अनिलकुमार उपाध्याय(डिजिएम)–कृषि विकास बैंक लिमीटेड

२०७२ बैशाख १२ गते, शनिवार भए पनि हामी कृषि विकास बैंकको बजेट कार्यक्रमको पहिलो सत्रमा सहभागी भइरहेका थियौं । बागमति क्षेत्रको क्षेत्रीय कार्यालयको हलमा करिब अढाईसय स्टाफहरु भेला भएका थियौं । त्यहाँ यो क्षेत्रका ४८ जना प्रबन्धक, बैंकका उच्च तहका सबै अधिकारी र विभिन्न विभागका प्रतिनिधि समेत सोही हलमा थियौं । कार्यक्रम सुरु भइसकेको थियो, हामीले बोल्ने र आ–आफ्नो प्रस्तुती दिने काम पनि चलिरहेकै थियो । एक्कासी झोलुङ्गो हल्लाएजस्तै हल्लिन सुरु भयो । माथिका सिलिङ फेनहरु एकतमासले हल्लिरहेका देखिन्थे, बढी नै हल्लाएका कारण आफ्नै शरीरलाई सन्तुलनमा राख्न निकै कठीन भइरहेको थियो । भूकम्प आएपछि हलभित्र कोलाहल र चिच्याहट सुनियो । हलभित्रका सबै कर्मचारी तँछाडमछाड गर्दै ढोकाबाट ठेलमठेल गरी निस्किरहेका थिए । हामी मञ्चमा बस्नेहरु बिलखबन्दमा पर्यौ, हामी तत्काल निस्किनसक्ने अवस्थै रहेन । यहीकारण एकतमासले हल्लिरहेको भवनभित्रको सो हलको सुरक्षित कुना खोजिरहेका थियौं । यही क्रममा बीचमा एकपटक निस्किने प्रयास पनि गरियो, तर हल्लाईका कारण जिउ बढी नै असन्तुलनमा थियो । यहीँ किचिएर मरिने परियो भन्ने लागेको थियो । घरमै पुरिने परियो भन्ने लाग्यो । मृत्युको मुखबाट सकेसम्म बच्नलाई कुनै सुरक्षित कुनो त्यसबेला पनि खोजिरहेकै थियौं । हलमा हुनेहरु सबै अत्तालिएका थियौं, के गर्ने के नगर्ने, ठूलो बिलखबन्दमा धकेलिएका थियौं । 

एकछिन हल्लाएपछि भूकम्प केही कम भयो । सोही मौकामा हामी बाहिर निस्कियौं । बैंकका कर्मचारी र अन्य साथीहरु अगाडिपट्टिको सेफ्टी ट्याङ्की माथि जम्मा भएर भगवानको नाम जप्दै बसिरहनुभएको रहेछ । मैले त्यहाँ सेफ्टी ट्याङ्की रहेको र त्यो भूकम्पले हल्लाउँदा जुनसुकै बेला भत्किएर मानिस त्यहाँ पुरिनसक्ने भनी सचेत गराएपछि त्यहाँबाट पनि साथीभाईको भागदौड मच्चियो । त्यहाँबाट हामी गौशाला पोइन्टमा निस्कियौं । निस्किने क्रममा पनि घर खसेर पो किच्ला कि, पर्खाल पो खस्ला कि, पोल पो भाँचिएर किच्ने हो कि भन्ने त्रास मनहरुमा आइरहेकै थिए । बाहिर सडकमा आउँदा पो थाहा भयो, पर्खाल ढलेर मैले चढ्ने कार कामै नलाग्ने गरी कुच्चिइसकेको रहेछ । ज्यानको मूल्यको अगाडि कारको मूल्य नगण्य थियो । यही भएर होला कार कुच्चिएको भन्दा पनि आफ्नो ज्यान जोगिएकोमा म सन्तोषको सास फेरिरहेको थिएँ । 

बाहिर निस्किएपछि मलाई घरको चिन्ताले सतायो । मेरो घर कुपण्डोल हो । अढाई तले घरमा मेरी ७५ वर्षकी आमा, पत्नी र छोरीलाई केही भयो होला भन्ने छटपटाहट भयो । मैले फोन लगाउने कोशिश गरेँ, सकिँन, नेटवर्कले धोका दियो । त्यसपछि बल्लतल्ल घर छेउकै एक भाईसँग सम्पर्क भयो, उनसले मेरा परिवारका सदस्यहरु समेत सकुशल रहेका र सबैजना खुल्ला क्षेत्रमा सँगै रहेको जानकारी दिएपछि मन केही ढुक्क भयो । 

