काठमाण्डौ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले माओवादी र एमालेका सांसदहरुले संसदमा दर्ता गराएको अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको विपक्षमा उभिने संकेत दिएको छ । 

कार्कीविरुद्ध संसदमा दर्ता गराइएको महाअभियोगलाई ‘कम्युनिष्टहरुको चक्रव्यूह’को संज्ञा दिंदै आएका नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका बहुसंख्यक नेताहरुले सोमबारको बैठकमा पनि बिहीबार र शुक्रबार झै लोकमानमाथि लगाइएको महाअभियोगको विपक्षमा मत जाहेर गरेका छन् । 

उनीहरुले वर्तमान सत्ता गठबन्धन ढाल्ने, कम्युनिष्टको षड्यन्त्रमा कांग्रेसलाई पारेर कमजोर बनाउने खेल अन्तरगत केपी ओली नेतृत्वमा लोकमानमाथिको महाअभियोग नामको षड्यन्त्र रचिएको दाबी गरे । 

गत साता बसेर एक्कासी स्थगित भएको केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार बोल्ने अधिकांश नेताहरुले अरुले डिजाइन गरेको षड्यन्त्रमा कांग्रेस फसे मुलुक नै समस्यामा पर्नसक्ने भन्दै चिन्ता समेत व्यक्त गरेका एक केन्द्रीय सदस्यले बताए । ७४ सदस्यीय केन्द्रीय कार्यसमितिमा हालसम्म बोल्ने अधिकांश महाअभियोगको विपक्षमा देखिएका हुन् । 

कांग्रेस बैठकमा महाअभियोगको पक्षमा निकै सानो स्वर मात्र सुनिएको छ । हालसम्म कांग्रेसका चार केन्द्रीय सदस्यले मात्र प्रष्ट रुपमा महाअभियोगको पक्षमा आफ्नो धारणा दिएका छन् । शुक्रबारको बैठकमा बोल्ने १७ जनामध्ये प्रदीप पौडेल मात्र लोकमानको विपक्षमा देखिएका थिए भने सोमबारको बैठकमा समेत धनराज गुरुङले मात्र महाअभियोगको पक्षमा मत जाहेर गरे । यसअघि गत बिहीबारको बैठकमा गगन थापा र विश्वप्रकाश शर्माले मात्र महाअभियोगको पक्षमा पार्टी उभिनुपर्ने जिकिर गरेका थिए । 

अधिकांश  कांग्रेस केन्द्रीय सदस्यले कम्युनिष्टको डिजाइनमा फस्न नहुने, आवेगमा आएर निर्णय गर्न नहुने, कांग्रेस देशको अभिभावक भएकोले हल्लाको पछि लाग्न नहुने सुझाव दिंदै आएका छन् । स्रोतका अनुसार कतिपयले वर्तमान सत्ता गठबन्धन जसरी भए पनि टुटाउने रणनीतिका साथ एमालेले गरेको डिजाइन भएकोले कांग्रेसले महाअभियोगको पक्षमा जानै नहुने तर्क गरेका छन् । 

नेताहरुका अनुसार बिहीबार, शुक्रबार र सोमबारको बैठकमा जाहेर मत र नेताहरुको अभिव्यक्ति देख्दा समेत कांग्रेसको निर्णय महाअभियोगको विपक्षमा जाने स्पष्ट संकेत देखिइसकेको छ ।