विराटनगर । सरकारले आगामी आर्थिक वर्षको बजेटमा किमाथांका–जोगवनी सडक र क्षेत्रीय विमानस्थल निर्माणका लागि विशेष बजेट विनियोजन गर्ने भएको छ ।

राष्टिय योजना आयोगनका उपाध्यक्ष डा. युवराज खतिवडाले मंगलबार विराटनगरमा पूर्वाञ्चलका उद्योगी व्यवसायीको भेटमा यो विषयमा जानकारी गराएका हुन् । उनले पूर्वाधारको विकासबिना आर्थिक विकासको सपना साकार हुन कठीन हुने भन्दै आगामी बजेटमा किमाथांका जोगवनी सडक तथा क्षेत्रीय विमानस्थल निर्माणमा विशेष बजेट विनियोजन गरिने प्रतिबद्धता जनाएका छन् । 

डा. खतिवडाले स्पष्ट भूमि नीति नआएसम्म देशमा औद्योगिक विकास असम्भव रहेको समेत बताएका थिए । 

मोरंग व्यापार संघले आयोजना गरेको स्वागत कार्यक्रममा आफ्नो मन्तव्य राख्दै संघका अध्यक्ष तथा सभासद पवनकुमार सारडाले पूर्वाञ्चलको निर्यात व्यापार प्रवद्र्धन गर्न विशेष आर्थिक क्षेत्रको स्थापना, एकीकृत भन्सार चेकपोष्टको अविलम्ब निर्माण, चक्रपथ निर्माण, बाटो घाटो तथा भौतिक पूर्वाधारको विकास, नियमित विद्युत आपूर्तिको व्यवस्था, क्षेत्रिय विमानस्थलको निर्माण, अन्तर्राष्ट्रिय स्तरको रंगशालाको निर्माण, प्रदर्शनी कक्षको निर्माण, जोगवनीमा अध्यागमनको कार्यालय स्थापना, कृषिको व्यवसायीकरण, स्वास्थ्य र शिक्षा क्षेत्रमा विशेष कार्यक्रम ल्याउनु पर्ने, जोगवनी–किमाथांका सडकको निर्माण, हुलाकी राजमार्गको निर्माण जस्ता योजनाहरुलाई योजना आयोगले आगामी बजेटमा प्राथमिकताको सूचिमा उल्लेख गर्नुपर्ने माग गरेका थिए । 

सो  कार्यक्रममा उद्योग संगठन मोरंगका अध्यक्ष शिवशंकर अग्रवाल, संघका सल्लाहकार अविनाश बोहरा, अर्थविद पिके झा, संघका पूर्व अध्यक्ष श्री ताराचन्द खेतान लगायतले योजना आयोगका उपाध्यक्षसमक्ष आफ्ना सुझावहरु पेश गरेका थिए ।