काठमाण्डौ । लगातार खोकी लागेर ग्रसित हुनुहुन्छ भने कतै स्वाइनफ्लु त भएको छैन ? लगातार खोकी लाग्ने, घाँटी खसखसाउने, १० दिनसम्म पनि कडा ज्वरो आउने भए तपाईंमा स्वाइनफ्लु भएको हुन सक्छ। यस्तै, बालबालिकामा  ज्वरोसँगै बान्ता हुने, पखाला लाग्ने भए तत्कालै जाँच गराइहाल्न चिकित्सकहरूले आग्रह गरेका छन्। यस्तै, प्रकारको समस्या लिएर उपत्यकाका अस्पतालहरूमा बिरामी पुगेका छन्। उनीहरूको रगत परीक्षणले उपत्यकामा स्वाइनफ्लु देखिएको छ।

एचवानएनवान भाइरस देखिएका बिरामीलाई स्वाइनफ्लु लागेको मानिने चिकित्सकहरूले बताएका छन्। उपत्यकामा देखा परेको यस प्रकारको भाइरस कडा प्रकारको भएको चिकित्सकहरूले बताएका छन्। उनीहरूले सबैलाई सचेत हुन आह्वान गरेका छन्।

काठमाडौंमा स्वाइनफ्लु भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पुष्टि गरेको छ। अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार विगतमा देखिएको भन्दा पनि फरक किसिमको स्वाइनफ्लुको भाइरस फेला परेको छ। उनले काठमाडौंमा देखिएको स्वाइनफ्लु नयाँ भएकाले विशेष सतर्कता अपनाउन आह्वान गरेका छन्।

‘पहिले देखा परेको स्वाइनफ्लु क्यालिफोर्निया राज्यबाट आएको हुँदा त्यसले त्यति हानि पु‍¥याएको थिएन,’ सरुवा रोग विशेषज्ञ डा. पुनले भने, ‘तर, अहिले अमेरिका, युरोप हुँदै भारतमा समेत देखा परेको मिचिगन स्ट्रेन नामक स्वाइनफ्लु नेपालमा समेत आएको हुन सक्ने हुँदा यसबारे विशेष ध्यान दिन आवश्यक छ।’

करिब तीन साताअघि मात्र काठमाडौंको एक अस्पतालमा स्वाइनफ्लुकै कारण एक व्यक्तिको मृत्यु भएको थियो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै भर्ना भएका ३० वर्षीय पुुरुषमा पनि स्वाइनफ्लु संक्रमण भएको छ। ज्वरोसहित छाती दुखेर अस्पताल भर्ना भएका उनमा स्वाइनफ्लु देखिएको अस्पतालले जनाएको छ। गत फागुनको पहिलो साता ज्वरो आएर अस्पताल पुगेका ४० वर्षीय एक पुरुषमा पनि स्वाइनफ्लुको भाइरस भेटिएको थियो।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको केन्द्रीय प्रयोगशालामा रगत परीक्षण गराउनेमध्ये करिब २० प्रतिशतमा स्वाइनफ्लुको भाइरसको प्रारम्भिक लक्षण देखा परेको छ। सन् २००९ मा विश्वमा पहिलोपटक स्वाइनफ्लुुको संक्रमण देखा परेको थियो। एचवानएनवान भाइरस सुँगुरबाट मानिसमा सर्ने हँुदा यसलाई स्वाइनफ्लु भनिएको हो। यो खबर आजको राजधानीमा छापिएको छ ।