काठमाण्डौ । यदि तपाईं आइटी क्षेत्रमा पोख्त हुनुहुन्छ र कमजोरीहरु खोतल्ने राम्रो ज्ञान छ भने घरमै बसी बसी दुई करोड बढी आम्दानी गर्ने अवसर आएको छ । तर यसका लागि तपाई इथिकल ह्याकर(कानूनी ह्याकर) हुन आवश्यक छ । विश्वकै सबैभन्दा प्रतिष्ठित कम्पनी एप्पलले आइफोनको कमजोरी पत्ता लगाउनेलाई यति ठूलो रकम दिने पहिलो पटक घोषणा गरेको हो । 

मिडिया रिपोर्टका अनुसार लन भेगासमा जारी ब्ल्याक हेट ह्याकिङ सम्मेलनमा एप्पलले बिहीबार घोषणा गर्दै भनेको छ कि आइफोनको कमजोरी तथा अवगुण पत्ता लगाउनेलाई २५ लाखदेखि २ करोड १७ लाख रुपैयाँसम्मको एकमुष्ट पुरस्कार दिइनेछ । 

एप्पलका अनुसार ह्याकरले आइफोनको डिजिटल कम्पार्टमेन्टमा दोष वा कमजोरी पत्ता लगाउनुपर्ने हुन्छ । यस बाहेक डाटा बग खोज्ने तथा कम्पनीको आइक्लाउड डाटामा कमजोरी खोजेर निकाल्नेलाई समेत मोटो रकम पुरस्कारको रुपमा उपलब्ध गराइनेछ । 

कुन कमजोरी पत्ता लगाउँदा कति पुरस्कार ?
नम्बर १ : आइफोनको डिजिटल कम्पार्टमेन्टमा कमजोरी खोजेमा
पुरस्कार राशि : २७ लाख रुपैयाँ(२५ हजार अमेरिकी डलर)

नम्बर २ : ग्राहकहरुको डाटाबाट बग पत्ता लगाएमा
पुरस्कार राशि : ५४ लाख रुपैयाँ(५० हजार अमेरिकी डलर)

नम्बर ३ : कम्पनीको आइक्लाउड डाटाबाट गम्भीर दोष पत्ता लगाएमा
पुरस्कार राशि : २ करोड १६ लाख रुपैयाँ(२ लाख अमेरिकी डलर)

गम्भीर खालका समस्याहरु पत्ता लगाउनेहरुलाई फेसबुक, गुगल जस्ता कम्पनीहरुले पहिलादेखि नै त्यस्ता कुशल र कानूनी ह्याकरहरुलाई नगद पुरस्कार दिंदै आएका छन् । तर स्मरणीय कुरा यो हो कि एप्पलले इतिहासमै पहिलोपटक आफ्नो उत्पादनको कमजोरी पत्ता लगाउनेहरुका लागि यति ठूलो पुरस्कार राशिको घोषणा गरेको हो । पछिल्लो समय एप्पलका उत्पादनहरुको बजार घट्ने क्रममा रहेको छ । एकाएक खस्किरहेको बजारका कारण अत्तालिएका कम्पनी संचालकहरुले आफ्नो उत्पादन उत्कृष्ट बनाइराख्न कुशल ह्याकरहरुलाई यस्तो पुरस्कारको अफर गरेका हुन् ।