काठमाण्डौ । औषधिमा चरम कालोबजारी गरेको आरोपमा पक्राउ परी विभिन्न संघ–संगठनको दवाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा रिहा भएकामध्ये पाण्डे समूहकै लगानी रहेको सिमेन्ट उद्योगले पनि कालोबजारी गरी जनता ठगिरहेको पाइएको छ । 
 

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष रही कार्यकाल नसकिँदै पुरानो भ्रष्टाचार मुद्धा ब्यूँतिएर पदच्यूत भएका प्रदीपजंग पाण्डेको लगानी रहेको लोमस फर्मास्यूटिकल्सले आफ्ना औषधिजन्य उत्पादनमा मनलागी मूल्य राखेर सर्वसाधारण ठगेको उजुरीको आधारमा त्यसका संचालक रहेका प्रवलजंग पाण्डे र प्रज्वलजंग पाण्डे पक्राउ परेका थिए । उनीहरु पक्राउ परेको २४ घण्टा नबित्दै शक्तिकेन्द्रको दवाबमा छाडिएको थियो । शक्तिकेन्द्रको दवाबमा छाडिए लगत्तै प्रवलजंग पाण्डेले आफूहरुलाई प्रहरीले फसाउन खोजेको दाबी गर्दै सरकारकै गलत नीतिका कारण व्यवसाय गरेर खाने अवस्था हराउँदै गएको दाबी गरेका थिए । आफूहरुले कालोबजारी नगरेको र सही ढंगले व्यवसाय गरेको दाबी गर्ने उनै पाण्डे कार्यकारी निर्देशक रहेको इस्टर्न कसमस सिमेन्टबाट उत्पादित आइएसओ गुणस्तर चिन्ह प्राप्ते ब्रान्ड नै गुणस्तरहीन रहेको पाइएको हो । 
 

पाण्डेको लगानी रही मोरंगको विराटनगरमा प्लान्ट रहेको इस्टर्न कसमस सिमेन्टले गुणस्तरहीन सिमेन्ट उत्पादन गरी जनतालाई ठगी गरिरहेको पाइएको हो । यो समूहले उत्पादन गरेको सिमेन्टलाई नेपाल गुणस्तर चिन्ह प्राप्त भएको बताइएको थियो । तर शुक्रबार गुणस्तर तथा नापतौल विभागले कमसल सिमेन्ट उत्पादन गरेको फेला परेको भन्दै इस्टर्न कसमस सिमेन्ट उद्योगबाट उत्पादित तेज ब्राण्डको सिमेन्टको बिक्रीवितरणमा रोक लगाएको छ । 

विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै इस्टर्न कसमस सिमेन्ट मोरङबाट उत्पादित तेज ब्रान्ड र चितवनको ओम सिमेन्टबाट उत्पादित प्राइम ब्रान्डको सिमेन्ट विक्री वितरणमा रोक लगाइएको बताएको छ । 
 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार गुणस्तर परीक्षण गर्दा कमसल देखिएकोले बिक्रीवितरणमा रोक लगाइएको हो । तेज ब्रान्डमा फ्लाइएसको मात्रा बढी देखिएको थियो । विभागका अनुसार फ्लाइएसको मात्रा २५ प्रतिशत भन्दा कम हुनुपर्नेमा तेज ब्रान्डमा ३८ प्रतिशत भन्दा बढी देखिएको थियो ।
 

सिमेन्ट बनाउन क्लिंकर, जिप्सन र फ्लाइएसको प्रयोग हुन्छ । फ्लाइएसको मात्रा बढी हुने सिमेन्ट बलियो हुँदैन । ‘सस्तो उत्पादनका लागि फ्लाइएस बढी प्रयोग गरिएको पाइएको छ । हामीले तोकेको भन्दा बढी पाइएपछि तत्कालै बिक्री वितरण रोकेका हौ ।’ पूडासैनीले भने–‘बजारमा पठाइएका सबै सिमेन्ट तत्काल फिर्ता लिन समेत उद्योगलाई निर्देशन दिइसकेका छौं ।’ विभागका अनुसार १५ दिनभित्र इस्टर्न कसमसले चितबुझ्दो जवाफ नदिए नेपाल गुणस्तर चिन्ह समेत खोसिनेछ । 
 

चितवनमा रहेको ओम सिमेन्टले गुणस्तर चिन्ह नलिई प्राइम ब्रान्डको सिमेन्ट बिक्री गरेको विभागले जनाएको छ । यो सिमेन्टमा पनि फ्लाइएसको मात्रा बढी भेटिएको छ ।
 

यसैबीच, विभागले विजुलीको तार गुणस्तरहीन उत्पादन गरेको भन्दै तीन उद्योगको तार बिक्रीमा रोक लगाएको छ । मेगा केवल, लुम्विनी केवल र शिखर केवुलका तार गुणस्तरहीन रहेको भन्दै बिक्री वितरणमा रोक लगाएको हो । मेगा केवलको मेगा ब्रान्डको पिभिसी केवुलको मास अफ कन्डक्टरको मान आवश्यकता अनुसार नरहेको भन्दै बजारमा पुगेका सबै तार फिर्ता लिन निर्देशन दिएको छ । विभागले उत्पादित तार विक्री वितरणमा समेत रोक लगाएको छ । लुम्विनी केवलको लुम्विनी ब्रान्डको ३।०.७१, ३।०.९१, ७।०.७१ र ७।०.९१को पिभिसी केवुलको कन्डक्टरको व्यास र तौल आवश्यकता अनुसार नभएको भन्दै सबै उत्पादन फिर्ता लिएर विक्री वितरण रोक्न विभागले निर्देशन दिएको छ । शिखर केवुलको शिखर ब्रान्डको ३।०.७१को पिभिसी केवुलको कन्डक्टरको व्यास, तौल र रेजिष्टेन्स आवश्यकता अनुसार नभएको भन्दै सबै उत्पादन फिर्ता लिएर बिक्री वितरण रोक्न विभागले आदेश दिएको छ ।