काठमाण्डौ । बुधबार नेप्से परिसूचकमा झिनो सुधार भए पनि टर्नओभर(कुल कारोबार)मा भने पहिरो गएको छ । मंगलबार ४० करोडको हाराहारीमा सेयर किनबेच भएको बजारमा बुधबार नेप्से परिसूचक बढ्दा पनि कारोबार चाहि ३३ करोडको हाराहारीमा सीमित बन्न पुग्यो । नेप्से परिसूचकमा झिनो अंकको बढोत्तरी हुँदा पनि कारोबार रकम चाहि किन बढ्न नसकेको होला ? बजारको यो प्रवृतिले के संकेत गरिरहेको होला ? अथवा, बजारमा कारोबार रकम यसरी एकाएक तल झर्नुको कारण के होला ? लगानीअघि लगानीकर्ताले यी प्रश्नहरुको जवाफ खोज्न आवश्यक छ। 

बजार परिसूचक उकालो लागे पनि कारोबार रकमले साथ दिएन भने त्यस्तो बजार अझ डरलाग्दो गरी झर्नसक्छ, यस्तो बेलामा लगानीकर्ताले सेयर बिक्री र खरीद गर्दा विशेष ध्यान दिनुुपर्छ । अत्तालिएर सेयर बेच्ने र उक्साहटमा सेयर खरीद गर्ने गल्तीबाट बच्न यस्तो बेलामा विशेष सतर्क हुन आवश्यक छ । बजारमा केही लगानीकर्ताहरु परिसूचक जसरी पनि बढ्नुुपर्छ भन्ने लिंडेढिपीमा लागेका देखिन्छन्, यस्ता आशयका अभिव्यक्ति सामाजिक सञ्जालमा समेत देखिन्छ । तर बजारको नियम चाहि यस्तो हुन्न । बजार घट्छ पनि र बढ्छ पनि, यो बजारको प्राकृतिक गति हो । यही कुरालाई बुुझेर बढेको बेला हौसिने र घटेको बेला अत्तालिने प्रवृति त्याग्नु अत्यावश्यक हुन्छ। 

पछिल्लो समय बजार निकै अस्थिर बनिरहेको छ । बुधबारको कारोबारले परिसूचकसँगैै कारोबारमा पनि डरलाग्दो गिरावट आउने डर पैदा भएको छ । आखिर यी सबै के कारणले भइरहेको होला ? बजारमा यस्तो मन्दी किन व्याप्त भएको होला आउनुहोस् हेरौ केही कारण ः

कारोबारले साथ छाड्नुु
लामो समयदेखि निरन्तर बढेर उचाई लिएको बजार अहिले बियरिस ट्रेण्डमा छ । तर पछिल्लो समय एकैदिनको फरकमा बजारमा २० देखि ५० अंकसम्मको उतारचढाव देखियो । यसले बजारका लगानीकर्तामा झनै ठूलो अन्यौल सिर्जना गरेको छ । अघिल्लो हप्ता र त्यसअघिका केही हप्तामा पनि बजार सूचक घटे पनि टर्नओभरले साथ छाडेको थिएन । तर, यो हप्ता बजारलाई टर्नओभरले पनि साथ दिन छाडेको छ । परिसूचकसँगै टर्नओभर पनि उही गतिमा घट्नु भनेको भविष्यमा बजार अझै तल झर्छ भन्ने संकेत हो, त्यसकारण यस्तो बेलामा लगानीकर्ता सचेत बन्न आवश्यक छ । हिजोको अवस्थासँग तुलना गर्दा अहिले बजारको टर्न ओभर ५० प्रतिशत भन्दा बढीले घटिसकेको छ । यो हप्ताको सुरुवातमै पनि टर्नओभरले साथ नदिने संकेत देखिएको छ, यो क्रम निरन्तर रहे बजार अझै तल जान सक्छ । 

