काठमाण्डौ । सरकार र मधेसकेन्द्रित दलबीच दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ ।

के भयो सहमति ?
-संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठका अनुसार शनिबारको वार्ता निर्णायक भएको छ । ‘अहिलेसम्मको राजनीतिक गतिरोध अन्त्य गर्न शनिबारको बालुवाटार वार्ता निर्णायक भएको छ,’ श्रेष्ठले भने, ‘संघीयता तथा सीमांकनजस्ता विषयमा अधिकारसम्पन्न आयोग गठन गर्ने र त्यसले प्रदेशको संख्या, सिमाना, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रको निश्चित समयमा अध्ययन गरी प्रतिवेदन दिने र यसकै आधारमा नेपाल सरकारले कार्यान्वयन गर्नेछ ।’ भाषा आयोगले सरकारी कामकाजका भाषा भनेर सिफारिस गरेका भाषालाई सरकारले संविधानको अनुसूचीमा समावेश गर्ने भएपछि सहमति जुटेको श्रेष्ठले बताए ।

-प्रदेशको सीमा हेरफेरका सन्दर्भमा संविधानको धारा २७४ मा संघीय संसद्ले नै विधेयक उत्पत्ति भइसकेपछि सम्बन्धित प्रदेशलाई ३० दिनभित्र परामर्शका लागि पठाउने र त्यो आइसकेपछि प्रदेशनले नै निर्णय गर्न सक्ने विषयमा सहमति भएको नेता श्रेष्ठले बताए ।

-कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले कुनै प्रदेशको सीमांकन परिवर्तन गर्नुप¥यो भने सम्बन्धित प्रदेशको सहमतिमा गर्ने विषयमा समझदारी भएको जानकारी दिए । नागरिकतासम्बन्धी विधेयक प्रस्ताव भएअनुसार जस्ताको तस्तै अघि बढ्ने भएको छ । सरकारले प्रस्ताव गरेको पाँचबुँदे संशोधनमा नागरिकताबारे ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा आफ्नो देशको नागरिकता त्याग्ने कारबाही चलाएपछि संघीय कानुनबमोजिम नेपालको वैवाहिक अंगीकृत नागरिकता लिन सक्नेछ’ भन्ने विषय उल्लेख छ । गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुखलाई इलेक्टोरल कलेजबाट हटाउने विषयमा सहमति भएको छ । यसअघि माथिल्लो सदनमा गाउँ र नगरका प्रमुखलाई पनि भोटिङको अधिकार थियो ।

सहमतिका विषय आइतबार नै अघि बढाइने
-सहमति भएका विषयलाई सरकारले मन्त्रिपरिषद्बाट आइतबार नै अघि बढाउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले बताए । ‘तीन बुँदामा सहमति भयो । सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयकमा परिमार्जन गरी त्यसलाई चाँडोभन्दा चाँडो पारित गर्ने, यसका निमित्त सरकारले आइतबार आवश्यक निर्णय गर्नेछ,’ मन्त्री लेखकले भने ।

-राजपाका नेता राजेन्द्र महतोले सहमति भएका विषय आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नगरे आन्दोलनका कार्यक्रम स्थगित नहुने बताए । ‘सहमति भएका विषयलाई सरकारले परिमार्जनसहित अगाडि बढायो भने मोर्चा र गठबन्धनको बैठक बसेर आइतबार नै आन्दोलनका कार्यक्रम स्थगित गर्छौँ,’ महतोले नयाँ पत्रिकासँग भने । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।