काठमाण्डौ । परराष्ट्रमन्त्री प्रकाशशरण महतले कञ्चनपुरमा भारतको सीमा सुरक्षा बल(एसएसबी)ले चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएको बिषयलाई नेपाल अस्मितामाथिको ‘गम्भीर प्रहार’ भनेका छन् । 

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री महतले यस्तो टिप्पणी गरेका हुुन् । कञ्चनपुर घटनाको बिषयमा हालसम्म सरकारका कुनै पनि मन्त्रीहरुले यति खरो टिप्पणी गरेका थिएनन् । 

‘कञ्चनपुर घटना देशको अस्मितामाथिको गम्भीर प्रहार हो ।’ राष्ट्रिय अनलाइन पत्रकार संघको पहिलो वार्षिकोत्सव समारोहलाई भृकुुटीमण्डपको कार्यक्रम हलमा सम्बोधन गर्दै मन्त्री महतले भन–‘सरकारले घटनालाई गम्भीर रुपमा लिएको छ, यसले २ देशबीचको सम्बन्ध राम्रो बनाउँदैन।’ 

उनले भारतीय दूताबासले तथ्यलाई बंग्याएर गलत प्रचार गरेको उल्लेख गर्दै शुक्रबार नै कार्यबाहक राजदूत(बिनयकुमार)लाई बोलाएर स्पष्टीकरण लिई डिप्लोम्याटिक नोट समेत दिइएको प्रष्ट्याए । ‘कार्यबाहक राजदूतलाई बोलाएर हामीले स्पष्टीकरण लिएका छौ ।’ उनले भने–‘डिप्लोम्याटिक नोट पनि दिइएको छ ।’ 

उनले घटनाको तथ्य तोडमोड गर्न भारतीय दूताबासका अधिकारी लागेकोतर्फ संकेत गर्दै आफूले शुक्रबार नै भारतीय समकक्षी सुुष्मा स्वराजलाई टेलिफोन गरी घटनाको छानबिन गर्न र दोषी एसएसबी जवानलाई कडा कारबाही गर्न आग्रह गरेको बताए । ‘मैले दूताबासले भनेजस्तो घटना होइन, एसएसबीले चलाएको गोली लागेरै हाम्रो नागरिकको मृृत्यु भएको बिषय उहाँलाई भनेँ ।’ उनले थपे–‘उहाँले घटनाको तत्काल छानबिन थाल्ने र दोषी देखिनेमाथि कडा कारबाही गर्ने वचन दिनुुभएको छ ।’ 

उनले कञ्चनपुरको नेपाल भारत सीमा क्षेत्रमा बनेको कल्भर्ट निर्माणका लागि सरकारले नै सहमति दिएको नयाँ खुलासा समेत गरेका छन् । ‘सोही कल्भर्टको बिषयलाई लिएर बिहीबार झडपको अवस्था सिर्जना भएको थियो । त्यहाँको कल्भर्ट हाम्रो पनि सहमतिमै बनेको थियो ।’ उनले भने–‘त्यही बिषयलाई लिएर अप्रिय घटना हुन पुुगेको हो ।’

सोही कार्यक्रममा नयाँ शक्तिका नेता देवेन्द्र पौडेलले भारतको हेपाहा प्रवृतिविरुद्ध सरकार निरीह प्रमाणित भएको आरोप लगाए । उनले भने–‘नेपालको ठाउँमा चीन थियो भने सो देशका नागरिकलाई भारतका सुरक्षाकर्मीले छुनसम्म सक्दैन थिए ।’

बिहीबार नेपाल भारत सीमाको आनन्द बजारमा कल्भर्ट निर्माणको बिषयमा नेपाली र भारतीय पक्षबीच झडप भएको थियो । सो क्रममा भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले नेपाली भूमिमै प्रवेश गरी गोली चलाउँदा स्थानीय ३० वर्षीय गोविन्द गौतमको मृत्युु भएको थियो ।