तरलता संकुुचनको प्रभाव
हिजोको दिनमा अर्थतन्त्रले सपोर्ट नगरे पनि बजार अनावश्यक ढंगले बढ्यो, बुम भयो । त्यसबेला लगानीयोग्य रकम बजारमा पर्याप्त थियो । लगानी गर्ने अन्य क्षेत्र प्यारालाइसिसजस्तो हुँदा धेरैले दोश्रो बजारमा लगानी खन्याए । बैंक तथा बित्तीय संस्थाहरुले पनि सो बेला सेयरकर्जालाई उच्च प्राथमिकता दिए । सस्तो र सहज रुपमा सेयर कर्जा पाइने भएपछि धेरैले यसमा लगानी गरे र बजार बुम भयो । तर अहिलेको अवस्था ठीक उल्टो छ । लगानीयोग्य रकमको संकुचनको समस्या सुरु भइसकेको छ । धेरै बैंकहरुले सेयर कर्जा नै दिन छाडेका छन् । एकातिर लगानीयोग्य रकम नहुनुु र अर्कोतर्फ कर्जा समेत सुलभ रुपमा नपाइने भएपछि लगानीकर्ताले पुरानो कर्जाको ब्याज तिर्नका लागि समेत सेयर बिक्री गरिरहेको अवस्था छ । यो अवस्थामा तत्काल ठूलो सुधारको अवस्था कतैबाट नदेखिएकोले आगामी दिनमा बजारमा अझै ठूलो पहिरो जानसक्छ । किनभने ब्याजदर हेरफेरको प्रभाव सधैं पूँजीबजारमा पर्छ । 

प्रमुख स्टकमै मन्दी
नेपालको दोश्रो बजार बंैक र बिमा केन्द्रीत छ । यी दुुई समूूहमा आउने उतारचढाव वा गडबडीले समग्र बजारमा प्रभाव पर्छ । अहिले त्यही भइरहेको छ । हिजोको दिनमा बिमा समितिले बिमा कम्पनीको चुक्तापूँजी बढाउने प्रस्ताव अर्थमन्त्रालयमा पेश गरेपछि त्यसैको आधारमा बिमा कम्पनीको सेयरमा भकाभक लगानी गर्नेहरु अहिले बिलखबन्दमा छन् । बिमाप्रति लगानीकर्ताको आकर्षणकै कारण पनि बजार १८ सय माथि पुुगेको थियो । तर, अब बिमा कम्पनीको चुक्तापूँजी बढाउने त्यो प्रस्ताव नै अलपत्र छ । यसले समेत यो समूूहप्रतिको आकर्षण घटेको छ । बरु घट्दो बजारमा थोरै घाटै खाएर पनि सेयर बिक्री गर्न बिमाका लगानीकर्ता पनि अग्रसर छन् । यसले समेत बजारलाई घटाइरहेको छ । 

अर्कोतर्फ राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत २ अर्ब पूँजी भएको बैंकलाई ८ अर्ब पूँजी पुर्याउन निर्देशन दियो । यसले बजारमा हकप्रद, बोनस सेयरको बाढी नै आयो । २ अर्ब पूँजी हुँदा २० प्रतिशत लाभांश दिने कुनै बैंकले ८ अर्ब पूँजी पुर्याएपछि २० प्रतिशत नै लाभांश दिन संभव छैन । चुक्तापूँजी बढ्नेबित्तिकै विजिनेश बढ्दैन, यसले आगामी दिनमा बैंक तथा बित्तीय संस्थाबाट पाउने बोनस अत्यन्त न्यून हुनेछ । यो कुरा बुुझेका कतिपय बाठा लगानीकर्ताले आफ्नो नामको सेयर बिक्री गरेर लगानीका अन्य विकल्पतर्फ खन्याउन थालेका छन् । यसले समेत बिक्रीको चाप बढाएर सूचक घटाउन मद्धत गरेको छ । 

यस्तै, हकप्रद र बोनस सेयरका लागि कम्पनीहरुले धमाधम वार्षिक साधारणसभा(एजीएम) गरिरहेका छन् । बुुक क्लोजसँगै विभिन्न कम्पनीहरुको मूल्य समायोजन हुँदा घटेर आउने भएकोले समेत बजारमा आकर्षण छैन । जस्तो मंगलबारसम्म एभरेष्ट बैंकको सेयरमा ठूलो आकर्षण थियो, तर जब बुधबार बिहान त्यसको मूल्य समायोजन भयो, लगानीकर्ताहरुको त्यसप्रतिको आकर्षण घट्यो । यहीकारण समेत बजारको चहलपहल सुुस्ताएको छ । राइट र बोनसको अथाहा बाढीले बजारमा माग भन्दा बढी सेयरको आपूर्ति भएको छ र यसले मूल्यमा ठूलो गिरावट ल्याएको छ । यसले समेत बजार अझै घटिरहेको छ । यो अवस्थामा तत्काल सुधार हुँदैन, बरु अझ धेरै युनिट सेयरहरु आउनेवाला छन्, यसले समेत बजार अझै घट्नसक्छ । 

