नयाँदिल्ली। अत्याधिक खराब मौसमका कारण भारतको दक्षिणपश्चिम क्षेत्रमा पर्ने अन्दामन र निकोबार टापुमा स्वदेशी तथा विदेशी गरी आठ सय जना पर्यटक अलपत्र परेका छन् । 
 
भारतीय नौसेनाले अन्दामन र निकोबार टापु गरी दुवै ठाउँमा चार वटा पानी जहाज पठाएको जनाएको छ ।  नौसेनाका प्रवक्ता डि.के. शर्माले पर्यटकहरू अलपत्र परेको ठाउँमा चार वटा पानी जहाज पठाएको भए पनि हेभलक टापुमा अत्यधिक खराब मौसमका कारण सो ठाउँमा पुग्न नसकेको जानकारी दिए । 
 
“आठ सयभन्दा बढी पर्यटक यातायातका साधन नपाएर अलपत्र परेका छन्, हामी उनीहरूलाई उद्धार गर्न तयारी अवस्थामा छौँ, त्यसका लागि सफा मौसमको प्रतिक्षा गरिरहेका छौँ,” उनले भने । 
 
प्रवक्ता शर्माले भने, “हाम्रो सबैभन्दा ठूलो चासो पर्यटकहरूलाई सुरक्षित तरिकाले उद्धार गर्नु हो ।”हेभलकको किनारा पर्यटकका लागि लोकप्रिय गन्तव्य मानिन्छ । हरेक नयाँ वर्षमा हजारौँ पर्यटकले हेभलकमा डिसेम्बरमा रमाइलो गर्ने गर्दछन् ।