काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा गरिमा विकास बैंकले कमालको प्रगति हासिल गरेको छ ।

अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा यो वर्ष खुद नाफा ६९.४९ प्रतिशतले वृद्धि गरेको हो ।

बैंकले शुक्रबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म १४  करोड ६६ लाख रुपैयाँ रहेको खुद नाफा बढेर यो वर्ष सोही अवधिमा २४ करोड ८५ लाखको उचाईमा पुगेको छ ।

बैंकले संचालन मुनाफामा समेत राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म २३ करोड ४ लाख रुपैयाँमा सीमित संचालन मुनाफा वृद्धि भई ३८ करोड ७६ लाखको उचाईमा पुगेको हो ।

यो बैंकले निक्षेप र कर्जातर्फ पनि राम्रो प्रगति हासिल गरेको छ । १३ अर्ब ३९ करोड निक्षेप संकलन गरी १२ अर्ब ९ करोड कर्जा परिचालन गरेको छ । गत वर्ष यो अवधिमा बैंकले ७ अर्ब ८४ करोड निक्षेप संकलन गरी ७ अर्ब १६ करोड कर्जा परिचालन गरेको थियो ।

व्यवसायमा वृद्धि भएका कारण खुद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति भएको छ । अघिल्लो वर्षसम्म ३१ करोडको हाराहारीमा रहेको खुद ब्याज आम्दानी बढेर यो वर्ष ५४ करोड ३७ लाख पुगेको हो ।

तर, यो अवधिमा बैंकको निस्क्रिय कर्जा अनुपात भने केही बढेको छ । अघिल्लो वर्ष यो अवधिमा ०.६२ प्रतिशत रहेको निस्क्रिय कर्जा अनुपात यो वर्ष बढेर ०.७४ प्रतिशत पुगेको हो ।

यो अवधिमा बैंकको वार्षिकीकृत प्रति सेयर आम्दानी २५ रुपैयाँ ५६ पैसा, प्रति सेयर नेटवर्थ १३६ रुपैयाँ १७ पैसा र मूल्य आम्दानी अनुपात १३.७३ गुणा कायम भएको छ ।