काठमाण्डौ । पाकिस्तानका सांसदहरुको फर्जी बैंक खातामा करोडौं रुपैयाँ आएको छ ।

पाकिस्तानी संसदका सभामुुख तथा प्रमुख प्रतिपक्षी दलका नेतासहित कयौ दलका शीर्ष नेताहरुले समेत भनेका छन् कि उनीहरुको नाममा खोलिएको नक्कली बैंक खातामा कसैले १० १० करोड रुपैयाँ जम्मा गरिदिएको छ । 

सांसदहरुको यो खुलासासँगै उनीहरुको नाममा खोलिएका नक्कली बैंक खाताहरुमा कसले र के प्रयोजनका लागि १० करोडको दरले रकम हाल्यो भन्ने बिषयमा उच्चस्तरीय छानबिन थालिएको मिडिया रिपोर्टमा उल्लेख छ । 

पाकिस्तानी संसद नेशनल असेम्ब्लीका स्पीकर अयाज सादिक, सिनेटका चेयरमेन रजा रब्बानी तथा प्रतिपक्षीका नेता सैयद खुर्सिद शाहले दाबी गर्दै भनेका छन् कि उनीहरुको नाममा कसैले नक्कली बैंक खाता खोलेको छ र त्यहाँबाट करोडौं रुपैयाँको कारोबार पनि भइरहेको पाइएको छ। 

समाचारपत्र डनका अनुसार सिनेटका नेता ऐतजाज अहसन, कश्मिरी समितिका प्रमुख मौलाना फजलुर रहमान तथा अन्य केही नेताहरुले पनि आफ्नो नाममा देशमा अरु कसैले नक्कली बैंक खाता संचालन गरिरहेको दाबी गरेका छन् । स्पीकरले यो बिषयमा तत्काल छानबिन अगाडि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले यो पनि भनेका छन् उनी स्वयम्को नाममा एक बाहेक अर्को खाता छैन, जसले संचालन गरिरहेको छ त्यो फर्जी हो । उनले त्यहाँका केन्द्रीय बैंकका गभर्नरलाई समेत यो बिषयमा अनुसन्धानका लागि सहयोग गर्न आग्रह गर्दै आफ्नो र केही नेता तथा सांसदको नाममा संचालित बैंक खाता फर्जी भएको प्रष्ट्याएका छन् ।