काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा एमालेका पूर्वमहासचिव माधवकुमार नेपाल भारतीय सेनाको प्रत्यक्ष संलग्नतामा २०४६ सालमा नै राजतन्त्र उन्मूलनका पक्षमा उभिएको दाबी पूर्वमन्त्री तथा एमाले केन्द्रीय सदस्य राधाकृष्ण मैनालीले गरेका छन् । 

राजधानीमा शनिबार लोकार्पण गरिएको मैनालीको पुस्तक ‘नलेखिएको इतिहास’ मा माधव नेपालको प्रयासलाई तत्कालीन माले महासचिव मदन भण्डारीले ठाडै अस्वीकार गर्दै कुनै पनि हालतमा विदेशी संलग्नतामा गणतन्त्र ल्याउन नहुने अडान लिएपछि वि श्राम पाएको उल्लेख छ ।

२०४६ सालको जनआन्दोलन उत्कर्षमा पुगेका बेला भारतले मुलुकमा राजतन्त्र समाप्तिका लागि सेना पठाउन प्रस्ताव राखेको नेता नेपालले तत्कालीन मालेको केन्द्रीय समितिको बैठकसमक्ष राखेको मैनालीको दाबी छ ।

‘अलकेमी पब्लिकेसन’ द्वारा प्रकाशित पुस्तक शनिबार पुराना पत्रकार भैरव रिसालले विमोचन गरे।

जनआन्दोलन निरन्तर चलिरहेका बखत पाटनको च्यासलमा मालेको केन्द्रीय समितिको बैठक बसेको थियो । त्यसबेला बैठकमा महासचिवले एजेन्डा राखेपछि केन्द्रीय सदस्यले थप एजेन्डाबारे आआफ्नो धारणा राख्ने चलन थियो । महासचिव मदन भण्डारीले एजेन्डा पेस गरेपछि माधवले सुरुमा नै प्रस्ताव राखे, ‘आन्दोलनलाई उचाइमा पुर्‍याउन छिमेकी भारतले यथेष्ट सहयोग गर्ने भनेको छ ।’

‘के सहयोग ? ‘, मदनले सोधे । ‘हतियारको सहयोग’, सगर्व माधवले भने । ‘हतियार चलाउन तालिम लिनुपर्‍यो । हामीसँग अनुभवी कार्यकर्ता छन् ? मदनले फेरि सोधे । ‘हतियार चलाउने मानिस पनि आउँछन्’, माधवले फरर्र उत्तर दिए ।

‘आन्दोलनलाई गणतन्त्रमा पुर्‍याउन स्वीकार्नुपर्ने व्याख्यासमेत सुनाए माधवले’, मैनालीले आफ्नो पुस्तकको १२३ पृष्ठमा ‘राजतन्त्र हटाउने माधवको प्रस्ताव’ शीर्षकमा उल्लेख गरेका छन् ।

सोही शीर्षकमा मैनाली अगाडि लेख्छन्, ‘मैले र सीपीले बोल्न समय मागेका थियौं । मदनले चुप लाग्न इशारा गरे । आफैं बोले । होइन विवेक (माधवको भूमिगत कालको नाम) कमरेड, यो कस्तो प्रस्ताव हो ? पार्टी केन्द्रीय कमिटीको बैठकमा विदेशी सेना भित्र्याउने प्रस्ताव ल्याउन मिल्छ ? भारतीय सेना त के चिनियाँ लालसेना आए पनि हामी स्वीकार्दैनौं ।

इतिहासको विकासक्रममा राजतन्त्र स्थापित भयो । आफ्नै क्रियाकलापका कारण समयक्रममा नेपाली जनताको हातबाट यसको प्राण जान्छ । तपाईंको यस्तो प्रस्ताव कम्युनिस्ट पार्टीप्रतिको ठूलो अपमान हो । राष्ट्रको स्वाभिमान लुट्ने चाल हो । त्यसैले यसलाई फिर्ता लिइहाल्नुस् । माधवको प्रस्ताव माइन्युट हुन पाएन नै, बोली नै फिर्ता गर्न लगाए मदनले ।’

माधवले भोलिपल्टको सोही बैठकमा त्यही प्रस्ताव फेरि दोहोर्‍याएको र ‘जिम्मेवार तहबाट’ सहयोग आउने भएको जिकिर गरेको मैनालीले पुस्तकमा उल्लेख गरेका छन् ।

‘त्यो सहयोग कसरी आउँछ’, मदनले सोधेका थिए । जबाफमा माधवले भारतीय सेनामा कार्यरत नेपालीलाई नै छुट्टी दिएर नेपाल पठाउने र उनीहरूले नै हतियार चलाउने जबाफ दिएको मैनालीले पुस्तकमा समेटेका छन् ।

विमोचान कर्यक्रममा पुस्तकका लेखक मैनालीले आफूले देखेको÷भोगेको अनुभवका आधारमा पुस्तक लेखेको जानकारी दिए ।

राजाले केही गर्छन् भन्ने विश्वास लागेर राजाको शासनकालमा आफू मन्त्री भएको तर आफूले पटकपटक यसलाई गल्ती स्वीकारेका छन् मैनालीले ।

उनले भने, ‘गल्ती भयो भनेर स्वीकार गरिसकेको छु । पटकपटक त्यो घाउमा घोच्ने काम किन हुन्छ ? ‘ मैनालीले आफूलाई अब कुनै पार्टी र नेताबाट केही पाउँछु भन्ने अपेक्षा नभएकाले पुस्तकमा आफूले तथ्यमा कुनै तलमाथि नगरेको दाबी पनि गरेका छन् ।

‘माधवले खण्डन’स्वीकार गर्नुपर्छ’
पुस्तक लोकार्पण कार्यक्रममा राजनीतिक विश्लेषक कृष्ण पोखरेलले मैनालीको पुस्तकमा समेटिएको ‘राजतन्त्र हटाउने माधवको प्रस्ताव’ मा उल्लिखित भारतीय सेना ल्याउने भन्ने अंशमा नेपालको आधिकारिक धारणा आउनुपर्ने बताए ।

‘माधव नेपालले यो प्रसंगको खण्डन गर्नुपर्छ वा स्वीकार गर्नुपर्छ’, पोखरेलले भने ।

२०४६ सालको जनआन्दोलन उत्कर्षमा पुगेका बेला भारतले मुलुकमा राजतन्त्र समाप्तिका लागि सेना पठाउन प्रस्ताव राखेको माधव नेपालले तत्कालीन मालेको केन्द्रीय समितिको बैठकसमक्ष राखेका थिए । यो खबर आजको अन्नपूर्णमा छ ।