काठमाण्डौ । नेपालका नियामक निकायहरुको निर्देशनलाई बेला–बेला अवज्ञा गर्दै आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई सेयरको अतिरिक्त निश्कासन(एफपीओ)को क्रममा नेपाल लाइफ इन्स्योरेसको झै गल्ती गरे पनि रातारात कारबाहीबाट जोगाइएको खुलेको छ । 

नेपाल लाइफले झै यो बैंकले समेत मनलागी एफपीओको मूल्य तोकेर प्रचारप्रसार गरेसँगै यसको सेयर कारोबार तथा मूल्यमा प्रभाव परेको थियो । यो प्रभाव बजारमा अझै कायम छ । निश्चित मापदण्ड पूरा नगरी संचालक समितिले एफपीओको दर निर्धारण गर्न पाउदैन । स्ट्याण्डर्ड  चार्टर्ड बैंकले समेत नियामक निकायहरुलाई जानकारी दिनुुअघि नै संचालक समितिले प्रस्ताव गरेको एफपीओको मूल्य प्रचारप्रसार गरेर सेयर बजारमा खेल्ने काम गरेको थियो । उसले एफपीओ निर्धारणको मापदण्ड पनि पूरा गरेको थिएन ।  

यस्तै अवस्थामा नेपाल लाइफमाथि नियामक नेपाल धितोपत्र बोर्डले कारबाही गरी सेयर कारोबार नै निलम्बन गरेको थियो । तर, स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई भने छुट दिइएको देखिएको छ । बोर्डले चार्टर्ड बैंकको मनलाग्दीको बिषयमा नबोलेको भन्दै सर्वत्र आलोचना भएपछि रातारात गल्ती सच्याउने काम भएको समेत पाइएको छ ।

‘नियामकहरु स्ट्याण्डर्ड चार्टर्ड बैंकप्रति नरम भएका देखियो ।’ एक लगानीकर्ताले बिजशालासँग भने–‘नेपाल लाइफलाई त्यस्तै बिषयमा कारबाही गर्ने नियामकका अधिकारी स्ट्याण्डर्ड चार्टर्डप्रति के कारणले नरम भएका हुन् यो विषय सार्वजनिक हुनुुपर्छ ।’ 

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ३ अर्ब ३० करोड रुपैयाँको अतिरिक्त निश्कासन(एफपीओ)को प्रस्ताव पेश गरेको छ । यो बैंकले १ सय रुपैयाँ अंकित दरको सेयरमा ११९० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता १२९० रुपैयाँमा एफपीओ निश्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लगायतका निकायलाई पत्र पठाउनुुअघि नै अनावश्यक प्रचारप्रसार गरेको थियो । 

नेपाल लाइफको हकमा धितोपत्र बोर्डले कारोबार रोक्का राख्ने निर्णय सार्वजनिक गर्ने क्रममा भनेको थियो–‘नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले एफपीओको प्रिमियम मूल्य निर्धारण भएको व्यहोराको जानकारी बोर्डमा गराईएकोमा धितोपत्र बजारमा सूचीकृत उक्त लिमीटेडले प्रिमियममा जारी गर्न लागेको शेयरको मूल्य आधिकारिक रुपमा निर्धारण नगराई धितोपत्र बजारको संवेदनशीलतालाई ख्याल नगरी मूल्यमा प्रभाव पार्ने किसिमले समाचार समेत सार्वजनिक गरेको देखिएकोले हाललाई सो कम्पनीको कारोबार रोक्का राख्न बोर्डबाट मिति २०७३।०२।२८ मा नेपाल स्टक एक्सचेञ्ज लि. लाई निर्देशन दिइएको छ ।’

