काठमाण्डौ । नेपालका सरकार प्रमुखहरुको प्रत्येक पटकको भ्रमणमा भारतले केही न केही फाइदा लिएकै हुन्छ । यो वा त्यो बाहानामा भारतीय पक्षले नेपाली टोलीसँग सम्झौता गराउने र आफ्नो दूनो सोझ्याउने गरेको छ । यही कारण समेत पछिल्लो समय भारतप्रति जनमानसमा नकारात्मक धारणा बन्ने क्रम बढेको छ । त्यसो हो भने बेला बेला चीनको भ्रमणमा समेत निस्किने राष्ट्रप्रमुखहरुसँग त्यहाँको संस्थापनले कुनै स्वार्थ राख्छ कि राख्दैन होला ? पक्कै राख्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो विदेश भ्रमणको रुपमा चीन जाने तयारी भइरहँदा त्यहाँका सरकारी मन्त्री र व्यापारीहरुको दवाबमा नेपाललाई अर्बौ घाटा लाग्ने बिषयमा चिनिया पक्षले नेपाली प्रधानमन्त्रीलाई अनुचित ढंगले दवाब दिएको र प्रधानमन्त्री समेत आफ्नो भ्रमणलाई सफल पार्न चीनको नेपाललाई घाटा लाग्ने बिषयमा सहमति गर्न तयार भएका रहस्य खुलेको छ । 
 

चीनले प्रम ओलीलाई विश्वमै दुर्घटनाको अधिक जोखिम रहेको र नेपालका लागि अनुपयुक्त बिमान जसरी पनि खरीद गर्नुपर्ने भन्दै दवाब दिएको हो । केही चिनिया एजेन्सीहरुमार्फत ती बिमान नेपालले किन्नैपर्ने दवाब दिइएको र ती विमान खरीदको निर्णय नभए ओलीको भ्रमण नै ‘अर्थहीन’ बनाइदिने चेतावनी समेत दिएका बुझिएको छ । चिनियाहरुको यस्तो चेतावनीपछि भ्रमणअघि नै ओलीले केही सामान्य शर्त राखेर चारवटा बिमान खरीद गर्ने निर्णय गोप्य रुपमा मन्त्रीपरिषदबाट गराइसकेका छन् । 
 

चिनिया प्लेन उत्पादक कम्पनी ‘सियान एयरक्राफ्ट कर्पोरेशन’को तर्फबाट चिनियाँ अधिकारीहरुले ‘यो काम हुँदैन भने हेर्नुहोला, हामी यो कुरा दोहो¥याएर भन्ने पक्षमा छैनौँ, त्यसैले राम्रोसँग सुन्नुहोस्, उहाँ (प्रधानमन्त्री ओली) को भ्रमण फगत घुमफिरमा टुङ्गिने छ’ भन्दै दवाब दिएका बुझिएको छ । अधिकारीहरुले यस्तो धम्कीपूर्ण फोन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गरेका थिए । त्यसलगत्तै चीन सरकारको कुटनीतिक तहबाट प्रधानमन्त्रीको चीनको भ्रमण कार्यक्रम मिलाउने प्रक्रियाकै बीच ओली सरकारमाथि दबाब आयो, चीनसँग किन्ने भनिएका ४ वटा प्लेन किन्ने प्रक्रिया भ्रमणभन्दा अघि नै टुङ्ग्याइसक्नु प¥यो । यी ४ प्लेनमध्ये एउटा ५८ सिटे र अन्य ३ वटा २१ सिट क्षमताका छन् । करिब साढे ६ अर्ब खर्च हुने यी प्लेन किन्नका लागि माओवादीले पर्यटन मन्त्री बनाएका रामकुमार श्रेष्ठका पालामा निर्णय गरिएको थियो । यसअघि उपहारमा चीनले दिएका २ वटा प्लेनले वायुसेवा निगमको ‘मासु खाएपछि’ बाँकी ४ विमान नकिन्न निगमले अनेक उपाय लगाएर छल्दै आएको थियो । तर प्रधानमन्त्रीको चीन भ्रमणको तयारीका क्रममा प्लेन किन्ने प्रक्रियालाई क्याबिनेटको बैठकले नै केही शर्त राखेर स्वीकृत गरेको बुझिएको छ । नेपालले स्पेयर पार्टस् र मर्मतको यहीँ सुलभता, पाइलट तालिम एभ्रो वा ट्विनटरको तालिम खर्चसरह हुनुपर्ने, बिमाको जटिलता हटाउनुपर्ने, अँग्रेजी भाषा जानेको प्रशिक्षक पाइलट उपलब्ध गराउनुपर्ने लगायतका शर्त राखेको छ । 
 

स्रोतका अनुसार चिनियाँ जहाज संसारमै सबैभन्दा बढी दुर्घटना पर्ने गरेकोले बिमा कम्पनीहरू पनि यी जहाज र यात्रुको बिमा गर्न अन्कनाउँछन् । चीनसँग ४ वटा जहाज किन्ने सर्तमा नेपालले पोहोरै उपहारमा २ वटा जहाज पाएको थियो, तर ती जहाज निगमका लागि अहिले घाँडो बनेको छ । 
 

उपहारको रुपमा पाएका जहाज नै घाँडो बनिरहेको अवस्थामा ओलीले थप ४ वटा बिमान समेत खरीद गर्ने सम्झौता गर्ने निर्णय गरेपछि बायु सेवा निगम तनावमा परेको छ । नेपाली आकाश अधिक बिमान दुर्घटनाका कारण त्यसै पनि असुरक्षित भई विश्वकै उड्डयन रेकर्डमा कालोसूचिमा छ । यस्तो अवस्थामा फेरि अधिक दुर्घटना हुने र नेपालका लागि अनुपयुक्त जहाज खरीद गरेपछि यसले समस्या थप बल्झाउने अधिकारीहरुको भनाई छ । 
 

केहीले भने आफ्नो भ्रमणलाई सफल बनाउनकै लागि देशलाई दूरगामी प्रभाव पार्ने बिमान खरीदको सम्झौता नगर्न प्रधानमन्त्रीलाई सुझाएका छन् । तर प्रम ओलीले क्याबिनेटबाटै निर्णय गराइसकेपछि नेपालका लागि घाँडो हुने गरी ४ वटा बिमान खरीद सम्झौता हुने पक्का जस्तै भएको छ ।