मार्जिन कल
धितोमा राखेको सेयरको बजार मूल्य घट्दै गएमा वा ब्रोकरकहाँबाट मार्जिनमा खरीद गरिएको सेयरको मूल्य घट्दै गएमा लगानीकर्तालाई घाटा हुन्छ भने बैंक तथा ब्रोकरलाई दिएको ऋण डूूब्ने जोखिम बढ्दै जान्छ । त्यसैले यदि सेयरको मूल्य घट्दै गई कुल बजार मूल्यमा ऋणको रकम घटाएर बाँकी रहने रकमको प्रतिशत(लगानीकर्ताको वास्तविक मार्जिन प्रतिशत) तोकिएको प्रतिशतभन्दा तल गएमा बैंकमा सेयर धितो राखेर ऋण लिएकाहरुलाई बैंकले थप रकम जम्मा गर्न वा अन्य सेयर धितोको रुपमा थप्न आग्रह गर्छ । यस्तो आग्रहलई मार्जिन कल भनिन्छ । अहिले बजारमा धेरै भन्दा धेरै लगानीकर्ताको मार्जिन कलको अवस्था आएकै कारण सेयरको आपूर्ति बढी बजार थप घटेको हो । यो अवस्था अझै रहनेछ र यसले बजारलाई थप घट्न मद्धत पुर्याउनेछ । त्यसो त बजार बढ्ने आशामा सेयर होल्ड गरेर बस्नेहरु पनि पछिल्लो समय आत्तिएका छन्, यसले समेत बजारमा बिक्रीको चाप बढाएको छ । 

हकप्रदका लागि पैसाको जोहो
अर्को कारण भनेको उच्च प्रतिशतमा जारी गर्न थालिएको हकप्रद पनि हो । बैंक तथा बित्तीय संस्थाहरुले चुक्तापूँजी ४ गुणाले बढाउनुपर्ने अवस्थामा ठूलो परिमाणमा हकप्रद सेयर जारी गरिरहेका छन् । यसले लगानीकर्तालाई भएको सेयर पनि बिक्री गरेर हकप्रदमा लगानी गर्नुपर्ने अवस्था सिर्जना गरिदिएको छ । कारण यही बेला बैंकबाट कर्जा पाइन्न भने लगानीयोग्य रकमको समेत अभाव छ । यस्तो बेलामा लगानीकताले आफूले होल्ड गरेको दोश्रो कम्पनीको सेयर बिक्री गरेर राम्रो कम्पनीमा रहेको आफ्नो सेयरको हकप्रद भर्नुुपर्ने बाध्यता आइलागेको छ। यस्ता लगानीकर्ताका कारण समेत बिक्रीको चाप बढी बजार घट्न बल पुगिरहेको हो । 

आकर्षण एफपीओ र आइपीओमा
कतिपय लगानीकर्ताहरुले पछिल्लो समय विभिन्न कम्पनीको एफपीओ र आइपीओमा लगानी गरिरहेका छन् । जस्तो अहिले सिनर्जी पावरको आइपीओमा आवेदन खुलिरहेको छ भने सोमबारदेखि नेपाल एसबीआई बैंकको एफपीओमा समेत आवेदन खुलेको छ । बजारमा हटकेक मानिएको स्ट्याण्डर्ड चार्टर्ड बैंकले समेत एफपीओ ल्याउँदैछ । अन्य कम्पनीका आइपीओ पनि आउँदैछन् । बजारको चलनचल्तीको मूल्य भन्दा सस्तोमा एफपीओ खरीद गर्न पाइने भएका कारण समेत कतिपय लगानीकर्ताहरु पैसाको जोहो गर्त्तिर लागेका छन् । उनीहरुका लागि यसको एक मात्र विकल्प होल्ड गरेको सेयर बिक्री गर्नु नै रहेको छ । यसले समेत बिक्रीको चाप बढाएको छ । आइपीओमा समेत त्यस्तै आकर्षण छ । त्यसो त एफपीओ र आइपीओ जस्ता सार्वजनिक निश्कासनमा लगानी गर्नेमध्ये अधिकांश दोश्रो बजारका कारोबार वा लगानीकर्ता नै छन् । उनीहरुको ध्यान नै यतातर्फ मोडिएपछि र गोजीमा पैसा नहुँदा भएको सेयर बिक्री गरेर लगानीको जोहो गर्नुको अर्को विकल्प छैन । आइपीओको पाइपलाइनमा धेरै कम्पनी रहेका कारण आगामी दिनमा बजारलाई तल झार्न झनै दवाब पुुग्नेछ ।  

