काठमाण्डौ । संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बर्सेनि तीन लाखभन्दा बढीलाई रोजगारी दिनेदेखि बर्सेनि एक खर्ब विदेशी लगानी ल्याउनेसहितका महत्वाकांक्षी योजनासहितको निर्वाचन घोषणापत्र ल्याएको छ । ३१ वैशाखको निर्वाचन आउन १९ दिन मात्र बाँकी हुँदा कांग्रेसले मंगलबार जारी गरेको घोषणापत्र सरकारको नीति, कार्यक्रम र बजेटजस्तै छ ।

केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमा सभापति शेरबहादुर देउवाले समग्र जनतालाई स्थानीय शासनमा बलियो बनाउने र जनताको पहुँच बढाउने गरी ल्याइएको घोषणापत्रले सफलता प्राप्त गर्ने बताए । ‘कांग्रेसको नेतृत्वमा नयाँ संविधान–कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ लाई मूल नारा मान्दै कांग्रेसले राजनीतिक परिवर्तनमा आफ्नो अमूल्य योगदान रहेको र अब राजनीतिक परिवर्तनका मुद्दालाई संस्थागत गर्न नेतृत्व प्रदान गर्ने जनाएको छ ।

महत्वाकांक्षाले भरिएको घोषणापत्र
कांग्रेसले ल्याएको घोषणापत्रमा हरेक वर्ष सय अर्बबराबरको विदेशी लगानी भित्राउने, स्वदेशी र निजी लगानीले बर्सेनि तीन लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने, गरिबीको रेखामुनि रहेका जनताको हिस्सा तीन प्रतिशतभन्दा कम गराउने, अधिकांश नेपालीलाई मध्यवर्गीय स्तरका बनाउने र ९५ प्रतिशत नेपालीलाई साक्षर बनाउने महत्वाकांक्षी १० वर्षे योजना अगाडि सारेको छ।

कांग्रेसको १० वर्षे योजनामा औसत नेपालीको आयु ७७ वर्ष पुर्याउने, १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । त्यस्तै, काठमाडौं–मधेस एक्सप्रेसलगायत चारदेखि ६ लेनका हजार किलोमिटरभन्दा बढीको द्रुतमार्ग, पाँच सय किलोमिटरभन्दा बढी रेल्वे लाइन, ५० हजारभन्दा बढी कालोपत्रे सडक र टनलको सञ्जाल निर्माण, चारवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषयलाई १० वर्षको पार्टी योजनामा पारेको छ ।

प्रत्येक वर्ष ३२ लाखभन्दा बढी पर्यटक नेपाल भित्राउने र ४० लाख नेपालीलाई पर्यटन उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने, तराई–मधेसका र पहाडका १८ लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिन बाह्रै महिना सिञ्चित गर्ने र प्रमुख तरकारी र खाद्यान्नमा नेपाल आत्मनिर्भर बन्ने विषयलाई पनि १० वर्षे योजनामा समेटेको छ । मोबाइल फोनको पहुँच जनसंख्याको अनुपातमा १३५ प्रतिशत पुगेको र इन्टरनेट सबै गाउँ तथा नगरपालिकामा उपलब्ध गराउने योजना पनि कांग्रेसको छ ।

एक विपन्न परिवारलाई सीप सिकाइ केन्द्रमा एक निःशुल्क अवसर कार्यक्रम लागू गर्ने घोषणा पनि कांग्रेसले गरेको छ । केन्द्रीय प्रादेशिक र स्थानीय तहमा पत्रपत्रिकालगायत अन्य प्रकाशनमा कल्याणकारी विज्ञापनलाई प्रोत्साहन दिँदै एक वडा एक बुलेटिनको अभियानमार्फत नागरिकलाई सुसूचित गराउने कार्यक्रम पनि कांग्रेसको छ ।

मध्यम आययुक्त गतिशील राष्ट्र बनाउने घोषणा
नेपाललाई आगामी १० वर्षभित्र एउटा मध्यम आययुक्त गतिशील राष्ट्र बनाउने घोषणा गर्दै आर्थिक समृद्धिको संकल्प अघि सारेको छ । स्वदेशी विदेशी लगानीको बलमा आर्थिक सुधारलाई गति दिने कांग्रेसको लक्ष्य छ । जल, जमिन, जंगल, जडीबुटी, जलाधार, पर्यटनलाई स्थानीय जनताको समृद्धिको आधारका रूपमा कांग्रेसले अघि सारेको छ ।

