काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइराला एकाएक गम्भीर रहेको खबरले अहिले उनका फ्यान र समग्र देशबासी चिन्तामा छन् । सामान्य बिरामी पनि नभएका सशांक एकाएक गम्भीर अवस्थामा कसरी पुगे ? धेरैको जिज्ञासालाई मेट्न अहिले मिडियाहरुमा उनले हिजो(मंगलबार) राति पिज्जा खाएका र त्यो सर्किएर फोक्सोमा गई इन्फेक्सन भएको कुराहरु बाहिर आएका छन् । तर यो बिषयमा स्पष्ट कुरा कसैले पनि भनेको छैन वा बाहिर ल्याइएको छैन । 

बुधबार दिउँसो कोइरालाको स्वास्थ्य स्थितिको बिषयमा जानकारी दिन ओम अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा चिकित्सक डा. लव जोशीले सशांक अस्पताल आउँदा सामान्य रहेका बताउनु र बुधबार बिहान चाहि सशांक एकाएक भेन्टिेलटरमै राख्नुपर्ने अवस्थामा पुगे भन्नु पछाडिको कारण तथा घटनाक्रम जनताले थाहा पाउन सकेका छैनन् ।

डा. जोशीको भनाईमा सशांक बान्ता नरोकिएर मंगलबार राति ८ बजेपछि अस्पताल पुगेका थिए । अस्पताल पुग्दा उनी ठीकै थिए, पेटमा केही समस्या थियो । तर बिहान एकाएक स्वास्थ्य अवस्था बिग्रिएको उनको दाबी छ । सो क्रममा अस्पतालले उनको छातिको एक्सरे गर्दा फोक्सोको बाया भागमा निमोनिया भेटिएको बताइएको छ । 

चिकित्सकका यस्ता भनाईका कारण धेरैले बुझ्न सकिरहेका छैनन् ः सशांकलाई निमोनिया क्रोनिक भएर अस्पताल भर्ना गरिएको हो कि पिज्जा खाँदा खाँदै सर्किएर चाहि अस्पताल भर्ना गरिएको हो ? रातभरि सारसुहाउँदा सशांक के कारणले बिहान एक्कासी अचेत अवस्थामा पुगे ? यो बिषयलाई पनि प्रष्ट पारिएको छैन । हुन त उपचारको दौडधूपमा रहेका कारण तनावमा रहेका चिकित्सकहरुले जनताले खोजेजस्तो जवाफ दिन नसकेका पनि हुन्छन्, तर जनताले चाहि सही जवाफ खोजिरहेका छन् । 

सशांक कोइरालाको स्वास्थ्यप्रति सिंगो देश चिन्तित र एकाएक बिग्रिएको उनको स्वास्थ्यको बिषयमा चकित हुनु पछाडिको कारण कोइराला परिवारमा आएको एकपछि अर्को आपत पनि एक हो । केही महिनाअघि बिरामी भएको हल्ला समेत नसुनिएका पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनको खबर एकाएक सुन्नु परेको थियो । उनको निधनको बिषय अझै पनि रहस्यको गर्भमै छ । भलै, उनको निधन पनि निमोनिया क्रोनिक भएर भएको हो भनिएको छ हालसम्म । उनको निधनको कारण तथा घटनाक्रमको बिषयमा त झन् उपचारमा संलग्न चिकित्सकहरुले झूठको खेती नै गरेका थिए । अघिल्लो दिनसम्म कार्यक्रममा जान तयार भएका सुशील कोइरालालाई जसरी एकाएक निमोनिया भयो र मृत्युको मुखमा परे भनियो, सशांक कोइरालाको स्वास्थ्यमा देखिएको अपत्यारिलो परिवर्तनले धेरैको मनमा उस्तै जिज्ञासाहरु जन्माइदिएको छ । 

सशांक कोइरालालाई स्तरीय उपचारका लागि एयर एम्बूलेन्सबाट भारत वा अन्य कुनै देश लैजाने तयारी गरिए पनि यो समाचार तयार पार्दासम्म त्यो पूरा हुन सकेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले एयर एम्बूलेन्सको तुरुन्तै व्यवस्था गर्न निर्देशन दिएको कुरा बाहिर आए पनि हालसम्म किन व्यवस्था हुन सकेन भन्ने कुरा कसैले भनेको छैन । 

