काठमाण्डौ । कारोबारले छलाङ मारेर पछिल्ला केही महिनाको रेकर्ड तोडिएको दिन नेप्से परिसूचकमा भने झिनो अंकको गिरावट भएको छ । 

कारोबारमा बिमा समूहले छलाङ मारे पनि कमाउनेमा चाहि माइक्रो फाइनान्स अगाडि देखिए । बिमा समूहले मात्रै सोमबार ३४ करोड बढीको कारोबार गर्यो । धेरै कमाउने ५ कम्पनीमा ४ स्थान माइक्रो फाइनान्सले ओगटे । 

सोमबार बजार परिसूचक ४.२४ अंकले घटेर १३६५.११ अंकमा झरे पनि ८२ करोडको हाराहारीमा सेयरको किनबेच भएको छ । परिसूचकमा सामान्य गिरावट आउँदैमा अत्तालिनुुपर्ने अवस्था छैन, कारण बजारलाई ८२ करोडको टर्नओभरले काँध थापिदिएको छ । 

सोमबार होटल र बिमा समूह बाहेक अन्य सबैको परिसूचक घटेको छ । बिमा समूह ३६.१२ अंकले बढेको छ भने होटल समूहमा ०.२ अंकको झिनो बढोत्तरी भएको छ । 

राताम्मे भएका समूहको सूचकमा ठूलो गिरावट भएको छैन । वाणिज्य बैंक समूह ४.३८ अंकले घटेको छ भने विकास बैंक, बित्त र जलविद्युत समूह क्रमशः  १०.७९, ५.५७ र ३.९८ अंकले घटेका छन् । अन्य समूहमा ६.०७ अंकको गिरावट आएको छ । 

सेन्सेटिभ इण्डेक्स ०.८८ अंकले घटेको छ भने फ्लोट इण्डेक्समा ०.३५ अंकको झिनो गिरावट आएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
सोमबार बजारमा १ सय ३६ कम्पनीका कुल १५ लाख ९ हजार ८ सय ७८ कित्ता सेयर ८१ करोड ९८ लाख बढीमा किनबेच भयो । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ४ करोड २० लाख बढीको कारोबार गर्यो । बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडले ३ करोड २१ लाख, शिखर इन्स्योरेन्सले ३ करोड १७ लाख, प्रभूू बैंकले २ करोड ७३ लाख, प्रभूू इन्स्योरेन्सले २ करोड ३७ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले २ करोड ३० लाखको कारोबार गरे । सोमबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा वाणिज्य बैंक ४ स्थानमा सीमित बन्न पुुग्यो । ५ स्थानमा बिमा कम्पनीको कब्जा रह्यो भने एक स्थानमा विकास बैंकको । 

धेरै कमाउने र गुमाउने कम्पनी
सोमबार चार कम्पनीका लगानीकर्ता मालामाल भए । आइएलएफसी माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । यस्तै, विजय लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रो फाइनान्स बित्तीय संस्था र मिसन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीले वृद्धि भयो । 

रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य ९.१९ प्रतिशतले बढ्यो भने गुराँस लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९ प्रतिशतको हाराहारीमा कमाए । 

सोमबार सबैभन्दा धेरै भागर्व विकास बैंकले गुमायो । यो कम्पनीको सेयर मूल्य ५.३८ प्रतिशतले घट्यो । सिभिल बैंक लिमीटेडका सेयरधनीले साढे ४ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाए ।