काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशेष कारण देखाएर लैनचौरस्थित भारतीय दूतावासमा बुधबार अपरान्ह आयोजित भोज बहिस्कार गरेका छन् । 

भारतको हस्तक्षेपकारी नीतिप्रति प्रधानमन्त्री भएदेखि नै आक्रामक देखिएका उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूतावासले आयोजना गरेको विशेष स्वागत समारोह र दिवा भोजलाई विशेष कारण देखाएर बहिस्कार गरेका हुन् । 

दूतावासले मुखर्जीको सम्मानमा दूतावास परिसरभित्रै दिवाभोज आयोजना गरेको थियो ।

सो समारोहमा भोजका लागि भारतीय दूताबासले एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका सबै दलका शीर्ष नेताहरुलाई निमन्त्रणा पठाएको थियो । सो समारोहमा ओलीको अनुपस्थिति रहे पनि एमालेका अन्य नेताहरु उपाध्यक्षद्वय वामदेव गौतम र भीम रावल, उपमहासचिव विष्णु पौडेल लगायत भने सहभागी भएका स्रोतले बताएको छ । 

दूतावासमा आयोजित विशेष स्वागत समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनको विशेष उपस्थिति थियो । समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, विभिन्न राजनीतिक दलका नेता, उद्योगपति, व्यापारी, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिको लाइन लागेको थियो ।