काठमाण्डौ । नेपाल टेलिकमले धादिङ्ग जिÞल्लाको उत्तरी भेगका बिकट स्थानहरु लापा र टिप्लिङ्गमा बिटिएस स्थापना गरी २०७४ बैशाख १३ गतेदेखि जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको छ ।

ती स्थानहरुमा यसअघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन ।  

लापामा स्थापित विटिएसबाट धार्खा, सेरटुङ्ग, बराङ्ग, झारलाङ्गका करिब तीनहजार घरधुरीका बासिन्दाहरुलाई मोवाइल फोनमार्फत अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सहज भएको छ । लापा  धादिङ्ग वेसीबाट ५५ किलोमिटर सडकमार्ग (धुनधुरेसम्म) र दुई दिनको पैदल मार्गको दुरीमा अवस्थित छ ।

त्यस्तैगरी टिप्लिङ्गमा स्थापित बिटिएसबाट टिप्लिङ्ग र सेरटुङ्गलगायत नजिकका गाउँका करिब दुई हजार घरधुरीका बासिन्दा लाभान्वित हुने भएका छन् । टिप्लिङ्ग धादिङ्ग बेसीबाट ५५ किलोमिटर सडक मार्ग(धुनधुरेसम्म) र तीन दिनको पैदल मार्गको दुरीमा रहेको छ ।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको कम्पनीले जनाएको छ ।

प्रतिफल कम आउने र  तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा बिस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।