लिलाप्रकाश सिटौला, सीइओ-कृषि विकास बैंक लिमीटेड

बैशाख १२ गते बिहान करिब ९ बजेबाट म एउटा कार्यक्रममा सहभागी भइरहेको थिएँ । हाम्रो वार्षिक कार्ययोजनालाई फ्रेम दिने उद्देश्यले कृषि विकास बैंकका सम्पूर्ण उच्च तहका कर्मचारीहरु गौशालाको बैंकको हलमा जम्मा भएका थियौं । त्यो दिन हाम्रा केही कर्मचारीहरुलाई पदक र पुरस्कार वितरण गर्ने कार्यक्रम पनि थियो । त्यो कार्यक्रमलाई हामीले करिब–करिब सम्पादन गर्न लागिसकेका थियौं । पदक प्राप्त गर्ने कर्मचारीहरुलाई चिया र खाजाको व्यवस्था गरिएको थियो, चिया र खाजा खाएर हामी अर्को चरणमा बजेट तथा वार्षिक कार्ययोजनाको कार्यक्रम सुरु गर्न मञ्चमा मात्र के पुगेका थियौं भूकम्पले हल्लाउन सुरु गर्यो, एकतमासले हल्लाउन थाल्यो । 

हामी त्यो भवनको सबैभन्दा तल्लो तलामा थियौं । त्यहाँ म, हाम्रा डिजीएम, विभागीय प्रमुखहरु, बागमति क्षेत्रका मेनेजर सबै जम्मा भएका थियौं । हामीले त्यो दिन वार्षिक कार्यक्रमलाई छलफल गरेर टुंगोमा पुर्याउनुपर्ने थियो । 

एकाएक भवन हल्लिन थालेपछि सारा कर्मचारीको भागदौड मच्चियो । टेबल लडे, कुर्सी लडे, सबै बाहिर भाग्न थाले । केहीका हात काटिए, केहीका हात भाँचिए । हामी ४–५ जना चाहिं भित्र निहुरिएर बसिरह्यौं । त्यो भूकम्पको आवाज, त्यो काँपेको छत, अहो ! वास्तवमै डरलाग्दो थियो, अकल्पनीय क्षण थियो । भाग्य नै भन्नुपर्छ, त्यति साह्रो हल्लाउँदा पनि भवन लडेन, भाग्यले हामी बाँच्यौं । त्यसबेला मलाई भाग्ने सूर नै आएन । दिमाग शून्य–शून्य भयो । म त अवाक् भएर एकटकले छततर्फ हेरिरहेछु, सायद मलाई त्यसबेला त्यही छतले किच्ला र जीवन सकिएला भन्ने पनि लागेको थियो । 

तर केहीबेर बेस्सरी हल्लाएपछि भूकम्प केही कम भयो । हतार–हतार हलमा रहेका सीमित साथीहरु सुरक्षित ढंगले बाहिर निस्कियौं । बाहिर पुग्दा पो थाहा भयो, कोही साथीको हात फ्याक्चर भएको रहेछ । कोही साथी बेहोस भएका, कसैको मोटर वालले थिचेको दृश्य समेत देखियो । सबै साथीलाई सुरक्षित ढंगले आ–आफ्नो घर पठायौं । कार्यक्रम स्थगन गरियो ।

घर जाँदै गर्दा सबैतिर हाहाकार थियो । बाटोमा रुवाबासी थियो । चावहिलको चौकमा पुगेपछि भयङ्कर ढंगले गाडी उफ्रन थाल्यो, म चढेको गाडी फेरि काप्न र हल्लिन थाल्यो । त्यहाँ ५ मिनेट जति अडियौं । त्यसपछि भूकम्प केही कम भयो र अघि बढ्यौ । त्यसबेला हस्पिटलका बिरामीहरुलाई बाटो बाटोमा राखेर उपचार गरिरहेको, मान्छेको रुवाबासी र भागदौड भएको, एम्बूलेन्स र दमकल मात्र दौडिरहेका, धूँवा र धूलो उडेर कुहिरीमण्डल भएको अत्यासलाग्दा दृश्यहरु देखिएका थिए । 