नेपालको ७५ प्रतिशतभन्दा बढी जनसंख्याको व्यवस्थित, सुविधासम्पन्न, आधुनिक नगरमा बसोबास, सबै नयाँ भवन अनिवार्य रूपले भूकम्प प्रतिरोधी, बाढीपहिरो, आगलागीजस्ता प्राकृतिक विपत्का अकालमा मृत्यु हुनेको संख्या अहिलेको वार्षिक औसत ४१५ जनाबाट घटाएर दुई दर्जनभन्दा कम गराउने र सबै तहमा संसदीय लोकतन्त्रको जगमा समावेशी, उत्तरदायी, भ्रष्टाचाररहित शासन व्यवस्था कायम गर्ने १० वर्षे योजना पनि कांग्रेसका छन् । त्यस्तै, दर्जनौँ टनेल र फ्लाइओभर सडक सञ्जाल, मोनोरेल, स्मार्ट सहरको योजना पनि अघि सारेको छ ।

भूकम्प नगएको क्षेत्रमा पनि ५० हजार दिने
१२ वैशाखमा गएको भूकम्पको दुई वर्ष पुग्दासम्म पीडितका लागि घर नबनिरहेका वेला कांग्रेसले भूकम्प नै नगएको क्षेत्रमा भूकम्प प्रतिरोधात्मक घर बनाउन ५० हजार रुपैयाँको प्रोत्साहन अनुदान दिने घोषणा पनि गरेको छ ।

स्तरीय र निःशुल्क शिक्षा
कांग्रेसले सबै नेपालीलाई स्तरीय शिक्षा दिने भन्दै माध्यमिक तहसम्म पूर्ण निःशुल्क, अनिवार्य र गुणस्तरीय शिक्षालाई सर्वसुलभ बनाउने घोषणा गरेको छ । १२ कक्षाको अन्तिम परीक्षा दिएकालाई तरुण सीपवृत्ति योजनामा एक लाख युवालाई सहभागी गराउने योजना पनि ल्याएको छ । पुराना स्थानीय शिक्षकलाई स्वेच्छिक अवकाशको व्यवस्था गरी नयाँ शिक्षक भर्नाद्वारा शिक्षक रूपान्तरणको योजना लागू गर्ने विषय पनि अगाडि सारेको छ । नमुना विद्यालय, एक वडा एक लाइब्रेरी, एक योग प्राकृतिक चिकित्सा केन्द्र स्थापनामा जोड दिएको छ।

हरेक गाउँपालिकामा १५ शैयाको अस्पताल
निःशुल्क मिर्गौलाको डाइलासिस, स्थानीय तहसम्म महिलाको पाठेघरको मुखको क्यान्सरको उपचार पुर्याउने, प्रत्येक नेपाली नागरिकको स्वास्थ्य बिमा, सबै विद्यालयमा प्रत्येक महिना स्वास्थ्य परीक्षण, वडामा तलबी नर्स स्वयंसेवकको व्यवस्था, विपन्न परिवारलाई पानीको, सुत्केरी आमालाई पोसिलो खान र सुत्केरी भएको दुई वर्षसम्म कुपन वितरण गर्ने विषयलाई पनि घोषणा गरेको छ । साथै, हरेक गाउँपालिकामा १५ शैयाको अस्पताल बनाउने विषय पनि कांग्रेसले उठाएको छ ।

ज्येष्ठ नागरिकलाई आश्रमदेखि आध्यात्मिक सत्संग
एकीकृत ज्येष्ठ नागरिक सेवा आश्रम, आश्रममा ज्येष्ठ नागरिकलाई आवास, भोजन, स्वास्थ्य, आध्यात्मिक सत्संग, मनोरञ्जन र भ्रमणलगायतका सबै सेवा निःशुल्क उपलब्ध गराउने घोषणा कांग्रेसको छ ।

