काठमाण्डौ । कच्चा तेल निर्यात गर्ने देशहरुको संगठन ओपेकमा कच्चा तेलको उत्पादन कटौति गर्ने बिषयमा सहमति बनेको छ । यो सहमतिको खबर सार्वजनिक भएसँगै कच्चा तेलको मूल्यमा भारि वृद्धि भएको छ ।

भियनामा भएको बैठकपछि कच्चा तेलको उत्पादन कटौतिको घोषणा गरिएको छ र यो घोषणासँगै कच्चा तेलको मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । 

ओपेकका अध्यक्ष डा. मोहम्मद बिन सालेह अलसदालाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार दैनिक १२ लाख ब्यारेल कच्चा तेलको उत्पादन कटौति गरिनेछ । यो निर्णयको कार्यान्वयन आगामी जनवरीदेखि हुने बताइएको छ । 

यो कटौति ओेपेक सदस्य देशहरुको हालको उत्पादनको ३ प्रतिशतको कटौति हो । यो निर्णय कार्यान्वयन भएपछि कच्चा तेलको उत्पादन दैनिक ३२५ लाख ब्यारेलमा सीमित हुनेछ । 

आठ वर्षपछि तेलको मूल्य बढ्ने आशासहित यो निर्णय भएको हो । पछिल्लो दुुई वर्षमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १ सय डलरसम्म घटेको थियो । तेलको मूल्य घट्दा साउदी अरब लगायतका तेल निर्यातमा निर्भर अर्थव्यवस्था चौपट भएको थियो । 

अलसदाका अनुसार महत्वपूर्ण गैर ओपेक देश समेत यही निर्णयको प्रतिक्षामा थिए र आन्तरिक रुपमा आफ्नो उत्पादनलाई कटौति गर्ने योजना बनाइरहेका थिए । उनले ती देशहरुको नाम चाहि उल्लेख गरेनन् । उनको दाबी अनुसार रुस आफ्नो तेल उत्पादनलाई दैनिक एक करोड ब्यारेलबाट घटाएर तीन लाख बनाउन सहमत भइसकेको छ ।