मैले कार्यक्रम हलबाट हिँड्नुअघि नै एकजना स्टाफलाई मोटरसाइकलमा पठाएर चावहिल नजिकैको गोपीकृष्णनगरमा रहेको मेरो घरको हालचाल बुझेको थिएँ । ती स्टाफसँग बाटैमा भेट भयो, घर र घरका सबै परिवार सकुशल रहेका कुराले मन केही शान्त भयो । तै पनि घरमा कतिबेला पुगौ भन्ने लागिरहेको थियो । म अगाडि बढे, घर पुगँे, घरका सदस्य सकुशल बाहिर चौरमा बसेका रहेछन् । ढुक्क लाग्यो । त्यो दिन मात्र होइन, त्यसपछि करिब एकसातासम्म हाम्रो चौरको बास भयो । 

शून्य हुनसक्थ्यो बैंक !


बैशाख १२ गतेको महाभूकम्प साच्चिकै भयावह थियो । त्यति साह्रो र त्यति लामो समय हल्लाएको अहिलेसम्म मलाई अनुभव थिएन । बैंकका मुख्य जिम्मेवार करिब डेढसय कर्मचारी हलमा थियौं । यदि त्यो दिन भवन भत्किएर केही भएको भए कृषि विकास बैंक नै खालि हुनसक्थ्यो, तर भगवानले हात थामिदिए र यस्तो अनर्थ हुन पाएन । 

भूकम्पको मेरो अनुभव यो नै पहिलो होइन । ०४५ सालको भूकम्पमा म पटनाको एउटा होटलमा थिएँ, चौथो तलामा थिएँ, त्यसबेला पनि निकै हल्लाएको थियो । तर त्यसबेलाको कम्पन छोटो समयमै सकिएको थियो । यो पटकको भूकम्प चाहि निकै दह्रो र डरलाग्दो थियो । मलाई अहिले पनि आश्चर्य लाग्छ, यत्रो ठूलो भूकम्प आउँदा पनि कसरी यति मात्रै क्षति भयो ? अझ बढी क्षति हुनुपर्ने थियो भूकम्पको हल्लाई सम्झँदा, तर भाग्यवश त्यो अनर्थ भएन । मलाई त भगवानकै कृपाले सबै जोगियो, हामी बाँच्यौ भन्ने लाग्छ । 

के सम्झनुभयो ?


भूकम्पले हल्लाइरहँदा मेरो दिमागमा केही आएन, म शून्य–शून्य भएँ । अन्यत्रतर्फ मेरो ध्यान नै गएन । कति साह्रो हल्लायो, कतिबेला रोकिएला भन्ने मात्र लाग्यो । त्यहाँबाट भाग्नुपर्छ भन्ने पनि दिमागमा आएन । अन्यत्र कतै, कसैलाई सम्झिँन । हल्लाउन केही कम भएपछि चाहि साह्रै ठूलो क्षति भयो होला भन्ने अनुमान गरेको थिएँ । 

म सामान्यतया भाग्यमा विश्वास गर्ने मान्छे हुँ । यस्ता घटनामा खासै अनौठो मान्नुहुन्न भन्छु म । यस्ता विपदहरु आइरहन्छन्, चलिरहन्छ भन्ने लाग्छ । तर दोश्रोपटकको अर्थात बैशाख २९ गतेको भूकम्पले चाहिं मेरो मनमा साच्चिकै डर प्रवेश गरेको थियो । १२ गतेको भूकम्पपछि फेरि धर्ति नहल्लिएला, भूकम्प कम होला भन्ने लागेको थियो, तर २९ गते फेरि ठूलै भूकम्प आउँदा चाहि अब नरोकिने भयो, फेरि पनि आउने भयो, सबै बर्बाद हुने भयो भन्ने लागेको थियो । अवस्था पनि जोखिमपूर्ण नै थियो । भूकम्प र त्यसपछिका पराकम्पनहरुले दह्रो भनिएका भवन तथा संरचना पनि भित्रभित्रै थिलथिलो भइसकेका थिए । २९ गतेको जस्तो भूकम्प फेरि पनि दोहोरिँदा सबै क्षतविक्षत र ध्वस्त हुनसक्थ्यो । धन्न, त्यस्तो अनर्थ पनि भएन । 

