भए पनि पछिल्लो समय शेरबहादुर देउवा पार्टीभित्र कमजोर बन्दै गएका छन् । खूमबहादुर खड्कालाई उपसभापति बनाउन नहुने भन्दै उनीसँग आफ्नै टिमका नेताहरुले समेत निहुँ खोजिरहेका छन् । रामचन्द्र पौडेल नेतृत्वको गुटले उनलाई कदम कदममा अप्ठ्यारो पारिरहेको छ । देउवाको कमजोर भूमिकाकै कारण कांग्रेसका केही नेताहरुले तत्काल ओली सरकार ढाल्न नहुने खुलमखुल्ला अभिव्यक्ति समेत दिन थालेका छन् । यसले समेत ओलीलाई फाइदा पुगेको छ । देउवा निरीह हुँदा ओलीको सत्ता संकटमा पार्नसक्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत तह लाग्ने अवस्था सिर्जना भएको छ । उनले देउवाकै सहयोगमा प्रधानमन्त्री पद पुनः पड्काउने योजना बनाए पनि पार्टीमा देउवा कमजोर बन्दै गएपछि यसको असर प्रचण्डलाई परेको छ । यहीकारण समेत उनी ओलीको रोडम्याप अनुसार हिँड्न बाध्य छन् । 

प्रचण्ड पनि कमजोर
पछिल्लो समयमा प्रचण्ड समेत पार्टीभित्र कमजोर बन्दै गएका छन् । उनले ओली सरकार ढाल्ने चाहना व्यक्त गरे पनि उनका पार्टीका कयौ नेताहरुले तत्काल यो सरकार परिवर्तन गर्न नहुने अडान लिइरहेका छन् । उनीहरुले भारत भन्दा आफूहरुलाई चीनसँगको निकटता बढी फाप्ने र सहज हुने भन्दै ओली सरकारप्रतिको समर्थन ब्रेक हुन नहुने भनिरहेका छन् । ओली सरकार ढाल्न नहुने पक्षका नेताहरुको जमात माओवादी केन्द्रमा बढ्दै जाँदा यसले समेत भारतीय गुप्तचरको खेलमा ब्रेक लगाइदिएको छ । आफ्नै पार्टीभित्र ओलीको फ्यानको संख्या बढ्न थालेपछि प्रचण्ड समेत प्रधानमन्त्री हुने चाहनालाई दबाएर ओलीको हो मा हो मिलाउँदै हिँड्न बाध्य छन् । 

ओलीको लोकप्रियताबाट तर्सियो भारत
पछिल्लो समय ओलीको लोकप्रियता ह्वात्तै बढेको छ । जनमुखी बजेट ल्याएको भन्दै उनको सर्वत्र प्रशंसा गर्न थालिएको छ । बजेट कार्यान्वयनको बिषयमा प्रश्न उठे पनि कार्यक्रम साच्चिकै जनहितका ल्याएका भन्दै अरु दलका नेताहरुले समेत ओलीको प्रशंसा गर्न थालेका छन् । ओलीले राष्ट्रियता र स्वाभिमानको सवालमा देखाएको अडानको समेत प्रशंसा हुन थालेको छ । उनले नेपाललाई समृद्ध बनाउन देखेको सपना र पछिल्लो समय अफगानिस्तानको काबुलमा भएको बम विस्फोटको घटनामा ज्यान गुमाएका नेपाली युवाहरुको शव तत्काल नेपाल ल्याउने, शव बुझ्न आफैं एयरपोर्ट पुग्नदेखि लिएर मृतकका परिवारलाई सहयोग गर्नेसम्मका कामले ओलीको चर्चा चुलिएको छ । 

देशभित्रै ओलीको लोकप्रियता बढ्न थालेपछि र सोही अनुसारको बजेट समेत आएपछि तत्काल ओली सरकारलाई ढाल्ने खेलमा न प्रचण्ड लाग्न  सक्ने अवस्था छ न  त देउवा नै । फेरि अर्कोतर्फ ओलीलाई चीनको पूर्ण साथ र समर्थन छ । आन्तरिक र बाह्य रुपमा पनि ओली दरिलो भएका कारण भारतीय गुप्तचर उनीसँग सम्बन्ध सुधार्ने काममा लागेको स्रोतको भनाई छ । 

स्रोतका अनुसार पछिल्लो समय ओलीसँगको सम्बन्ध सुधारकै लागि भारतीय गुप्तचरहरुको टोलीले मधेशवादीहरुलाई धेरै चेप्न नहुने निश्कर्ष निकालेको छ । सो समूहले राज्यको सीमांकन बाहेकका मधेशवादीका अन्य मुद्धामा भारतको समर्थन नरहेको सन्देश समेत बालुवाटारलाई दिइसकेको छ । यो बीचमा ओलीलाई खुशी पारेर सम्बन्ध सुधार्नका लागि उनकै रोजाईका व्यक्तिलाई भारतीय राजदूत बनाउन आफूहरुले एग्रिमो दिने सन्देश समेत पठाइएको छ । यसरी भित्रभित्रै ओलीसँग सम्बन्ध सुधारेर नेपालमा बढ्दै गएको चिनियाँ प्रभावलाई कम पार्ने रणनीति भारतले लिएको देखिन्छ । भारतीयको फकाउने नीतिमा ओली मक्ख पर्ने हुन् वा आफ्नो मिसन नछाडी चट्टानी अडानमै कायम रहने हुन् त्यो चाहि हेर्न केही समय कुर्नै पर्ला ।