स्ट्याण्डर्ड चार्टर्डको घटना समेत ठ्याक्कै यस्तै हो । यो बैंकले समेत शेयरको मूल्य आधिकारिक रुपमा निर्धारण नगराई धितोपत्र बजारको संवेदनशीलतालाई ख्याल नगरी मूल्यमा प्रभाव पार्ने किसिमले समाचार समेत सार्वजनिक गरेको प्रष्ट भए पनि ऊमाथि कारबाही नगर्नु रहस्यमय छ । बरु, संभावित कारबाहीबाट बचाउन बोर्ड र नेपाल स्टक एक्सचेञ्जका अधिकारीहरुको सल्लाहमा स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई पत्र पठाउन भनिएको थियो । फलस्वरुप, धितोपत्र बोर्डमा एफपीओ निश्कासन गर्ने भनी संचालकले गरेको निर्णय व्यहोरा पठाइएको ३ दिनमै बैंकले अर्को पत्र पठाउनुपरेको थियो । बैंकको दोश्रो पत्रलाई आधार मानी उसलाई आममाफी दिने काम भएको देखिन्छ । 

धितोपत्र बोर्डले साउन २८ गते एक प्रेस विज्ञप्ति जारी गर्दै एफपीओको मूल्य तोक्दा अपनाउनुपर्ने मापदण्डको विषयमा जानकारी गराएको थियो ।

बोर्डले बनाएको कार्यविधिमा एफपीओ जारी गर्न आवेदन दिंदा नै विभिन्न ४ वटा पक्षलाई प्राथमिकता दिनुपर्ने मापदण्ड तोकिएको छ । जसअनुसार पूँजीकृत भएको आम्दानी, प्रति शेयर खुद सम्पत्तिको मूल्य, १८० दिनको औसत बजार मूल्य, भविष्यमा प्राप्त हुने नगद प्रवाहको बर्तमान मूल्यलाई आधार मानेर एफपीओको मूल्य निर्धारण गर्ने व्यवस्था गरेको छ । बोर्डकाअनुसार तोकिएका चार आधारहरुबाट उपलब्ध भएको मूल्यको सामान्य औसत गणना गरी निर्धारण गर्नुपर्नेछ । आवेदन नै दिंदा समेत स्ट्याण्डर्ड चार्टर्डले यी मापदण्ड पूरा गरेको छैन, तर पनि उसलाई कारबाही गर्नबाट नियामकहरु पछि हटेका छन् । 

यसरी बचाइयो


स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३ जनवरी, २०१७ मा एफपीओ निर्धारणको मापदण्ड पूरा नगरी धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लगायतका सम्बद्ध निकायमा आवेदन दिएको थियो । आवेदन दिंदा नै उसले एफपीओ निर्धारणको मोडालिटी अवज्ञा गरेको पाइएको छ । जथाभावी मूल्य तोकेर आवेदन दिइएको, त्यही विषय सुनियोजित रुपमा प्रचारप्रसार गराई बजारमा कारोबार र मूल्यमा खेल्ने काम भएको थियो । यही विषयमा धितोपत्र बोर्डमा समेत विभिन्न पक्षबाट नेपाल लाइफलाई झै सो बैंकलाई समेत कारबाही गर्नुपर्ने माग उठेको थियो । तर, बोर्ड तथा नेपाल स्टक एक्सचेञ्जका अधिकारीहरुले कारबाही गर्नुको साटो दोश्रो पत्र लेख्न लगाएर सो बैंकलाई बचाएका आरोप लागेको छ । यही योजना अन्तर्गत स्ट्याण्डर्ड चार्टर्ड बैंकले १६ जनवरीका दिन फेरि अर्को पत्र लेखेको थियो । दोश्रो पत्रमा अन्तिम स्वीकृतिका लागि संचालक समितिले तोकेको एफपीओ मूल्य नियामकमा पठाइएको भन्दै प्रष्टीकरण दिइएको छ । 

नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई समेत नेपाल लाइफको झै कारबाही गर्नुपर्ने आवाज उठेको स्वीकार गर्दै उसले दोश्रो पत्र लेखेर थप प्रष्ट पारेकोले कारबाहीको आवश्यकता नभएको दाबी गरे । ‘बैंकले बजारमा व्याप्त भ्रमलाई चिर्न दोश्रो पत्र पठाएपछि उसलाई कारबाही गर्नुपर्ने सान्दर्भिकता देखिएन ।’–उनले थपे ।