काठमाण्डौ । पछिल्लो समय नेपालमा भारतीय प्रभाव कम हुँदै गएको छ। चिनियाँ प्रभुत्व नेपाली अर्थतन्त्रमा हावी हुँदै गर्दा भारतीय प्रभावमा कमी हुँदै गएको हो। नेपालमा चिनियाँ लगानी बढ्दै जाँदा भारतीय सञ्चारमाध्यमहरूले नेपालमा भारतीय प्रभाव घट्दै गएको विश्लेषण गर्न थालेका छन्। 

नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि दुईपटक नेपाल भ्रमण गरेर आफ्नो प्रभावलाई देखाउन खोजे पनि भारतको प्रभाव कम हुँदै गएको छ। नेपालमा संविधान जारी भएसँगै भारतीय नाकाबन्दीका कारण पनि भारत विरोधी आवाज हावी हुँदै गयो। 

यसका कारण पनि चिनियाँ लगानी नेपालमा आकर्षित हुन थालेको हो। १० वर्षअगाडिको चीन र भारतको स्थान परिवर्तन भएको छ। हिजो १० वर्षअगाडि जुन स्थानमा चीन थियो, त्यही स्थानमा भारत पुगेको छ। चीन हिजो जुन स्थानमा भारत थियो, त्यही स्थानभन्दा माथि उक्लिसकेको छ। 

आर्थिक वर्ष ०६४/०६५ मा नेपालमा ४ अर्ब ५५ करोड लगानी गरेको भारत चालू आर्थिक वर्षमा ४६ करोडमै सीमित भएको छ। यता आर्थिक वर्ष २०६४/०६५ मा नेपालमा ४४ करोड मात्रै लगानी गरेको चीनले चालू आर्थिक वर्षसम्म लगानीलाई बढाएर ४ अर्ब ५३ करोड रुपैयाँ पु¥याएको छ। 

नेपालमा भारतको लगानी कम भएर आर्थिक गतिविधि कम भए पनि भारतको सुरक्षा, राजनीतिक प्रभाव भने कायम रहने सांसद तथा नेपाल भारत प्रबुद्ध समूहका सदस्यसमेत रहेका डा. राजन भट्टराई बताउँछन्। 

‘पछिल्लो समय भारतीय लगानीमा कम हुँदै गयो भन्दैमा भारतीय प्रभाव नै कम भयो भन्न मिल्दैन,’ उनले भने, ‘नेपालको राजनीतिमा भारतीय प्रभाव अझै पनि रहन सक्छन्, भारतका लगानीकर्ताहरूले लगानीका लागि उपयुक्त नठान्दा पनि लगानी कम भएको हुन सक्छ।’ 

डा. भट्टराईका अनुसार दिल्लीले अझै पनि नेपालको राजनीतिलाई नजिकबाट नियालिरहेको छ। नेपालमा हुने आर्थिक लगानीले मात्र नेपाली राजनीतिमा भारतीय प्रभावलाई हेर्न नसकिने उनको भनाइ छ। यद्यपि, भारतीय लगानी कम हुँदै गर्दा नेपालको आर्थिक क्षेत्रमा भारतीय उपस्थिति भने ओरालो लागेको देखिन्छ। 

पछिल्लो समयका भारतीय गतिविधिले पनि चीनले भूमिका पाएको जनमोर्चाका अध्यक्ष साध्यबहादुर भण्डारीको बुझाइ छ। ‘भारतबाट आर्थिक लगानीसँगै सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने नीतिका कारण नेपालीमा चिनियाँ लगानीप्रति आकर्षण बढेको हो,’ उनले भने, ‘नेपालमा मात्र होइन, भारतको आर्थिक प्रभुत्व अब पूरै दक्षिणपूर्वी एसियामा समेत कम भएको छ।’ 

यसबीचमा दक्षिण एसियाका श्रीलंका, पाकिस्तान र बंगलादेशलगायतका देशमा चीनले आफ्नो लगानी विस्तार गरी भारतीय लगानीलाई विस्थापित जस्तै बनाइसकेको छ। यही रणनीतिअनुरूप चीन अगाडि बढिरहेको भण्डारीले बताए। ‘भारतले लगानीसँगै सार्वभौमिकतामा पनि हस्तक्षेप गर्दै आएको छ, तर चीनले आर्थिक रूपमा बजारमा हस्तक्षेप गरे पनि सार्वभौमिकतामाथि हस्तक्षेप गर्दैन,’ उनले भने, ‘नेपालीमा पनि भारतले हस्तक्षेप गर्छ, चीनले गर्दैन भन्ने परेको छ। यो खबर आजको राजधानीमा छापिएको छ ।