मेरो कार पर्खालले किचिसकेकोले अब गौशालाबाट कुपण्डोल कसरी पुग्ने भन्ने चिन्ता थियो । मलाई जतिसक्दो चाँडो घर पुगेर परिवार सम्हाल्नु थियो । यही क्रममा कार्यालयको एउटा जिप बल्लतल्ल व्यवस्थापन भयो र त्यहाँ केही साथीभाईलाई समेत राखेर घरतर्फ हुइँकिएँ । सो क्रममा विभिन्न जक्सनमा साथीहरुलाई छाड्दै हिँड्दा साह्रै हृदयविदारक दृश्यहरु देखियो । सडकभरि मानिसको भीड थियो । बूढापाका, बच्चाबच्ची चिच्याउँदै रोइरहेका देखिन्थे । कोही घाइते भएका थिए । कतै लाश च्यापिएको समेत देखिएको थियो । घर, भवन, बिजुलीका पोल जताततै लडेको देखिन्थ्यो । भीमसेन गोला हुँदै बानेश्वर पुग्दा फेरि गाडीभित्रै भूकम्पले जोडले हल्लायो, मानिसको भागदौड र रुवाबासी देखिन्थ्यो त्यहाँ । त्यहाँ पुगेपछि कसैले ‘बागमतिको पुल नै कोल्याप्स भयो रे’ भन्ने पनि सुनायो, धन्न त्यो खबर साँचो रहेनछ । बानेश्वरको अवस्था देख्दा त प्रलय नै हुन लागेछ क्यारे जस्तो भान भएको थियो । गाडीहरु रोकिएकै ठाउँमा हल्लिरहेका थिए, तार हल्लिरहेको थियो, पोल पनि हल्लिरहेको थियो । 

पत्नी र छोरीको साथमा अनिल उपाध्याय । 

बल्लतल्ल कुपण्डोल आइपुगेँ । घर अगाडिको छिमेकीको पर्खाल खसेको रहेछ । परिवार अरुसँगै खुल्ला क्षेत्रमा देख्दा मन शान्त भयो । आमाले पनि छोरा सकुशल आयो भन्ने देखेपछि सन्तोषको सास फेर्नुभएको महसुस गरेँ । संकटको बेला घरमै लगाएको कपडामा खालि खुट्टा मेरा परिवारका सदस्य खुल्ला चौरसम्म आइपुगेका रहेछन् । जाने बित्तिकै त्रासका कारण पत्नी र छोरी काँपिरहेको देखेँ । आँट गरेरै घरमा छिरी सबैको कपडा, जुत्ताचप्पल ल्याएँ, महत्वपूर्ण जिन्सी सामानको समेत सुरक्षाका लागि केही काम गरेँ । घरपरिवारका सदस्यलाई व्यवस्थित गरेपछि कार्यालय व्यवस्थापनतर्फ लागियो । कार्यालयका सूचनाहरुको सही व्यवस्थापन, ढुकुटी तथा अन्य सुरक्षणहरुको सही व्यवस्थापन यस्तो बेलामा चुनौतिको बिषय थियो, स्टाफहरुसँग समन्वय गरेर यी कुराहरुको समेत व्यवस्थापन गर्ने काम भयो । 

हल्लाइरहँदा यस्तो अनुभव
जुन कार्यालयको कार्यक्रम हलमा हामीलाई भूकम्पले निल्न खोजेको थियो, त्यो कार्यालयमा मैले ३ वर्षसम्म काम गरेको थिएँ, यही भएर पनि यसलाई एउटा संयोगको रुपमा लिनुपर्छ । मलाई त्यहाँ छँदा घर नै गल्र्यामगुर्लुम होला भन्ने ठूलो पीर लागेको थियो । हामी अब किचिएरै मर्ने भयौं भन्ने पनि मनले ठानिसकेको थियो । त्यो बेलामा म अब बाँच्छु कि बाँच्दिन होला भन्ने अनुभव हुँदो रहेछ भने त्यसपछि घरका प्रिय पात्रहरुको सम्झना र चिन्ताले बढी सताउँदो रहेछ । तर भूकम्पले हल्लाइरहँदा मनमा जे–जे कुरा खेले पनि हामी आफ्नै त्रासदीपूर्ण अवस्थालाई सम्हाल्न क्रियाशील भइरहेका थियौं । 

