काठमाण्डौ । आगामी पुस २९ गते हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमीटेडको २३ औं वार्षिक साधारणसभा हुँदैछ । थापाथलीमा हुने साधारणसभाले केही विशेष प्रस्तावहरु पारित गर्ने संभावना छ।

साधारणसभामा आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट सेयरधनीलाई दिने भनी घोषणा गरिएको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ नगद लाभांशको प्रस्ताव पेश हुनेछ । यस्तै, यसअघि घोषणा गरिएको २२० प्रतिशत हकप्रदलाई बोनसपछि १६६ प्रतिशत बनाउने विशेष प्रस्ताव समेत पेश हुने कम्पनीले जनाएको छ । यसअघि असोज ७ गते बसेको कम्पनीको विशेष साधारणसभामा आफ्ना सेयरधनीलाई २२० प्रतिशत हकप्रद दिने प्रस्ताव पेश भएको थियो । 

यो कम्पनीले बुक क्लोजको मिति पुस १२ लाई तोकेको छ । यसको अर्थ यो मिति भन्दा ठीक अघिल्लो दिनसम्म हिमालयन जनरल इन्स्योरेन्सको सेयर खरीद गर्ने वा आफ्नो नाममा नामसारी गर्नेले मात्र बोनस सेयरका लागि आवेदन दिनसक्नेछ । वार्षिक साधारणसभाका लागि सेयरधनीको दर्ता किताब मिति पुस १३ देखि २९ सम्मलाई तोकिएको छ । 

हिमालयन जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ९७ लाख खूद नाफा आर्जन गरेको छ । यसको हाल चुक्तापूँजी ३२ करोड १० लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस र १६६ प्रतिशत हकप्रद वितरणपछि चुक्तापूँजी १ अर्ब २ करोड पुुग्ने बताइएको छ ।