काठमाण्डौ । तेल उत्पादक देशहरुको साझा संगठन ओपेकले ८ वर्षको लामो इतिहासमै पहिलोपटक कच्चा तेलको उत्पादन घटाउने बिषयमा सहमति निकालेको छ । 

अल्जेरियामा बसेको ओपेक देशहरुको गैरआधिकारिक बैठकमा प्रोडक्सन फ्रिजमाथि सहमति बनेको हो । 

पछिल्लो दुईवर्षदेखि ग्लोबल मार्केटमा ओभरसप्लाईका कारण क्रूडको मूल्यमा निकै ठूलो गिरावट आइरहेको थियो । यसअघि साउदी अरब र इरान प्रोडक्सन घटाउने बिषयमा सहमत भइरहेका थिएनन् । तर, अब भने सबै ओपेक देशहरु प्रोडक्सन घटाउने बिषयमा सहमत भएका अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । 
ओपेक देशबीच भएको सहमतिअनुसार अब दैनिक क्रूडको प्रोडक्सन ३.३४ करोड ब्यारेल घटी ३.२५ देखि ३.३ करोड ब्यारेलसम्म सीमित हुनेछ । ओपेक देशमध्ये सबैभन्दा धेरै क्रूड उत्पादन गर्दै आएको साउदी अरबले मात्र अब प्रत्येक दिन ३५ लाख ब्यारेल उत्पादन घटाउनेछ । मिडिया रिपोर्टका अनुसार आगामी ३० नोभेम्बरमा भियनामा हुने ओपेक देशबीचको आधिकारिक बैठकमा यो बिषयमा ठोस निर्णय लिइनेछ ।

यसैबीच, इरान, नाइजेरिया र लिबियालाई प्रोडक्सन कटौतिको निर्णयभन्दा बाहिर राखिएको छ । इरानबाट यही साल मात्र आर्थिक प्रतिबन्ध हटेको हो भने नाइजेरिया र लिबियाका धेरै तेल खानीहरुलाई आतंकवादीले ध्वस्त पारेका थिए । 

६ प्रतिशतको वृद्धि
क्रूड प्रोडक्सन फ्रिज गर्ने ओपेक देशको अनौपचारिक सहमतिको खबर सनसनी भएपछि बुधबार क्रूडको मूल्यमा ६ प्रतिशतको उछाल देखिएको छ । ब्रेन्ट क्रूड ४८.६९ डलर प्रति ब्यारेल र डब्ल्यूटिआई क्रूड ४७.०५ डलर प्रति ब्यारेलको उचाईमा पुगेको छ । 

बढ्ने भो महङ्गी !
क्रूड महङ्गो भएपछि त्यसको सोझो असर पेट्रोलियम पदार्थको मूल्यमा पर्छ । नेपालले आफूलाई आवश्यक पेट्रोलियम पदार्थ भारतबाट आयात गर्दै आएकोले मूल्य बढेर आउनेछ । क्रूडबाट बन्ने प्रोडक्ट जस्तै पेट्रोल, डिजेल र एलपीजी ग्याँससम्मको मूल्य पनि वृद्धि हुनेछ । क्रूडबाटै बन्ने अन्य प्रोडक्टहरु जस्तै पेन्ट्स(रंग), सेन्थेटिक, रबर, र पीभीसीको मूल्य पनि वृद्धि हुनेछ । क्रूडको मूल्य बढेपछि पेट्रोलियम पदार्थको पनि मूल्य बढी महंगी उच्च रहेको नेपालजस्तो देशको ढुवानी खर्च पनि वृद्धि हुनेछ । यसले दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढाउन मद्धत गर्नेछ । यसबाट समग्र महङ्गी बढ्नेछ ।