काठमाण्डौ । नेपालमा रहेको एक मात्र क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालको एकाधिकार तोडिने भएको छ । एकमात्र क्रेडिट रेटिङ एजेन्सी हुँदाका कठिनाईहरुबाट वाक्क बनेका व्यवसायिक प्रतिष्ठान तथा कम्पनीहरुको हितलाई ध्यानमा राखेर नयाँ क्रेडिट रेटिङ एजेन्सी स्थापनाको प्रयास थालिएको हो । 

बुधबार भारतमा प्रख्यात केयर रेटिङसँग साझेदारी गरी क्रेडिट रेटिङ एजेन्सी स्थापनका लागि नेपालको विशाल ग्रुप र इमर्जिङ नेपालले सम्झौता गरेका छन् । 

केयर रेटिङ भारतको दोस्रो ठूलो क्रेडिट रेटिङ कम्पनी हो । यो कम्पनीमा त्यहाँको लाइफ इन्सुरेन्स कम्पनी अफ इण्डिया, फ्रान्कलिन टेम्प्लेटन इन्भेष्टमेन्ट फण्ड,  कनरा बैंक,  स्टेट बैंक अफ इण्डिया लगायतको लगानी छ । 

नेपालमा नयाँ रेटिङ एजेन्सी स्थापनाको सम्झौतापत्रमा विशाल ग्रुपका प्रबन्ध निर्देशक अशोककुमार अग्रवाल, केयर रेटिङका प्रमुख कार्यकारी अधिकृत राजेश मोकासी र इमर्जिङ नेपालका अध्यक्ष लालमणि जोशीले हस्ताक्षर गरे । 

सम्झौतापछि अब नेपालमा समेत इक्रा नेपालको विकल्पको रुपमा केयर रेटिङ(नेपाल) लिमीटेड नामको क्रेडिट रेटिङ एजेन्सी स्थापना हुनेछ । 

नयाँ क्रेडिट रेटिङ एजेन्सी स्थापनाका लागि केयर रेटिङसँग सम्झौता गर्ने दुवै संस्था विशाल ग्रुप र इमर्जिङ नेपाल बित्तीय क्षेत्रमा क्रियाशील संस्थाहरु हुन् । 

सम्झौता अनुसार २ करोड रुपैंयाको चुक्ता पूँजीमा केयर रेटिङ नेपाल लिमीटेड स्थापना हुनेछ । यो कम्पनी स्थापनाका लागि केही दिनमै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइने विशाल ग्रुपले जनाएको छ । 

यो संस्थामा केयर रेटिङको ५१.५ प्रतिशत विशाल ग्रुपको १९.५, इमर्जिङ नेपालको १०.५ प्रतिशत लगानी रहने छ । बाँकी सेयर नेपालका बैंक, इन्स्योरेन्स कम्पनी, वित्तीय संस्था तथा बिभिन्न कर्पोरेट कम्पनीहरुको रहनेछ । 

केयर रेटिङका प्रवन्ध निर्देशक मोक्षीले नयाँ कम्पनीले रेटिङ, ग्रेडिङ, अनुसन्धान, तालिम तथा सूचना प्रवाहको काममा क्रियाशील बन्ने उद्घोष गरे । उनले विश्व बजारमा प्रवेश गर्ने योजनाका क्रममा नेपालमा आफूहरुको उपस्थितिलाई एउटा फड्को भएको बताए । उनले नेपालको बजार बिस्तारमा समेत नयाँ एजेन्सी स्थापनाले सहयोग पुग्ने दाबी गरे । 

सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा विशाल ग्रुप र इमर्जिङ नेपालका अधिकारीहरुले पनि आफ्नो धारणा राखेका थिए ।