कोही पुरूष दारी पाल्न मन पराउँछन् त कोही दिनहुँ दारी काटेर आफूलाई चिटिक्क पार्न चाहन्छन् । कोही आफूलाई पाको देखाउनसमेत दारी पाल्ने गर्छन् । दारी पालेको पुरूषलाई कसैले आकर्षक बताउँछन् त कसैले फोहोरी । दारीको सम्बन्ध पुरूषको व्यक्तित्वसँग मात्रै छैन । हालै मात्रै गरिएको अनुसन्धानले दारी र पुरूषको सफलताबीच सम्बन्ध रहेको देखाएको छ ।

युनिभर्सिटी अफ वेष्टर्न अष्ट्रेलियाका अनुसन्धाताहरुले गरेको अनुसन्धानअनुसार आफूलाई आक्रामक देखाउन अन्य पुरूषबाट आउने दबाबका कारण पनि पुरूषले दारी पाल्ने गरेको पाइएको छ । कार्यस्थलमा आफूलाई थप शक्तिशाली देखाउन मुख्य तत्त्व दारी नै भएकोसमेत अनुसन्धानका क्रममा फेला परेको छ । त्यस्तैगरी केही पुरूषले चाहिँ महिलालाई आफूप्रति आकर्षित गर्नसमेत दारी पाल्ने गरेको पाइएको छ । पछिल्लो समय नेपाल र भारतमा समेत विशेषगरी खेलाडी र अभिनेताहरुले दारी पाल्ने प्रवृत्ति बढेको छ । हुन त शिक्षकलगायतका अन्य पेशाकर्मीहरुले समेत दारी पाल्ने गरेका छन् ।

-एजेन्सी