काठमाण्डौ । कर्णाली विकास बैंकले आफ्ना सेयरधनीलाई २२५ प्रतिशतको अनुपातमा हकप्रद भर्ने अवसर दिने भएको छ । 

यो बैंकले आगामी फागुन २१ गते नेपालगञ्जमा विशेष साधारणसभा बोलाई २२५ प्रतिशत हकप्रद निश्कासन गर्न लागेको हो । 

हाल यो बैंकको चुक्तापूँजी १५ करोड १० लाख रुपैयाँ रहेको छ । यसैको २२५ प्रतिशतको दरले हकप्रद निश्कासनको विशेष प्रस्ताव विशेष साधारणसभामा पेश हुने बताइएको छ । 

यो बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ३६ लाख ७३ हजार खूद नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७१/७२ मा यो बैंकले ११ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो । हालसम्म वार्षिक साधारणसभा नभएका कारण यो प्रस्ताव अझै पारित भएको छैन । 

प्रस्तावित २२५ प्रतिशत हकप्रदको प्रस्ताव पारित भएपछि र यो अनुपातको सेयर निश्कासनपछि बैंकको चुक्तापूँजी ४९ करोड ७ लाखको उचाईमा पुुग्नेछ । 

नेपाल राष्ट्रबैंकले १ देखि ३ जिल्ले विकास बैंकको चुक्तापूँजी ५० करोड पुर्याउनुपर्ने नीति लिएको छ । यो बैंकले हकप्रदबाटै तोकिएको पूँजी पुर्याउने देखिन्छ । 
अघिल्लो माघ १५ मा पनि यो बैंकले विशेष साधारणसभा डाकेको थियो, तर कोरम नपुुगेका कारण सम्पन्न हुन सकेको थिएन ।