काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको साउन र भदौ महिनाको आर्थिक समीक्षा(इकोनोमिक रिभ्यू) सार्वजनिक गर्दै यो अवधिमा नेपालको बैकिङ क्षेत्र र पूँजीबजारमा अभूतपूर्व उत्साह र सुधार देखिएको बताएको छ । 

केन्द्रीय बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष बैकिङ गतिविधि बढेको र योसँगै पूँजीबजारमा समेत आमूल सुधार भई लगानीकर्ताको उत्साहजनक र अभूतपूर्व सहभागिता हुन थालेको निश्कर्ष निकालेको हो । 

पूँजीबजारलाई अर्थतन्त्रको ऐना भनिन्छ । राष्ट्रबैंकको यो निश्कर्षले देशको आगामी अर्थव्यवस्थामा आशाका किरणहरु देखा परेका भन्न सकिन्छ ।

समीक्षा अवधि(साउन र भदौ)मा बैंक तथा बित्तीय संस्थाहरुको निक्षेप १.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.९ प्रतिशतले मात्र वृद्धि भएको थियो । 

वाणिज्य बैंक तथा बित्त कम्पनीहरुको निक्षेप क्रमशः १.४ प्रतिशत र ०.६ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको निक्षेप भने ०.४ प्रतिशतले घटेको छ । अधिकांश  विकास बैंकहरु मर्जरका कारण अरुसँग मिल्ने वा गाभिने कारणले समेत ग्राहकहरुले सुरक्षित निक्षेपका लागि वाणिज्य बैंक नै रोजेका यो तथ्यांकले देखाउँछ । 

यो अवधिमा बैंक तथा बित्तीय संस्थाहरुबाट निजी  क्षेत्रतर्फ प्रवाहित कर्जा ३.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.९ प्रतिशतले मात्र बढेको थियो । यसको अर्थ निजी क्षेत्रको लगानीजन्य गतिविधि बढिरहेको देखिन्छ । 

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको ३.८ प्रतिशत, विकास बैंकहरुको २.२ प्रतिशत र बित्त कम्पनीहरुको १.७ प्रतिशतले बढेको छ । 

यो अवधिमा कृषिक्षेत्रतर्फको कर्जा ४.२ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.४ प्रतिशत,  निर्माण क्षेत्रतर्फको कर्जा ४.३ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा ३.९ प्रतिशत, सेवा उद्योगतर्फको कर्जा ३.६ प्रतिशत र यातायात, संचार तथा  सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ । 

बैंक तथा बित्तीय संस्थाहरुको कुल कर्जामध्ये अधिकांश घरजग्गामै रहेको देखिएको छ । लगानीमा रहेको कर्जामध्ये ६०.६ प्रतिशत घरजग्गाको धितोमा र १५.२ प्रतिशत कर्जा चालु सम्पत्तिको धितोमा प्रवाह भएको देखिएको छ । अघिल्लो वर्ष सोही अवधिमा घरजग्गाको धितोमा ५९.४ र चालु सम्पत्तिमा १२.९ प्रतिशत मात्र कर्जा प्रवाह भएको थियो ।

वाणिज्य बैंकहरुले उत्पादनशील क्षेत्रमा कुल कर्जाको २० प्रतिशत कर्जा प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था गरिए पनि दुई महिनाको अवधिमा २० प्रतिशतको लक्ष्य हासिल हुन सकेको छैन। यो अवधिमा वाणिज्य बैंकहरुले १६.६३ प्रतिशत कर्जा मात्र उत्पादनशील क्षेत्रमा लगाउन सकेका छन् । 

बिलाए ७७ बित्तीय संस्था
मर्जर तथा प्राप्ति(एक्वीजिसन) प्रक्रियामा सामेल हुने बैंक तथा बित्तीय संस्थाहरुको संख्या बढ्दै गएको देखिएको छ । २०७३ भदौ मसान्तसम्म कुल ११८ वटा बैंक तथा बित्तीय संस्थाहरु(घ वर्गकासहित) मर्जर वा प्राप्ति प्रक्रियामा सामेल भएका र यीमध्ये ७७ वटा संस्थाहरुको इजाजत खारेज हुन गई ४१ वटा संस्था कायम भएको राष्टबैंकको रिपोर्टमा उल्लेख छ । 

पूँजीबजारको वृद्धि उच्च
केन्द्रीय बैंकका अनुसार २०७३ साउनमा १७१७.५ विन्दू रहेको नेप्से सूचकांक भदौ मसान्तसम्म १८१५.२ विन्दू पुगेको छ । २०७२ भदौ मसान्तसम्म त्यस्तो सूचकांक ११९६.० विन्दूमा सीमित थियो । बैंक तथा बित्तीय संस्थाहरुको पूँजी वृद्धि गरिने नीति कार्यान्वयनका लागि अघि सारिएका योजनाबाट लगानीकर्ताहरु उत्साहित भएका, सेयर कारोबार प्रणालीमा सुधार गरिएका लगायतका कारणले सेयर बजार सूचकांक उच्चदरमा बढेको राष्ट्रबैंकको निश्कर्ष छ । 

राष्ट्रबैंकको  प्रथम द्वैमासिक आर्थिक समीक्षाको पूरा रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् ।