मलाई अर्कोतर्फ घर भन्दा पनि कार्यालयको चिन्ता लाग्न थालेको थियो । यसरी निरन्तर भूकम्पले हल्लाइरह्यो भने कर्मचारीहरु डिप्रेस भएर कार्यालय नआउलान्, कर्मचारी नै नआएपछि बैकिङ व्यवसाय पनि ध्वस्त होला, डूब्ला भन्ने चिन्ताले सताएको थियो । कार्यालय नै नचल्ने हो कि भन्ने पनि पीर परेको थियो । २९ गतेको पराकम्पनमा कार्यालयमा आफ्नै च्याम्बरमा बसिरहेको बेला हल्लाएको थियो, मैले सो बेला कोट समेत नलगाई बाहिर निस्किदा कम्पनले हुत्याएर लडाएको थियो । साच्चिकै भयावह थिए ती विगतहरु । 

के–के क्षति भयो बैंकलाई ?

बैंकका कुनै पनि कर्मचारीले मानवीय क्षति व्यहोर्नुपरेन । तर धेरै कर्मचारीको घर ढले, अन्य भौतिक संरचना ध्वस्त भए । कर्मचारी धेरै संख्यामा घाइते समेत भए । केही साथीलाई बैंकको तर्फबाट राहात पनि दियौं । 

हाम्रो केन्द्रीय कार्यालय वरिपरिको सबै पर्खाल ढल्यो । भवनभित्रका पर्खालहरु पनि बिग्रिए । हाल पर्खालहरुको मर्मत तथा पुननिर्माणको काम करिब–करिब अन्तिम चरणमा आइपुगेको छ । भक्तपुरको बोडेमा रहेको तालिम केन्द्रको पर्खाल पूर्ण रुपमा ध्वस्त भयो । त्यो पनि पुननिर्माण हुन लागिसक्यो । त्यहाँको भवनको भित्री भागहरुमा पनि ठूलै क्षति पुग्यो, मर्मत काम समेत सकिन लागिसक्यो । 

भूकम्पले बैंकलाई के पाठ सिकायो ?


बैकिङ आफैंमा पनि जोखिमले भरिएको व्यवसाय हो । हाम्रा क्लाइन्टहरु नै हुन व्यवसायका स्रोत । हाम्रो सम्पूर्ण सम्पत्ति ऋणिलाई दिएको हुन्छ, अझै भनौ जनताले बचत गरेको रकम ऋणिलाई दिएको हुन्छ । ऋणिहरु मर्कामा परे भने स्वतः बैंक घाटामा जान्छ वा समस्यामा पर्छ । बैंकले लगानी गरेको पैसा उठ्दैन, त्यो नउठेपछि बैंकले आफ्नो सम्पत्ति सिर्जना गर्न सक्दैन । हाम्रा ग्राहक मानसिक रुपमा, भौतिक रुपमा कमजोर भए भने हाम्रो व्यवसाय पनि चल्न सक्दैन । तर जोखिमलाई कम गर्न बैकिङ सेक्टरले आफूसँग भएका उपकरणहरुलाई ठीक ढंगले समयमै प्रयोग गर्नुपर्ने रहेछ भन्ने पाठ सिकाएको छ । 

हाउजिङमा बढी ऋण प्रवाह गरेका बैंकहरुलाई भूकम्पले अझ बढी पाठ सिकाएको छ । बैंकहरुले आफ्नो लगानीलाई विविधिकरण गर्न नसक्दा यस्ता प्राकृतिक विपतको बेला समग्र व्यवसाय नै कोल्याप्स हुनसक्छ । लगानी एउटा शीर्षक वा क्षेत्रमा मात्र थुपार्नु हुँदैन, यो पाठ समेत सिकेका छौ हामीले । बैंक तथा सरकारी निकायका कमीकमजोरीहरु समेत छर्लङ्ग भएका छन् । बैंकले आफ्नो व्यवसायको हित प्रवद्र्धनका लागि जोखिमपूर्ण इन्स्ट्रूमेन्टहरुलाई बेलैमा प्रयोग गर्नुपर्ने रहेछ भन्ने अर्को मुख्य पाठ पनि सिकाएको छ । 

