काठमाण्डौ । कृषि विकास बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

पुस १४ गते सम्पन्न बैंकको ६३८ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।

यो निर्णय नियामक नेपाल राष्टबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

कृषि विकास बैंकले अघिल्लो वर्ष आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गरेको थियो।

यो बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ४२ करोड २३ लाख खूद नाफा आर्जन गरेको छ । यसको चुक्तापूँजी ३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । गत कात्तिकमा निश्कासन गरिएको ५० प्रतिशत हकप्रदको व्यवस्थापनपछि चुक्तापूँजी ५ अर्ब ९ करोड पुुग्नेछ । त्यसपछि दिइने २० प्रतिशत बोनसले चुक्तापूँजी ७ अर्ब ८ करोड पुुग्ने बैंकले जनाएको छ ।