काठमाण्डौ । भारतबाट आयात भइरहेको बिजुली मंगलबार पहिलोपटक काठमाडौं आएको छ । खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनको निर्माण सकिएपछि भारतबाट आयात भएको करिब २० मेगावाट बिजुली काठमाडौं आएको छ ।

‘प्रसारण लाइन बनेपछि भारतबाट आयातीत बिजुली काठमाडौं उपत्यकामा भित्राउन नयाँ बाटो बन्यो,’ नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने, ‘मंगलबार साँझ ६ बजेर दुई मिनेटमा ढल्केबर–खिम्ती–लामोसाँघु प्रसारण लाइन हुँदै भारतबाट आयातीत २० मेगावाट बिजुली काठमाडौं भित्रिएको छ ।’

१४ वर्षअघि निर्माण सुरु भएको खिम्ती–ढल्केबर प्रसारण लाइन सोमबारबाट परीक्षण सञ्चालनमा आएको थियो । ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर प्रसारण लाइनमार्फत भारतबाट आयात भइरहेको बिजुली हेडौँडाभन्दा पूर्व मात्रै आपूर्ति गरिएको थियो । प्राधिकरणले अहिले सो प्रसारण लाइनबाट साँझमा दैनिक रूपमा १ सय २० मेगावाटसम्म आयात गरिरहेको छ । भारतबाट दैनिक ३-४ घण्टा ३ सय ४० मेगावाटसम्म बिजुली आयात भइरहेको छ ।

६० मेगावाटको खिम्ती विद्युत्गृहको बिजुली खिम्ती–लामोसाँघु हुँदै काठमाडौं भित्रिन्छ । अब भारतबाट आयातीत बिजुली पनि सोही प्रसारण लाइन हुँदै काठमाडौं आउने प्राधिकरणले जनाएको छ । १८ माघपछि १७ जेठसम्ममा प्राधिकरणले दैनिक १ सय ६० मेगावाटसम्म बिजुली भारतबाट ल्याउने छ । एनटिपिसी विद्युत् व्यापार निगमले मुजफ्फरपुर बिन्दुमा प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा (३.६० भारु) बिजुली दिनेछ ।

भारतको बिजुली पनि आएपछि काठमाडौं उपत्यकामा बिजुलीको व्यवस्थापनमा सहज भएको प्राधिकरणले जनाएको छ । काठमाडौं उपत्यकमा बिजुलीको माग करिब ३ सय २५ मेगावाट रहेको प्राधिकरणले जनाएको छ ।

काठमाडौंमा अब लोडसेडिङ नहुने निश्चित
भारतबाट आयातीत बिजुली ल्याउन सम्भव भएपछि उपत्यकामा अब लोडसेडिङ नहुने पक्का भएको छ । तिहारपछि काठमाडौं उपत्यका लोडसेडिङमुक्त छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भारतबाट थप बिजुली उपत्यकामा भित्रिएपछि प्रणालीको विश्वसनीयता र स्थिरतामा वृद्धि भएको बताए । उनले भने, ‘अब लोडसेडिङमुक्त अभियानलाई निरन्तरता दिन सक्ने भएका छौँ ।’यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।