मैले अघि पनि भनेँ प्रोडक्टको पोर्टफोलियो सही ढंगले बढाउन सक्नुपर्ने रहेछ । एउटै क्षेत्रमा मात्र बढी लगानी गर्ने होइन कि, सबै क्षेत्रमा सानो–सानो पकेट बनाइयो भने, एउटा पकेट बिग्रियो भने पनि अर्को पकेटले कभर गर्न सक्ने रहेछ । 
यस्ता प्राकृतिक प्रकोप र विध्वंसबाट कम क्षति पुग्नसक्छ र केही न केही भए पनि बचाउन सकिन्छ भन्ने पाठ सिकाएको छ । बैंक र बित्तीय संस्थाहरु अर्थतन्त्रका खम्बाहरु पनि हुन्, यिनीहरुको स्वास्थ्य बिग्रिए समग्र अर्थतन्त्रमा असर पुग्ने रहेछ, यिनीहरु स्वस्थ नभई समग्र अर्थतन्त्र समृद्ध बन्न नसक्ने रहेछ । त्यसकारण व्यवसाय गर्ने निकायले यस्ता संस्थाको हेल्थको बिषयमा चासो र चिन्ता लिनुपर्ने रहेछ भन्ने कुराको समेत अनुभूत भएको छ । 

अर्थतन्त्रलाई के शिक्षा दियो ?
भूकम्पले धेरै पाठ सिकायो । यो कतिखेर आउँछ थाहा छैन । अनिश्चित छ । यसलाई टार्न सकिन्न । यसको तत्काल उपचार पनि छैन । सकेसम्म कम जोखिम कसरी हुन्छ भनेर बेलैमा पूर्वतयारी गर्नुपर्ने पाठ सिकाएको छ । खासगरी निर्माणमा हामीले अपनाउनुपर्ने सचेतनामा चुक्नुहुन्न । भूकम्प आफैंले समाप्त गर्ने होइन, मान्छेले बनाएका संरचनाले चाहि मान्छेलाई समाप्त गर्छ भन्ने पाठ सिक्नुपर्छ । वैज्ञानिक ढंगले नढल्ने संरचना बनाइन आवश्यक छ । यद्यपि पुराना प्राकृतिक सम्पदा भत्किए, बिग्रिए । विगतका पुस्तालाई  दोष दिने ठाउँ छैन, हामीले ठीक ढंगले मर्मत गर्न सकेनौ, त्यसकारण ती बिग्रिए । 

तर हिजोआज बनाएका संरचनामा हामीले अत्यन्त लापरबाही गर्यौं । हामीले राम्रो सामाग्री प्रयोग गर्न सकेनौ, अधिकांश नयाँ घरहरु पनि लडेका देखिए । राम्रोसँग बनेका पुराना घरहरु पनि लडेनन् । 

अब हामीले भावी पुस्तालाई पनि हेरेर संरचना निर्माण गर्नुपर्ने रहेछ । भवन तथा संरचना निर्माणको स्वीकृति दिने नियामक निकायहरुले समेत यस्ता कुरामा लापरबाही गर्नुहुन्न, गम्भीर बन्नुपर्छ । सरकारका सबै निकाय तथा पदाधिकारीले आफ्नो जिम्मेवारी ठीक ढंगले निर्वाह गर्नुपर्छ । यसो भयो भने फेरि कयौं पटक भूकम्प आउला, धर्ति हल्लाउला, तर यसले कम क्षति गराउँछ, मान्छेले आफैंले बनाएको संरचना कम्तीमा आफ्नै चिहान चाहिं बन्दैन ।