के कारण हुनसक्ला ?
वीपीपुत्र सशांक नेपाली राजनीतिका एक आशलाग्दा पात्र हुन् । अझ नेपाली कांग्रेसमा कोइराला बिरासतलाई थाम्ने एक सक्षम पात्रको रुपमा महाधिवेशनले उनलाई महामन्त्रीको कुर्सीमा सम्मानजनक मतका साथ पुर्याइदियो । कोइराला परिवारभित्रको हानाहान, तानातानका बीच सशांक एकाएक भावी नेताको रुपमा उदाएपछि उनको रीस गर्नेहरु पनि थुप्रै छन् । 

उनका खराब आचरणहरुको बिषयमा समेत बेला बेला चर्चा हुने गर्छ । उनी मदिराका अम्मली हुन् । सधैं मदिरामा झुमिरहने बानीका कारण उनीबाट अरुले फाइदा उठाउनसक्ने चर्चा समेत पार्टी पंक्तिमा हुने गर्छ । उनको रक्सी मोहलाई बुझेका शेरबहादुर देउवा र अन्य नेताहरुले महाधिवेशन अवधिमा कम्तीमा एकहप्ता दिउँसोको समयमा रक्सी नखाइदिन उनलाई अनुरोध नै गरेका कुरा समेत त्यसबेला बाहिर आएको थियो । धेरै पियक्कड भएका कारण रक्सीको असरले समेत सशांकलाई एकाएक यो अवस्थामा पुर्याएको हुनसक्छ । 

अर्कोतर्फ, प्रचारमा ल्याउँदा पिज्जा खाने क्रममा सर्किएर त्यस्तो भयो भनिएको छ, तर पिज्जा कसले ल्याएको थियो, कहाँबाट ल्याइएको थियो भन्ने बिषय अझै प्रष्ट पारिएको छैन । 

एक आशलाग्दा नेता अचानक अचेत अवस्थामा पुग्दा धेरै सर्वसाधारणको मनमा यस्ता जिज्ञासाहरु उठ्नु स्वभाविक हो । यी जिज्ञासालाई चिकित्सक, कोइराला परिवारका सदस्य लगायतले बेलैमा समाधान गरेर बढ्दो चिन्तालाई कम गर्नु श्रेयस्कर हुन्छ । 

अवस्था जटिल, तर स्थिर
कोइरालाको स्वास्थ्य अवस्थामा सुधार हुन नसक्दा चिकित्सकहरु आत्तिएका छन् । उनको फोक्सो र शरीरका अधिकांश भागमा संक्रमण फैलिएको छ । बुधबार दिउँसो अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा चिकित्सक डा. लव जोशीले भने–‘अहिले उहाँको अवस्था निकै जटिल र स्थिर छ ।’

चिकित्सकहरुका अनुसार उनलाई फोक्सोको निमोनिया भएको र फोक्सोभन्दा बाहिर हावा जम्मा भएकाले चेस्टट्युब राखिएको छ । उनकोे उपचारमा पत्नी सुपात्रा कोइरालासहित डा.अर्जुन कार्की, डा.भगवान कोइराला, डा.युएन पाठक, डा.लव जोशी, डा.श्याम महर्जन, डा.सुवास आचार्य, डा.महेश भट्टराई, डा.रवीन्द्र श्रेष्ठ, डा.रावल पाठक, डा.पिके क्षेत्री, डा.हरिकिशोर श्रेष्ठसहित १५ बढी चिकित्सक संलग्न छन् ।

डा. श्रेष्ठका अनुसार यो समाचार तयार पत्रकार सम्मेलन हुँदाको समयसम्म मुटुको धड्कन प्रति मिनेट ८० छ र रक्तचाप १००÷५० छ । फोक्सोको चाल ९० प्रतिशत छ । उपचारमा संलग्न चिकित्सकले उनको गम्भीर अवस्थामा सुधार नभएसम्म यहीँ उपचार गराउन उचित हुने सुझाव दिएका छन् । र, उनकी पत्नी सुपात्रले समेत यही उपचार गर्ने मन देखाएकी छिन् ।