काठमाण्डौ । विश्वकै ठूलोमध्येको एक सर्च इञ्जिन कम्पनी याहू अन्ततः बिक्री भएको छ । भेराइजन कम्युनिकेशन्सले करिब ५६ हजार करोड रुपैयाँमा याहूको मुख्य बिजिनेश खरीद सम्बन्धी सम्झौता गरेको सोमबार औपचारिक घोषणा गरेको हो । 

याहुले पछिल्लो केही वर्षदेखि फेसबुक र गुगलबाट निकै कडा टक्कर व्यहोरिरहेको थियो । यति मात्र होइन, फेसबुक र गुगल जस्ता कम्पनीका कारण याहुले निकै ठूलो घाटा समेत व्यहोर्दै आएको थियो । 

सम्बद्ध अधिकारीलाई उद्धृत एजेन्सीहरुले लेखे अनुसार भेराइजनले याहूको कोर इन्टरनेट व्यापार खरीद सम्झौता गरेको हो । यो डिलमा याहूको पेटेन्ट भने सामेल छैन । 

यो डिलमा रियलस्टेट सम्पत्तिलाई सामेल गराइएको छ । अधिकारीहरुका अनुसार इन्टिलेक्चुअल प्रोपर्टीलाई अलग ढंगले बिक्री गरिनेछ । याहुको मार्केट भ्यालु ३७४१ करोड डलर छ भने भेराइजनको मार्केट भ्यालू २३ हजार करोड डलर रहेको छ । 

डिल पूरा भएसँगै भेराइजनलाई याहुका दैनिक लाखौ प्रयोगकर्ता प्राप्त भएको छ । यसअलावा याहूको बढिरहेको मिडिया प्रोपर्टी पनि भेराइजनले प्राप्त गरेको छ ।