घोषणापत्र सामाजिक परिवर्तनको प्रेरक भएको दाबी
तीन खण्डको घोषणापत्रमा राजनीतिक पृष्ठभूमि, ऐतिहासिक बिरासत र उपलब्धि र स्थानीय सरकार र हाम्रो संकल्प भन्दै कांग्रेसले घोषणापत्र तयार गरेको घोषणापत्र तयारी समितिका संयोजक महेश आचार्यले जानकारी दिए । संविधानले स्थानीय सरकार सरकारको अवधारणा ल्याएको २२ वटा अधिकार दिएको भन्दै अब सिंहदबारको अधिकार गाउँसम्म पुर्याउनुपर्ने बताए । अधिकारलाई जनताको पहुँचमा पुर्याउन सक्ने गरी नेतृत्व स्थापित गर्दै आफूहरूले ल्याएको कार्यक्रम लागू गर्दै राष्ट्रिय समृद्धिको संकल्प गरेको उनले बताए । राजा, राणादेखि पञ्चायतसँग लड्दै प्रजातन्त्र प्राप्तिका लागि नेतृत्व गरेको कांग्रेसले अब देश विकास र आर्थिक समृद्धिको लागि नेतृत्व गनुपर्ने उनले बताए ।

घोषणापत्र जिल्लामा पुर्याउन अझै तीन दिन लाग्ने
कांग्रसले मंगलबार घोषणापत्र जारी गरे पनि यसलाई गाउँ, क्षेत्र र जिल्लामा पुर्याउन अझै तीन–चार दिन लाग्ने भएको छ । घोषणासभाका लागि मात्र तीन सय थान घोषणापत्र तयार गरे पनि जिल्लाजिल्लामा पठाउन तीन–चार दिन लाग्ने केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । केन्द्रले घोषणापत्र छापेपछि मात्र जिल्लामा पठाउने क्रम सुरु हुने केसी बताउँछन् । कांग्रेसले स्थानीय आवश्यकताका आधारमा जिल्लामा पनि यसअघि नै घोषणापत्र तयार गर्न परिपत्र गरिसकेको छ । १९ चैतमा कांग्रेसले ३५ सदस्यीय घोषणापत्र तयारी समितिलाई पूर्णता दिई काम थालेको थियो ।

कांग्रेसको दृष्टिमा
एमाले असहिष्णु र उग्रराष्ट्रवादी
कांग्रेसले आफूलाई सामाजिक परिवर्तनको प्रेरक मान्दै प्रमुख प्रतिपक्षी दल एमालेलाई असहिष्णु र उग्र राष्ट्रवादी भनेको छ । संविधान निर्माणदेखि नै एमाले असहिष्णु र आक्रामक भएको आरोप कांग्रेसको छ । एमालेकै अतिवादी सोच र अडानले तराई–मधेसको आन्दोलन झनै चर्केको कांग्रेसको आरोप छ ।

माओवादी अस्थिरतामा लाभ खोज्ने
कांग्रेसले देशको राजनीति मुठभेडमा पुग्दा पनि माओवादी केन्द्रले दृढसंकल्प र लोकतान्त्रिक बाटो पहिल्याउन नसकेको आरोप लगाएको छ । माओवादी द्वन्द्वकालीन प्रवृत्ति र घटनाको प्रभावबाट मुक्त हुन नसकेको र सत्ताको लाभ खोज्ने प्रवृत्ति भएको कांग्रेसको आरोप छ ।

मधेसी दल हठी, राप्रपा अवसरवादी
मधेसी दल हठी भएको तथा मधेसका जनतालाई निर्मम आन्दोलनमा होमेर राजनीतिक संवाद र सहमतिलाई परिणाममुखी बन्न नदिएको अरोप लगाएको छ । मधेसी दलले सामाजिक सद्भाव बिथोलेर सीमासम्म आन्दोलन फैलाएर अतिवादी सोच र प्रवृत्तिलाई बल पु¥याएको आरोप पनि छ । नयाँ संविधानलाई निष्ठापूर्वक स्वीकार नगर्ने प्रवृत्तिले राप्रपालाई अवसरवादी तथा सत्ता राजनीतिको दलदलमा फसाएको कांग्रेसको निष्कर्ष छ । आजको नयाँ पत्रिकामा खबर छ ।