कुकुर र मानिस सँगै 
महाभूकम्पपछि पराकम्पनहरु आउने क्रम पनि जारी नै रहेकाले हामी करिब १२ दिनसम्म बाहिरै बस्यौं । मानिस र कुकुर एकैठाउँमा ज्यान जोगाउन भेला भएको त्यो दृश्य समेत गज्जबकै थियो, अहिले सम्झन्छु । हामी धेरै परिवारका मानिस छिमेकी भाईको ग्यारेजलाई सुरक्षित ठानेर त्यहाँ बसेका थियौं । सो बेलामा छिमेकीहरुमाझ आत्मीयता कायम भयो । भूकम्पअघि खासै चिनजान नभएका छिमेकीहरुसँग पनि आत्मीयता बढ्यो, एकै ठाउँमा खाना पकाएर सामूहिक मेस पनि चलाइयो । एकअर्काको ख्याल गर्ने भावनाको समेत विकास भयो । रातमा आलोपालो गरी कोही जाग्राम बस्ने र कोही सुत्ने क्रम चल्यो । बिपतको बेला चोरीको समेत डर हुने भएकोले त्यसतर्फ पनि हामीले आपसमा समन्वय गर्यौ । जसको ग्यारेजमा बसेका थियौं, त्यहाँको भाईले समेत सबैलाई खाना पकाएर आत्मीयता बढाउने काम गर्नुभयो । मलाई कुपण्डोल क्षेत्रको त्यो बेलाको प्रहरी परिचालन र सुरक्षा साच्चिकै प्रभावकारी महसुुस भयो । भूकम्पपीडित भएर अलपत्र बस्दा प्रहरीको ड्यूटीले राज्यको उपस्थिति महसुस गराएको थियो । 

सामूहिक रुपमा यसरी बस्दा ‘कम्यूनिटी बेस अप्रोच’ हुँदो रहेछ । सामूहिकताको भावना पैदा हुँदो रहेछ । छिमेकीसँग दोहोरो गफ हुँदैन थियो, गफ भइहाले पनि उसको निजी कुरासँग सरोकार हुँदैन थियो । तर भूकम्पले यी सारा खाडलहरु पुरिदियो त्यसबेला । दूरी समेत घटाइदियो । स्वार्थी काठमाण्डौलाई भूकम्पले पानी–पानी बनाइदियो र मानिसहरु आफसे आफ आत्मीयतामा जोडिए, पग्लिए । तर भूकम्पको बेला देखिएको त्यो आत्मीयता अहिले बिस्तारै मर्दै गएको र पहिलाको जस्तै अवस्था हुन लागेकोमा मलाई चिन्ता छ । ‘बिपत बाहेकको अवस्थामा काठमाण्डौका मानिसहरु आत्मीय भएर बस्न सक्दैनन् ?’–मेरो मनमा यस्तो प्रश्न आउँछ हिजोआज ।

बैकिङ क्षेत्रलाई पाठ
महाभूकम्पको महाबिपतले नेपालका बैंकहरुलाई धेरै पाठ सिकाएको छ । नेपालका बैंकहरु बढी नाफामुखी छन् र त्यो नाफा कमाउँदा सजिलोसँग कमाउनुपर्छ भन्ने उनीहरुको गलत सोंच छ । उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्छ भन्ने सोंच बैंकहरुमा छँदै छैन । ठूला–ठूला भवन, बिलासिताका सामान लगायतमा कर्जा प्रवाह गर्ने र बैंकहरुको लगानीलाई विविधकरण नगर्ने गलत प्रणालीको विकास भइरहेको छ । यसले जुनसुकै बेला बैंकहरुको लगानी डुबी समग्र व्यापार नै कोल्याप्स हुनसक्ने अवस्था देख्छु । हाम्रो कृषि विकास बैंक ग्रामीणमुखी बैंक भएकोले अन्य बैंकमा जस्तो अवस्था छैन । हामीले लगानीमा सकेसम्म विविधकरण समेत गरेका छौ । लगानीमा विविधिकरण नगर्ने बैंकहरुलाई भूकम्पले एउटा मात्र क्षेत्रमा बढी लगानी लगाउँदा जोखिम हुने रहेछ भन्ने पाठ सिकाइदिएको छ । व्यवसायिक कार्य भनेको पोर्टफोलियोको म्यानेजमेन्ट पनि हो । एउटालाई मात्र हाइ रिस्कमा कहिल्यै राख्नुहुन्न । राष्ट्रबैंकले पनि पोर्टफोलियोहरुको सिलिङ नै तोकेको छ । जोखिमलाई भाग लगाउनुपर्छ, ताकि एउटा खराब भए पनि अर्कोले त्यसको घाटा कभर गर्न सकोस् । धेरै बैंक बजारमुखी छन्, अब उत्पादनमुखी हुन आवश्यक छ । एकैखालको पोर्टफोलियोमा मात्र ध्यान दिइयो भने त्यो कोल्याप्स हुनसक्छ । प्राकृतिक विपत्तिले सबै चौपट बनाउन सक्छ । 

अबको पोर्टफोलियो उत्पादनमूलकमा केन्द्रीत हुनुपर्छ । एउटालाई प्राथमिकता दिएर अर्कोलाई नदिंदा त्यो पोर्टफोलियो म्यानेजमेन्ट भएन । लगानीको विविधकरणको पोर्टफोलियो हाई गर्नुपर्छ । अब बैंकहरुले आयातलाई प्रतिस्थापन गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्छ । महाभूकम्पले हामीलाई सिकाएको ठूलो पाठ नै यही हो । 

(सोमनाथ बास्तोलासँगको कुराकानीमा आधारित)