काठमाण्डौ । नेकपा एमालेभित्रको गुटबन्दी र चरम आरोप प्रत्यारोपको कुन अवस्थासम्म पुगेको छ भन्ने कुरा वरिष्ठ नेता माधव कुमार नेपालको एउटा अन्तर्वार्ताले देखाउँछ । नेपालले हिमालय टेलिभिजनको टक सो यक्ष प्रश्नमा नारायण पौडेललाई अन्तर्वार्ता दिंदै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘खराब आचरण भएकाहरुको गुरु’को संज्ञा दिएका छन् । 

उनले ओलीकै कारण पार्टीभित्र अनुशासनहीन, उदण्ड चरित्र र खराब आचरण भएकाहरुको बोलवाला हुन थालेको र निष्ठाको राजनीति गर्नेहरु छायाँमा परेका गम्भीर आरोप समेत लगाएका छन् ।  

उनले ओलीकै संरक्षणका कारण पार्टीभित्र दुई नम्बरी काम गर्ने, खराब आचरण भएका र सहिदकी श्रीमती ताक्नेहरुको रजाईँ चल्न थालेको तीखो टिप्पणी पनि गरे । ‘दुई नम्बरी काम गरेको छ, आचरण खराब छ । अर्काकी श्रीमती ताकेको छ । सहिदकी श्रीमती ताकेको छ।’ उनले अन्तर्वार्तामा भनेका छन् –‘बोलीमा मिठास छैन । उदण्डता मात्र छ, केही कुरामा बिनम्रता छैन । हेर्नुहोस् त फेसबुकमा के के लेख्छन उदण्डका जमातहरुले ! गुरुले जस्तो सिकाएका छन्, उस्तै चेलाहरु छन् । यसरी पनि पार्टी चल्छ ?’

उनले ओलीले आफ्ना कार्यकर्तालाई समेत उदण्डता सिकाएको आरोप लगाएका छन् । आफूजस्तै कटु वचन गर्न सिकाएको र उदण्ड हुन सिकाएका कारण पार्टीको संस्कार नै बिग्रिएको बताए । तर आफू नेतृत्वमा रहँदा र अहिले नेतृत्व गर्ने समूहका सदस्य तथा कार्यकर्तालाई खराब आचरण, कटु बोली कहिल्यै नसिकाएको पनि दाबी गरेका छन् । उनले आफूले कार्यकर्तालाई जहिल्यै पनि अरुलाई सम्मान गर्न सिकाएको र नम्र हुन भनेको दाबी समेत गरेका छन् । 

वरिष्ठ नेता नेपालले ओलीसँग निकट रहेकाहरु बलात्कारी र भ्रष्टाचारीको गाडी चढेर हिड्ने गरेका संगीन आरोप लगाउँदै भनेका छन्–‘पार्टी नेतृत्वले त्यस्ता खराबलाई नै नेतृत्व गरिरहेको छ । चौबीसै घण्टा जाँडरक्सीमा चुर्लुम्म हुनेहरुलाई पार्टीमा प्रोत्साहन गरिएको छ ।’ 

‘राजनीतिक व्यक्तिका रुपमा आफ्नो व्यवहार नगर्ने, अध्ययन नगर्ने, पदका निम्ति संगठनमा मरिहत्ते गर्ने, कामको निम्ति सिन्को नभाँच्ने, जिम्मेवारी पुरा नगर्ने, संगठनको आवरणमा अनुचित काम गर्ने, निजी कामका निम्ति संगठनलाई दुरुपयोग गर्ने, कमिटी प्रणाली अबलम्बन नगर्ने, बिहान ६ बज्न पाएको छैन, फोन गर्यो भने घ्याम्पो घाँटीमा चढाएको छ । चौबीसै घण्टा जाँड रक्सीमा डुब्नेलाई प्रोत्साहन दिइएको छ।’–उनले अन्तर्वार्तामा भनेका छन् । 

उनले केपी ओलीले पार्टीभित्रका विद्यार्थीहरुलाई समेत खराब काम सिकाएको आरोप लगाएका छन् । उनले बुद्धले कहिल्यै नपढेको पाँडे तर्क गर्दै विद्यार्थीलाई चोरी, ठेकेदारी, दुई नम्बरीलाई तर्साएर पैसा बटुल्न सिकाएको दाबी समेत गरेका छन् । 

नेता नेपालले चाकडी गर्ने, चाप्लुसी गर्ने, नेतृत्वको अन्ध प्रशंसा गर्ने, देवत्वीकरण गर्ने प्रवृत्ति कम्युनिष्ट प्रवृत्ति नभएको उल्लेख गरे । अन्तर्वार्ता हेर्नका लागि तलको भिडियो क्लिक गर्नुहोस् ।