काठमाण्डौ । पुरानो शक्ति अभियानले यही कार्तिक २९ गते माइतीघर मण्डलामा भ्रष्टाचारबिरुद्व र्याली प्रदर्शन  गर्ने भएको छ । 

आइतबार रिपोर्टर्स क्लब नेपालमा अभियानले पत्रकार सम्मेलन गरेर देशका विशिष्ट व्यक्तिहरू नै सबैभन्दा बढी भ्रष्टाचारी भएका भन्दै आफूहरू सडकमा आउनु परेको अभियानका संयोजक बालकृष्ण न्यौपानेले बताए ।

उनले हरेक नेता भ्रष्टाचारको चङगुलमा जाकिएका भन्दै अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउन हतार गरिरहेका नेताहरू कार्कीदेखि डराएका आरोप समेत लगाए ।

फरक प्रसँगमा अख्तियार जस्तो सवैधानिक अंगहरू माथि हमला गर्ने जो कोहीलाई कारबाही हुनुपर्छ भन्दै उनले थपे–‘कार्यालयहरू कमिसन बिना चल्न सक्दैनन्, आज जताततै भ्रष्टाचारले डेरा जमाएको छ ।’

त्यस्तै कार्यक्रममा बरिष्ठ पत्रकार प्रेम कैदीले विश्वको सबैभन्दा सम्पन्न र शक्तीशाली देश नेपाल भएको भन्दै आज दिनप्रतिदिन हरेक रुपमा असफल बन्दै गएको स्थितिले आफूलाई गम्भीर बनाएको गुनासो पोखे ।

नेपालका कम्युनिष्टहरुले सच्चा काम गर्न नसकेको भन्दै उनले भने–‘कुनै बेला प्रचण्डले प्रेम दाई माक्र्सवादको पाठ सिकाउने हजुर हो, अब हामी सबै मिलेर देश र जनताको भलाईको निम्ति केही गर्नुपर्छ, तर आज मेरो भाई प्रचण्ड नै सबैभन्दा बढी भ्रष्टाचार गर्ने नेतामा पर्छन्, विभिन्न नाममा राज्यबाट पैसा लिने र आफ्नो नाममा राख्ने चोर काम गरिरहेका छन्, हिजो मातृका, वीपी र गिरिजाप्रसाद कोईरालाले देशलाई गम्भीर असर पर्ने काम गरे ।’

उनले अघि थपे–‘२०४७ सालदेखि यता माधवकुमार नेपाल, शेर बहादुर देउवा, झलनाथ खनाल, बाबुराम भटराई, पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरू देश बनाउने भन्दा पनि भत्काउने कामको अग्रपंक्तिमा छन् ।’

भ्रष्टाचारको प्रसँगमा कैदीले लोकमानलाई कारवाही गर्ने कुरामा आफ्नो सहमति रहेको भन्दै अघि थपे–‘हिजोदेखिनै मैले लोकमान, विजयकुमार गच्छदार र खुमबहादुर खड्का हिजोका भ्रष्टाचारी हुन्, खुमबहादुरले पैसा दिएनन्, अरु यी दुईजनाले मलाई बचाइदेउ भन्दै तलुवा चाटे अनि अख्तियारको नजरबाट जोगिए, कुन नेताको नाममा कति रकम छ, त्यो म जान्दछु ।’

उनले अघि थपे,‘अब यी भ्रष्टहरूलाई तह लगाउन र देश बचाउन मोहन बैद्य र विप्लव माओबादीलाई अधिबक्ता बालकृष्ण न्यौपानेलाई साथ दिन अनुरोध गर्दछु, हिजो जेलमा बस्दा हाम्रो देश स्विट्जरल्याण्ड बनाउनु पर्छ भन्थे, तर आज देश भ्रष्टाचारको देश बनाए, म उही पत्रकार भन्दै लेखिरहेको छु, भनिरहेको छु ।’