काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा बुल(वृद्धि) र बियर(गिरावट)बीच लुकामारी चलिरहेको छ । बजारमा बुल र बियरको लुकामारी स्वभाविक भए पनि एकदिनअघि ह्वात्तै बढ्ने र त्यसको भोलिपल्टै ह्वात्तै घट्ने प्रवृतिले कतिपय लगानीकर्ता हैरानीमा छन् । बजारको नाटकीय प्रवृतिका कारण कतिपय नवप्रवेशी लगानीकर्ता त लगानी गर्ने कि सेयर बेच्ने भन्ने द्विविधामा समेत देखिएका छन् । केही समयसम्म स्थिर भएको बजारमा पछिल्लो समय यसरी किन तीव्र अस्थिरता देखिएको होला ? 

विश्लेषक तथा अनुुभवी ब्रोकरहरुका अनुसार नेपाली लगानीकर्ताहरुको कमजोर सेन्टिमेन्ट्सका कारण बजारमा घामछायाँको खेल देखिएको हो । ‘केही सकारात्मक कुरा आउने बित्तिकै बजार बढिहाल्ने प्रवृति हाबी हुन्छ ।’ स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्यालले भने–‘सामान्य नकारात्मक कुरा आउने बित्तिकै अत्तालिएर सेयर बेचिहाल्ने र यसको प्रभाव बजारमा पर्ने देखिन्छ ।’ सकारात्मक कुुरा आउनेबित्तिकै हौसिएर सेयर खरीदको चाप बढाउने र नकारात्मक कुरा आएपछि अत्तालिएर बेचिहाल्ने प्रवृति सेयरमा सुरक्षित लगानीका लागि खतरापूर्ण हुने उनको सुुझाव छ । ‘बजार वा कम्पनी विशेषको राम्रो अध्ययन गरेर लगानी गर्ने लगानीकर्ता हामीमा अझै निकै कम छन् भन्ने उदाहरण पनि हो हिजो र आजको बजारको घटबढ ।’–पौड्यालले थपे ।

बजारको तीव्र उतारचढावका कारण कतिपय नियमित कारोबारीहरुले बठ्याई गर्दा समेत स्थिरता आउन सकेको छैन । सेयर खरीद गरेर केही दिनमै नाफा भए बिक्री गरिहाल्ने प्रवृतिले समेत सोमबार बजार घटाएको अर्का एक विश्लेषक बताउँछन् । ‘नियमित रुपमा बजारमा लगानी गर्नेहरु प्रोफिट बुक गर्न स्ट्याण्ड बाई बसिरहेका हुन्छन् ।’ उनले भने–‘अभ्यस्त कारोबारीहरुले जब बजार निरन्तर बढ्छ भन्ने आधार भेट्दैनन्, तब सेयर बिक्री गरिदिन्छन्, फलस्वरुप बढिरहेको बजारमा एकाएक गिरावट आइदिन्छ । सोमबार भएको त्यही हो ।’

उता, पौड्यालको अनुुभवमा चाहि नेपाली बजारका अधिकांश लगानीकर्ता अझै पनि कम्पनी विशेषमा ध्यान नै दिंदैनन् । ‘बजार बढ्न थाल्यो भने खराब कम्पनीको सेयर समेत अन्धाधुन्ध उठाउने घातक प्रवृति छ ।’ उनले थपे–‘जब बजार घट्न थाल्छ तब राम्रो कम्पनीको सेयर पनि अत्तालिएर न्यून मूल्यमा समेत बिक्री गर्न तयार हुन्छन् । यो प्रवृति पनि कम्ता घातक छैन ।’ 

उनको भनाईमा आइतबार राजनीतिक सहमतिको खबरको प्रभावले बजारमा उछाल आएको थियो भने सोमबार चाहि नाफा सुरक्षित गर्नेहरुको दौडधूपले बजारमा दोहोरो अंकको करेक्सन भएको हो । सोमबारको बजार घट्नसक्ने संकेत आइतबारकै कारोबारले समेत गरिसकेको उनको दाबी छ । ‘आइतबार सर्किट ब्रेक लागेको बजार बीचमा बढेर १७ सय माथि पुुगेको थियो, तर बन्द हुँदा निकै घट्न पुुग्यो ।’ उनले थपे–‘हिजो सेयर नबेच्नेहरुले पनि आइतबार बजार केही घटेपछि अझ तल झर्ने हो कि भन्ने त्रासमा परेर बिक्रीको हतारो देखाइदिए, यसले बिक्रीको चाप बढेर बजार घट्यो ।’ 

बजार घट्न थालेपछि थप लगानी गर्नेहरु समेत ‘पर्ख र हेर’को रणनीतिमा बस्छन्, सोमबार धेरै लगानीकर्ता यही रणनीतिमा रहेका पौड्यालको बुुझाई छ ।