काठमाण्डौ । भारतीय स्वार्थ अनुुसारको संविधान संसोधन प्रक्रियालाई बलमिच्याई गरेरै भए पनि अगाडि बढाउने सत्तारुढ गठबन्धनले तयारी थाल्नु पछाडि भारतीय जासूूसहरुको महत्वपूर्ण भूमिका रहेको रहस्य खुलेको छ । 

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल(प्रचण्ड) र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका भारतको जासूसी संस्था रिसर्च एण्ड एनलिसिस् विङ(रअ)का नेपाल प्रमुख विवेक जोहरीले एमालेलाई पछार्न र आफूहरुको स्वार्थ अनुुकुलको संविधान संसोधनलाई सफल बनाउन अन्य दलहरुमा तुरुप फाल्न थालेका हुुन् । 

यो क्रममा जोहरीले पछिल्लो समय फोरम लोकतान्त्रिक र एकीकरणपछि ठूलो बनेको राप्रपालाई केन्द्रमा राखेर केही थान मन्त्री र केही अर्ब रकमको आश्वासन दिंदै विभिन्न चरणमा कुरा गरिसकेका स्रोतहरुले बताएका छन् । उच्च स्रोतका अनुसार जोहरीले राप्रपाका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई समेत सरकारमा रोजेको मन्त्रालयसहित सहभागी गराउने र त्यस बापत यी २ दलले संविधान संसोधन प्रक्रियामा सहयोग गर्नुपर्ने बिषयमा लगभग कन्भिन्स गराइसकेका छन् । 

स्रोतका अनुसार जोहरीकै पहलमा प्रचण्ड र देउवा फोरम लोकतान्त्रिकलाई उपप्रधानमन्त्रीसहित संचार लगायतका कम्तीमा २ मन्त्रालय दिएर सरकारमा सहभागी गराउन तयार भएका छन् भने कमल थापा समेत उपप्रधानसहित ३ महत्वपूर्ण मन्त्रालय लिएर सरकारमा सहभागी हुन खुट्टा उचालेर बसेका छन् । हाल राप्रपा २ मन्त्रालयसहित सरकारमा सहभागी छ । तर राप्रपाभित्रको ठूलो तप्काले भारतपरस्तको आरोप खेपिरहेको वर्तमान सरकारमा सहभागी नहुन दवाब दिएका कारण थापाको हतारो अन्यौलमा परेको छ । 

'रअ'का नेपाल प्रमुखको दौडधूपका क्रममा यी २ दललाई सरकारमा सम्मानजनक ठाउँ दिएर सहभागी गराउने सहमति भएकै कारण केही दिनअघि प्रधानमन्त्री प्रचण्डले सरकार बिस्तारको गृहकार्य भइरहेको खुलासा गरेका थिए । 

जोहरीले यो बीचमा प्रचण्ड र देउवासँग समेत बाक्लै छलफल गरिसकेका छन् । सो क्रममा एमालेको अवरोधलाई जसरी भए पनि निस्तेज पारी भारतीय स्वार्थ अनुसार पेश भएको संविधान संसोधन प्रक्रियालाई सफल बनाउने सहमति भएको छ । जोहरीले एमाले अध्यक्ष केपी ओलीलाई समेत भेटेर तुरुप फाले पनि उनी नगल्ने देखेपछि अन्य दलहरुलाई फकाउने अभियान थालेका हुन् । 

'रअ'का नेपाल प्रमुख जोहरीले भारतीय साइडबाट र नेपालको तर्फबाट भारतीय मुद्धालाई स्थापित गराउन गृहमन्त्री विमलेन्द्र निधिको दौडधूप जारी रहेको छ । 

'रअ'का अधिकारीहरुले विभिन्न दलका अन्य नेता तथा सांसदहरुलाई पैसाको समेत प्रलोभन दिइरहेका छन् । सो क्रममा उनीहरुले प्रति सांसद ५ करोड रुपैयाँसम्मको अफर गरेका स्रोत बताउँछ । ‘भारतीय पक्ष सामदाम दण्डभेद प्रयोग गरी संविधान आफ्नो स्वार्थ अनुकुल संसोधन गर्ने पक्षमा देखिएको छ ।’ उच्च स्रोतले भन्यो–‘यसो गर्दा तत्काल माओवादी र कांग्रेसले जितेजस्तो देखिए पनि दीर्घकालमा यसले नेपाललाई अझ बढी भारतपरस्त बनाउनेछ र नेपाल सार्वभौम रुपमा कमजोर बन्नेछ ।’

तर, सहज छैन......
'रअ'का अधिकारीहरुले सबै जुक्ति लगाएर संविधान संसोधनको पक्षमा बहुमत जुटाउने भगिरथ प्रयास गरे पनि यो सहजै सफल हुने अवस्था भने छैन । कारण राप्रपाभित्रकै समेत ठूलो समूह भारतीय एजेण्डालाई समर्थन गरेर अहिले सरकारमा सहभागी हुन नहुने अडानमा छ । केपी ओली नेतृत्वको सरकामा छँदा कमल थापाले बनाएको छविले पार्टीलाई फाइदा पुुगेको र ‘राष्ट्रवादी’को रुपमा स्थापित हुने अवसर प्राप्त भएकोमा यदि प्रचण्ड नेतृत्वको सरकारमा गए त्यो साख समाप्त हुने राप्रपाका अधिकांशको ठहर छ । ‘अध्यक्ष जी सरकारमा जान हतारिनुु भएको छ ।’ राप्रपाका एक नेताले भने–‘तर भारतको एजेण्डालाई समर्थन गरेर सरकारमा सहभागी भए पार्टी सिद्धिन्छ, बल्लतल्ल बनेको राष्ट्रवादी छवि समेत धूमिल बन्नेछ ।‘ 

राप्रपाका अधिकांश नेताले एमालेको मुद्धामा समर्थन गरेर संविधान संसोधनको विपक्षमा उभिनुपर्नेमा जोड दिइरहेका छन् । यो कुरा बुुझेका भारतीय जासूूसहरुले एमालेले समाएको राष्टवादी धार कमजोर हुने र यसको वकैल्पिक शक्ति राप्रपा बन्ने तुरुप फालिरहेका छन् । उनीहरुले बल्लतल्ल एकीकृत भएको राप्रपा फूटाएरै भए पनि चलखेल गर्ने रणनीति बनाएका बुझिएको छ । 

अर्कोतर्फ, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार भने महत्वपूर्ण मन्त्रालय र केही रकम लिएर सरकारमा सहभागी हुने र भारतीय एजेण्डा स्वीकार गरेर अगाडि बढ्ने तयारीमा छन् । भारतीय जासूसको प्रलोभनमा फसेकै कारण लामो समयसम्म भारतीय दूतावास नगएका उनी केही दिनअघि त्यहाँ आयोजित एक कार्यक्रममा देखा परेका थिए ।