भारु नसाटिँदाको असर
दोश्रो बजारमा ठूलो स्केलमा लगानी गर्नेमध्ये केही लगानीकर्ता भारतीय मूलका नेपालीहरु पनि छन् । उनीहरुको प्राथमिकता सेयर बजार भन्दा पनि आफ्नो उद्योगधन्दा र कलकारखानाहरु पर्छन् । भारु ५ सय र १ हजारमा प्रतिबन्ध लागेपछि र उनीहरुसँग भएको भारु व्यवस्थापनको बिषय नटुंगिएको कारण उनीहरुलाई आफ्नो उद्योगधन्दा संचालन गर्न पैसाको अभाव भएको छ । साथमा भएको भारु नचल्ने र पैसाको जोहो गर्ने अन्य विकल्प नभएपछि उनीहरुले ठूलो स्केलमा सेयर बिक्री गरेर आवश्यक लगानी जम्मा गरिरहेका छन् । यसले समेत बजारलाई घट्न मद्धत पुगिरहेको छ । उनीहरुले नेपालमा सधैं आइसीको सर्टेज हुने भएका कारण ठूलो परिमाणमा त्यस्ता नोट राखेका थिए, तर रातारात नोटबन्दी भएपछि आफ्ना उद्योगधन्दा जोगाउनका लागि त्यस्ता लगानीकर्ताले सेयर बिक्री गरेर आएको पैसालाई त्यता प्रयोग गरिरहेका छन् । यसले पनि नजानिँदो पाराले बजारमा असर गरेको छ । 

बैंकमा पैसा राख्दा बढी फाइदा देखिइनुु
पछिल्लो समयत तरला संकुचनको समस्याकै कारण राष्टबैंकले तोकेको सीडी रेसियो मेन्टेन गर्नका लागि बैंक तथा बित्तीय संस्थाहरुले निक्षेपलाई आकर्षित गर्न ब्याजदर बढाइरहेका छन् । बैंकहरुमा जम्मा भएको कुल निक्षेपको ८० प्रतिशत भन्दा बढी कर्जा प्रवाह गर्न नपाइने नियामकको नीतिका कारण समेत जसरी भएपनि निक्षेप आकर्षित गर्ने होडमा बैंकहरु लाग्दा ब्याजदरले नयाँ नयाँ उचाई प्राप्त गरिरहेको छ । अहिले धेरै बैंकहरुले मुद्धती निक्षेपमा ११ प्रतिशतसम्म ब्याज दिन थालिसकेका छन् । जोखिमपूर्ण देखिएको सेयर बजारमा कतिपय कम्पनीले लगानीकर्तालाई १० प्रतिशत रिटर्न समेत दिन सकेका छैनन्, यस्तो अवस्थामा कतिपय लगानीकर्ताहरु मुद्धती निक्षेपमा पैसा राख्न लालायित भएका छन् । यसका लागि समेत घट्दो बजारमा सेयर बिक्री गरेर त्यहाँबाट आएको रकम ११ प्रतिशतमा मुद्धती बचतमा राख्दा बढी फाइदा देख्नेहरुका कारण समेत बजारमा बिक्रीको चाप परेको छ । ब्याजदरको यो वृद्धि पनि बजारमा गइरहेको पहिरोको एउटा मुख्य कारण हो ।