काठमाण्डौ । प्राय मानिसहरु आफ्नो करिअरको सुरुवातका दिनहरुमा बचततर्फ ध्यान दिंदैनन् । तर, आर्थिक व्यवस्थापनको कोणबाट हेर्ने हो भने यो बानी गलत हो । हामीले बेलैदेखि बचत गर्ने बानी बसाल्नुपर्छ । विज्ञहरुको भनाईलाई मान्ने हो भने तपाईंले बचत गर्ने काम त्यहीबेलादेखि सुरु गर्नुहोस्, जुन बेलादेखि तपाई कमाउन थाल्नुहुन्छ । हामी तपाईंलाई यस्तै पाँचवटा ‘गोल्डेन रुल’ बताउन गइरहेका छौं, जसलाई फलो गर्नुभयो भने तपाई रिटायरमेन्टको उमेरमा करोडपति बनिसक्नुहुन्छ । 

आम्दानीको १० प्रतिशत बचत गर्नुहोस्
रिटायरमेन्ट योजनाको पहिलो नियमलाई फलो गर्न निकै सहज छ । यसका लागि तपाईंले आफ्नो मासिक आम्दानीको १० प्रतिशत अनिवार्य रुपमा बचाउनुपर्छ । यदि तपाईं जागिर खानुहुन्छ भने तपाईंको प्रोभिडेन्ट फण्ड(पिएफ)मा कुल तलबको १० प्रतिशत रकम जम्मा भइरहेकै हुन्छ । आजको समयमा यो रकम तपाईंलाई निकै सानो लाग्न सक्ला, तर लामो समयसम्म यो रकमले धेरै ठूलो रकमको आकार लिइसक्छ । यदि तपाई विजिनेश गर्नुहुन्छ भने आफ्नो आम्दानीको १० प्रतिशत अनिवार्य रुपमा बचाएर लामो समयका लागि सामूहिक लगानीकोष जस्ता फण्डहरुमा लगानी गर्न सक्नुहुन्छ । 

आम्दानीसँगै लगानी पनि बढाउनुहोस्
आम रुपमा मानिस आम्दानी बढेसँगै लगानी पनि बढाउनुपर्छ भन्ने कुरामा ध्यान दिंदैनन् । तर, बढ्दो महङ्गीलाई ध्यानमा राखेर आम्दानी बढेसँगै लगानी पनि बढाउन जरुरी हुन्छ । यदि तपाईंले आफ्नो आम्दानीमा भइरहेको वृद्धिसँगै बर्षेनी आफ्नो लगानी पनि बढाउनुहुन्छ भने तपाईले बढ्दो महङ्गीका कारण पर्ने दवाबलाई सहजै थेग्न सक्नुहुन्छ । साथै, रिटायरमेन्टका लागि एक निकै ठूलो रकम समेत जम्मा गर्न सक्नुहुनेछ । 

रिटायरमेन्ट अगाडि पिएफ ननिकाल्नुहोस्
तपाई जब आफ्नो जागिर परिवर्तन गर्नुहुन्छ, तब तपाईंको रिटायरमेन्ट फण्ड जोखिममा पर्नसक्छ । यस्तो बेलामा तपाईसँग पिएफ निकाल्ने वा पिएफ ट्रान्सफर गर्ने विकल्प हुन्छ । यस्तो समयमा धेरै मानिस तत्कालीन जरुरतहरुलाई पूरा गर्न जम्मा भएको पिएफ निकाल्ने गर्छन । यस्तो गर्नु भनेको तपाईंको रिटायरमेन्ट प्लानलाई दाउमा लगाउनु हो । यदि ठूलै आपतकालीन अवस्था छैन भने भरसक जम्मा भएको पिएफ निकाल्ने कुराबाट बच्नुहोस् । 

बच्चाको शिक्षाका लागि ऋण लिनुहोस्
नेपाली परिवारका अभिभावक आफ्ना बालबच्चाको  शिक्षा र विवाहका लागि भनेर बचत गर्ने गर्छन । यस्तो बचतबाट उनीहरुको रिटायरमेन्ट सेभिङ प्रभावित बन्न पुग्छ । तसर्थ, हिजोआज बैंकबाट सहजै पाइने शैक्षिक कर्जा लिनु हितकर हुन्छ । आफ्नो बालबच्चाको शिक्षाका लागि बैंक तथा बित्तीय संस्थाबाट कर्जा लिन सक्नुहून्छ । यस्तो अवस्थामा तपाईंको रिटायरमेन्ट सेभिङमा कुनै बाधा आउने छैन । 

आपतकालीन कोष बनाउनुहोस्
यदि तपाईं आफ्नो रिटायरमेन्ट फण्डमा कुनै आँच नआओस् भन्ने चाहनुहुन्छ भने तपार्इंले एक आपतकालीन कोष बनाउनुपर्छ । इमेरजेन्सी फण्ड तपाईंको मासिक आयको पाँचगुणा बढी हुन आवश्यक हुन्छ । यस्तो बेलामा यदि छोटो समयका लागि तपाईंको नोकरी गयो भने पनि केही महिनासम्मका लागि तपाईंले यो आपतकालीन कोषलाई प्रयोग गरी आफ्नो नियमित खर्च सहज ढंगले टार्न सक्नुहुनेछ । यसो गर्दा तपाईंको रिटायरमेन्ट प्लानिङमा पनि कुनै असर हुनेछैन ।